काठमाडौं/संसद सचिवालयले असोज २८ मा संसद विघटन गर्ने कुनै सहमति नभएको प्रष्ट पारेको छ । संसद सचिवालयका प्रवक्ता डा. भरत गौतमले संसद सचिवालय र राजनीतिक दलहरुबीच असोज २८ मै संसद विघटन गर्ने कुनै सहमति नभएको प्रष्ट पारेका हुन् ।

‘असोज २९ मा समानुपातिक सूची बुझाउने दिन भएकाले असोज २८ मै संसद विघटन गर्ने सहमति भएको भन्ने आएको छ, त्यस्तो कुनै सहमति भएको छैन’, प्रवक्ता गौतमले रातोपाटीलाई बताए , ‘कतिपयले सूची बुझाउने अघिल्लो दिनसम्म संसदको म्याद भनेकाले असोज २८ लाई नै टार्गेट बनाएर अनुकुल बोल्ने गरेको पनि पाइएको छ तर त्यस्तो होइन ।’

यद्यपी संविधानमा सुचि बुझाउने अघिल्लो दिन भनिएकाले केही कन्फ्युज भएको प्रवक्ता गौतमले बताए । उनले सामान्यतया त्यसरी बुझिएपनि प्रत्यक्षतर्फको सुचि बुझाउने दिन असोज ५ भएकाले असोज ४ सम्म संसदले काम गर्न पाउने बताए । निर्वाचन आयोगले प्रतिनिधि सभाको समानुपातिक सूची बुझाउने मिति असोज २९ गते र प्रत्यक्षतर्फको सूची बुझाउने मिति कार्तिक ५ गते तोकेको छ ।

संसद सचिवालयले निर्वाचनसँग सम्बन्धित विधेयकहरु असोज २७ मै पारित गर्नेगरी काम गरेको पनि जनाएको छ । ‘धेरै माननीयहरु जिल्ला जानुपर्ने भएकाले फास्ट ट्रयाकबाट विधेयकहरु पास गर्न खोजिएको मात्रै हो । ’

‘फास्ट ट्रयाकबाट विधेयक पास गरेको संसद विघटन गर्न होइन’ प्रवक्ता ढकालले बताए । संसद सचिवालयले विधेयक पास गर्ने ७२ घण्टाको समय निलम्बन गरेर २४ घण्टा बनाएको छ ।

संसदले निर्वाचनसँग सम्बन्धित केही विधेयक पारित गर्न बाँकी छ । जसमा राष्ट्रिय सभाका प्रदेश प्रमुखहरुको सेवासुबिधा, भाषा आयोग रहेका छन् । यी दुवै विधेयक असोज २७ गते शुक्रबार पारित हुनेछन् ।

अहिलेलाई आवश्यक भनिएका विधेयकहरु यो संसदले पारित गरेपछि बाँकी विधेयक आउने संसदले पारित गर्नेछ ।

राताेपाटी