नामिबिया/ नामिबियाको शिक्षा मन्त्रालयले विद्यालयमा बढ्ने बालिकाका लागि बुधबारदेखि निःशुल्क ‘सैनिटरी प्याड’ बाड्न थालेको छ ।

रजस्वलाको बखतमा बालिकाहरू विद्यालयमा उपस्थित नहुने क्रम बढीरहेकाले त्यसलाई कम गर्नका लागि भन्दै यस्तो परियोजना शुरु गरिएको सरकारी अधिकारीहरूले बताएका छन् ।

अन्तर्राष्ट्रिय बालिका दिवसको अवसर पारेर शिक्षामन्त्री कत्रिना हन्स हिमार्वाले परियोजनाको शुभारम्भ गरेकाे थियो ।

शुभारम्भ कार्यक्रममा बोल्दै उनले न्यून आय भएका परिवारका झण्डै पाँच हजार बालिकालाई हरेक महिना यस परियोजनाबाट लाभ उठाउने बताएका छन्।

मन्त्री हिमार्वाले निःशुल्क प्याड उपलब्ध गराउँदा ३० देखि ५० प्रतिशत छात्रा विद्यालयमा आइरहने सम्भावना रहने एक अध्ययनले देखाएको पनि जानकारी दिए ।

शिक्षा मन्त्रालयको तथ्यांक अनुसार सन् २०११/०१२ मा २२ हजार बालबालिकाले विद्यालयस्तरको पढाई बीचैमा छाडेका थिए ।

उनीहरूमध्ये ठूलो संख्यामा ग्रामीण क्षेत्रका बालिका रहेका छन् । बालिकाहरूले विद्यालय छोड्नुको पछाडि विद्यालयदेखि घरसम्मको दूरी टाढा हुनु, बिरामी भइरहनु, गर्भवती हुनु र असक्त हुनुलगायत मुख्य कारण रहेका छन् ।