धरान/धरानको विकासको मोडलको कुरा गर्नुपर्दा पूर्व मेयर ध्यानबहादुर राई कतै न कतैबाट जोडिने गरेका छन् । जनसहभागिताको उच्चतम् नमुना पनि उनैको पालाबाट सुरुवात भएको मानिन्छ ।   कुनै बेला धरानको विकासे मोडललाई तत्कालीन समयमा ५८ वटा नगरपालिकाहरुले ‘सिको’ गर्ने गर्दथे । धरान ती नगरपालिकाहरुको लागि अनुकरणीय र उदाहरणीय बनेका थिए । धरान त्यही मोडलमा अव पनि जानुपर्छ भन्ने भावना राख्ने पूर्व मेयरका धरानप्रति के सोच्छन् त ? भन्ने जिज्ञासामा ब्लाष्टकर्मीसँग उनले धरानको विकासप्रति धेरै दृष्टिकोणहरु पेश गर्ने प्रयत्न गरे । त्यही अनुरुप एघार दृष्टिकोण हालका नवनिर्वाचितहरु मेयर, उपमेयर तथा वडाध्यक्षदेखि सदस्यहरुले अनुकरण गर्दा फरक पर्दैन । किनकी धरानको विकासको यो गतीलाई प्रारम्भ गर्ने व्यक्तित्वको रुपमा उनैको नाम अहिले पनि आउने गर्दछ । राजनीति भन्दा पृथक रहेर उनले ब्लाष्टकर्मीसँग भनेका ११ दृष्टिकोण यस्ता छन् । वनजंगल, खनिज, वनस्पतीः स्थानीय तहलाई २१–२२ वटा अधिकारहरु आएका छन् । सरकार हुनुको कारणबाट यसको दायरा ठूलो भएको छ । हिजो राष्ट्रिय वन केन्द्रसँग जोडिन्थ्यो । सरकारी भनिएका जमिनहरु, वनहरु पनि हाम्रो क्षेत्राधिकार भित्र परेको छ । यहाँका खनिज, बनस्पती हाम्रो नर्पर्ने कुरै भएन । त्यसलाई भिजन बनाएर अघि बढ्नु पर्छ । अव मैले के गर्न सक्छु भन्ने सपना बनाउन जरुरी छ । यहाँको वनस्पती, खनिजहरुको बढीभन्दा बढी सदुपयोग गर्न सकिन्छ । हाम्रो समस्या के हो ? चुनौति के हो त्यसको पहिचान गर्नुपर्छ । वनसँग सम्बन्धित प्याकेज बनाएर अघि बढ्नु पर्छ । जहाँ पर्यटकहरु भित्रयाउन सकिन्छ । युवा परिचालनः रोजगारी सिर्जनाको लागि अहिले नै केही गर्न सकिदैन । तर, धरानबाट रोजगारमा जाने युवाहरु कुन देशमा कति छन् । त्यसको लेखाजोखा राख्न थाल्नुपर्छ । उनीहरुको समस्या के छ, के के चुनौतिबाट गुज्रिरहेका छन् । त्यो समस्याको समाधान स्थानीय सरकारले नै गर्न सक्ने गरीको संयन्त्र बनाउनुपर्छ । उनीहरुलाई लगानीको लागि प्रोत्साहन गर्नुपर्छ । उनीहरुबाट लगानी भित्रयाउन सकिन्छ कि सकिदैन, त्यो विषयमा विज्ञहरुसँगको छलफलमा योजना बनाउनुपर्छ । उनीहरुलाई समस्या पर्दा स्थानीय सरकारले नै सम्बोधन गर्ने वातावरण सिर्जना गरिनुपर्छ । विदेश जान चाहानेहरुलाई सस्तो तथा सुलभ व्याजदरमा स्थानीय सरकारले नै पठाउन सक्ने वातावरण सिर्जना गर्नुपर्छ । अझ त्यसका लागि कोष नै खडा गरिदिनुपर्छ । कलासंगीतः कला संगीतमा युवाहरुलाई धरानको ब्राण्ड बनाउन सकिन्छ । उनीहरुलाई धरानले नै एउटा प्लेटफर्म सिजर्ना गर्न सकिन्छ । राष्ट्रिय ख्याति कमाउने युवाहरुको लागि त्यसमा लगानी गरेर उसलाई धरानको लागि काम गर्ने अथवा यहाँको कलालाई देशविदेशसम्म पु¥याउने वातावरण सिर्जना गर्न सकिन्छ । खेलकुदः खेलकुदलाई पनि ब्राण्ड बनाउन सकिन्छ । यहीबाट राष्ट्रिय खेलाडी उत्पादन गर्न अव किन नथाल्ने । धरानबाटै कतिपय खेलको विकास भएको छ । त्यो गर्वको विषय हो । त्यसको उत्खनन् गरौं । त्यस्ता खेलाडीहरुको पहिचान गरी राष्ट्रिय अन्तर्राष्ट्रिय खेलाडीको रुपमा धरानको खेलाडी हो भन्ने बनाऔं । त्यो गर्न सकेमा धरानकै नाम रहन्छ । शिक्षाः मेरो पालामा ननफर्मल शिक्षाबाट फर्मल शिक्षामा लगेका थियौं । सायद अहिले त्यो गर्नुपर्दैन होला । अहिले सबैले शिक्षामा ध्यान दिन थालेका छन् । त्यसो हुँदा आधारभूत शिक्षा पार गरेका जो उच्च शिक्षाबाट बन्चित हुने अवस्थामा छन् उनीहरुलाई स्थानीय सरकारले नै लगानी गर्न सकिन्छ । त्यसका लागि केही संयन्त्र बनाउनु पर्छ । जसले धरानको लगानीमा अध्ययन गर्छ उसले स्थानीय सरकारलाई निश्चित अवधि तोकेर काम गर्नुपर्ने वातावरण सिर्जना गर्ने वा रिपेमेन्टको व्यवस्था गर्नुपर्छ । जसले गर्दा महंगिरहेको शिक्षामा न्युन स्तरका विद्यार्थीहरुले त्यो अवसर पाउँछन् । ऊ जुन देशमा जान्छ त्यो देशमा पनि धरानको प्रतिनिधित्वको नमुना बन्न सक्छ । स्वास्थ्यः अहिले पनि सामान्य रोगबाट मान्छेहरु मरिरहेका छन् । त्यसका लागि कम्तीमा यो लेवलसम्मका रोगलाई ‘इन्स्योर’ गर्ने खाल्को सयन्त्र बनाएर अघि बढ्नु पर्छ । सकिन्छ भने धरान उपमहानगरले नै अनिवार्य स्वास्थ्य वीमाको कोष खडा गर्न सक्छ । त्यस्तै सचेततादेखि लिएर स्वास्थ्यको बारेमा जानकारी दिन सकिन्छ । धरान त्यसको लागि उदाहरणीय बन्न सक्छ । हाम्रो उपस्थिति कहाँदेखि कसरी गर्न सकिन्छ भन्ने विषयमा बढीभन्दा बढी ध्यान दिन सक्नुपर्छ । पर्यटनः मेरो पालमा पूर्वको सुनसरीलाई सेन्टर बनाउने गरी हामीले के गर्न सकिन्छ भनेर पाइला अघि बढाउन खोजेका थियौं । धरानले यहाँको धार्मिक पर्यटन स्थल कति छन् । जैविक पर्यटन स्थल कति छन् । सामाजिक डाइभरसिटीको पर्यटन कति छन् त्यसको लेखाजोखा गर्नुपर्छ । र, यहाँबाट कुनै पनि स्थानसम्म जानको लागि त्यहाँको दुरी, कति समय लाग्ने, कसरी जाने भन्ने विषयमा जानकारी गराउने त्यस्ता खाल्का सूचनाका संयन्त्रहरु विकास गर्नुपर्छ । जस्तो, कञ्चनजंगा जाने दुरी, जल मनोरञ्जन गर्ने सम्भावनाहरु, भोटेकोशीको दुरी, यस्ता विषयहरुमा जानकारी दिने संयन्त्रको विकास गर्नुपर्छ । साइकल पर्यटनको सम्भावना उस्तै छ । त्यसलाई तत्काल कार्यान्वयनमा ल्याउनुपर्छ । यहाँको जातीय विविधतालाई पनि पर्यटनमा ढालेर त्यसबाट ‘इन्कम जेनेरेट’ गर्नुपर्छ । सुकुम्बासी व्यवस्थापनः हामीले भोट माग्दा के ग¥यौं । त्यसलाई भन्दा पनि उनीहरुको व्यवस्थापन कसरी गर्न सकिन्छ भन्ने तिर ध्यान दिनुपर्छ । धनीपूर्जा वितरण गर्छौं भनेर भोट मागेकै छौं भने पनि अव उनीहरुको बसोबासको अवस्था हेरेर उठाउनै पर्छ । बरु, बहुतले भवनहरु निर्माण गरेर एक ठाउँमा सुकुम्बासीहरु व्यवस्थापन गर्नुपर्छ । त्यसरी स्थानन्तरण गर्दा प्रसस्त जमिनहरु निस्कन सक्छ । त्यो पनि सरकारी सम्पती हुन्छ । अहिले भइरहेको स्थान अभावलाई पूर्ति गर्न सक्छ । बिपद्काे बेला चाहिने खाली स्थान त्याे बेला प्रयाप्त हुन सक्छ । कृषिः धरानमा जोडिएको पाँचकन्या र विष्णुपादुकाको केही क्षेत्रलाई कृषि पकेट क्षेत्रको रुपमा विकास गर्न सकिन्छ । त्यहाँका बासीलाई सहरी सुविधा दिएर र त्यहाँको उत्पादन हामीले खरिद गरेर पनि कृषिलाई थप व्यवस्थित गर्न सकिन्छ । अव घडेरी प्लटिङ नगरौं भनेर हुँदैन । अव सुरु भइसकेको छ । हिजो बाझोगरा पनि कृषि क्षेत्र नै थियो । अहिले त्यो रहेन । त्यसैले प्लटिङ रोक्नुपर्छ भन्ने तिर लाग्यो भने समय मात्रै खर्च हुन्छ । त्यसैले पाँचकन्यामा खेती भएको क्षेत्रमा घर बनाउन पाइदैन भनेर भन्न सकिन्छ । विष्णुपादुका केही एरियामा चाही कृषिको सम्भावना छ । बसपार्कः अहिलेको बसपार्क आफैमा प्रयाप्त हुन्छ जस्तो लाग्दैन । यो एरियामा यो वसपार्क हो । यो एरियामा जाने यो बसपार्क हो भनेर जवसम्म बनाउन सक्दैनौं तवसम्म धरान–८ मा बन्दै गरेको बसपार्कले पुग्दैन । रात्रीकालीनको लागि छुट्टै, विराटनगर, काकडभित्ता जाने छुट्टै, पश्चिम जाने छुट्टै, पहाडी रुटको लागि छुट्टै बसपार्कहरु बनाउनुपर्छ । सेक्टर सेक्टरको बसपार्क बनाउनुपर्छ । बसको लागि त जक्सन बनाउनुपर्छ । पार्किगको समस्या भयो भने या त भूमिगत पार्किङ बनाउ, या त तले सिस्टमको पार्किङ बनाऔं । र सडकहरु पनि वन वे गर्नुपर्छ । ल्याण्डफिलः ल्याण्डफिलमा हकमा हामी भाग्यमानी नै छौं । किनभने जंगल छ । कुहिने फोहोरलाई एक ठाउँमा र नहुकिनेलाई अर्को ठाउँमा गर्ने गरी ल्याण्डफिल बनाउनुपर्छ । अहिलेको जस्तो ल्याण्डफिल काम छैन् । जंगलमा लगेर फादिदिएका छौं हाम्रोचाही मैला हट्यो तिमी जे सुकै गर् भन्नु गलत हो । हामीले अपराध गरिरहेका छौं । त्यसलाई व्यवस्थित गर्नुपर्छ । एकपटक धरान, इटहरी, इनरुवा, विराटनगरले विरानटगरमा गर्ने कुरा चलाए । अरुले पैसा दियो भन्दैमा त्यतातिर हामी लाग्नु पर्छ भन्ने छैन् । त्यो तिनीहरुले गरुन् हामीले किन गर्ने । हामीले यही गर्नुपर्छ । त्यसको सम्भावना प्रसस्तै छ । उपत्यकामा हेर्नुस् ल्याण्डफिलको लागि कति झगडा छ । यहाँ त सम्भावनै सम्भावना छ । कुहिने फोहोरबाट मोहोर कमाउन सक्छौं ।