धरान/धरान उपमहानगरपालिकाकाले मेयर तारा सुब्बाले बिना स्वीकृती जग्गा प्लटिङ गर्न तथा कित्ताकाट गर्न रोक लगाउने निर्णय गरेका छन् ।यो निर्णय सँगै भु–माफियाको टाउको दुखाई सुरु भएको छ ।

मङगलबार मेयर तारा सुब्बाले धरान स्थित मालपोत कार्यालय तथा नापी कार्यालयका प्रमुखहरुसँग गरेको छलफलमा नेपाल सरकार मन्त्रीपरिषद्बाट पारित भएको ‘वस्ती बिकास,शहरी योजना,तथा भवन निर्माण सम्बन्धि आधारभुत निर्माण मापदण्ड –२०७२’ तथा धरान उपमहानगरपालीकाको भवन तथा योजना मापदण्ड २०५६(परिर्माजन २०७० ) र प्रथम नगर सभाबाट पारित भवन तथा योजना मापदण्ड २०७४ अनुसार असोज २५ गते देखि कडाईका साथ लागु गर्ने निर्णय भएको हो ।

यो निर्णय सँगै अहिले भईरहेका जग्गा प्लटिङ र कित्ता काट सम्बन्धि सम्पुर्ण कार्यहरु रोक्का हुने छन् । धरानका बिभिन्न स्थानमा स्वीकृती बिना जग्गा प्लटिङ तथा कित्ता काट गर्ने कार्य भई रहेको भन्दै सञ्चारमाध्यमहरुमा निरन्तर समाचार प्रकासन भएपछि मेयर तारा सुब्बाले अर्को ब्यबस्था नभए सम्मका लागि जग्गा प्लटिङ तथा कित्ता काट सम्बन्धि सम्पुर्ण कार्यहरु रोक्का गर्ने र सरकार तथा स्थानिय तहको कानुन अनुसारको ब्यबस्था गर्ने गराउने निर्णय गरेका हुन् ।

‘यस सम्बन्धमा मालपोत र नापी कार्यालयका प्रमुखहरुको पनि राय सुझाब लिने काम भएको छ,नेपालको बिद्यमान कानुन अनुसार सबै कुरा गर्ने गराउने भन्ने बिषयमा गम्भिर छलफल र निर्णय भएको छ’ धरान उपमहानगरपालीकाका मेयर तारा सुब्बाले भने ।उनले अब धरान उपमहानगरपालीकाले भु–उपयोग निती निर्माण गर्ने पनि जानकारी दिए ।

अहिले बिभिन्न कानुन बनाउने बिषयमा छलफलहरु भईरहेको भन्दै उनले नेपाल सरकारले जारी गरेको भु–उपयोग नितीलाई अहिले कार्यान्वयन गरेर जाने बताए ।

छलफलमा मालपोत कार्यालय धरानका प्रमुख भिमप्रसाद गौतम,नापी कार्यालयका प्रमुख धिरेन्द्रकुमार देब,धरान उपमहानगरपालीकाका कार्यकारी अधिकृत बिष्णुप्रसाद कोइराला,बरिष्ट प्रशासकिय अधिकृत खगेन्द्रप्रसाद खतिवडा,बरिष्ट इन्जिनियर सुरज श्रेष्ठको उपस्थिती रहेको थियो ।