काठमाडाैँ/नायक आर्यन सिग्देलको स्टारडम केही वर्ष अगाडिसम्म चमकदार थियो । जताततै आर्यनकै चर्चा हुन्थ्यो । महिनामा आर्यनका मात्र आधा दर्जन बढी फिल्म हलमा लाग्थे । कतिले राम्रै पैसा बटुल्थे भने कति फिल्म दर्शकको अनुहार समेत हेर्न नपाइ हलबाट उत्रिए । बलिउडस्टार आमिर खानले एक अन्तर्वार्तामा भनेका छन्, ‘यो स्टारडम भन्ने कुरा आफ्नो साथमा सधै रहँदैन । यो सबै एकदिन गुमाउनै छ । अनि डर र चिन्ता केका लागि ?’ अहिले आर्यनको तर्क पनि यस्तै छ ।

एक समय आर्यनको नाम सुन्न साथ सिनेमा हलहरुमा दर्शकको ओहिरो लाग्थ्यो । तर, त्यो भिड अहिले शुन्यतामा विलय हुँदै गएको छ । लगातार कमजोर कथावस्तुमा निर्माण भएका फिल्ममा प्रस्तुत भैरहनुले पनि आर्यनको स्टारडम जोगिन सकेन । अब आफ्नै ब्यानरका फिल्ममा मात्र काम गर्ने घोषणा गरेका आर्यन अभिनित नयाँ फिल्म 'रुद्रप्रिया' कात्तिक २ गतेबाट देशव्यापी प्रदर्शनमा आउँदैछ । यो फिल्ममा आर्यनको पनि लगानी रहेको छ । ८ वर्षसम्म स्क्रिन शेयर नगरेको आर्यन र रेखाको जोडीलाई यो फिल्ममा दर्शकले देख्न पाउँदैछन् । केही दिन अगाडि 'रूद्रप्रिया'काे विषयमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा आर्यनले एक प्रश्नको सामना गर्नु पर्‍यो । पत्रकारले सोधे-आफ्नो खस्किदै गएको स्टारडम जोगाउन रेखा थापासँग फिल्म गर्नुभएको हो ? आर्यनले उत्तर दिँदै भने, ‘कुनै चिज राम्रो हुनलाई समय परिस्थिति राम्रो हुनु पर्छ । त्यो समय परिस्थिति 'रुद्रप्रिया'ले जुराइदिएको छ । बाँकी कुरा जे भयो भोली जे हुन्छ त्यसले अर्थ राख्दैन । राम्रो कलाकार, राम्रो ब्यानर र राम्रो स्क्रिप्ट म कहाँ आयो अनि मैले फिल्म साइन गरेको हुँ । हिजो पनि मेरो मनमा केही थिएन अनि भोली पनि मेरो मनमा केही हुँदैन ।’ उनले अगाडि थप्दै भने, ‘मेरो करिअरमा जति हिट फिल्म भए त्यत्तिनै फ्लप फिल्म पनि छन् । मलाई कहिले पनि हिट वा फ्लप फिल्मले असर गर्दैन । म जतिसम्म बाँच्छु र ममा जहिलेसम्म फिल्मप्रतिको सौख बाँकी हुन्छ तबसम्म म राम्रो फिल्म गर्छु । मेरा फिल्मले हिट भएर बक्स अफिस कलेक्सन गरोस् वा नगरोस् त्यसले मलाई कुनै फरक पार्दैन । हलबाट मेरो फिल्म हेरेर फर्किएका दर्शकले राम्रो भनिदिए पुग्छ ।’ उनले कुराकानीको क्रममा 'रुद्रप्रिया'लाई दर्शकले रुचाउनेमा विश्वस्त रहेको बताए ।