ताप्लेजुङमा समय अगावै उत्पादन भएको बोतलको पानी (मिनलर वाटर) फेला, कम्पनीलाई कारवाहि गर्न झापा प्रशासनमा पत्रचार

रविन भट्टराई

ताप्लेजुङ/ ताप्लेजुङमा समय अगावै उत्पादन भएको बोतलको पानी फेला परेको छ । बजार अनुगमनका क्रममा एचएमएन फुड एण्ड बेभिरेज इन्डस्ट्रिज बिर्तामोड झापाद्वारा उत्पादित तृष्णा नाम गरेको पिउने पानीको उत्पादन मिति सन् २०१८ जनवरी उल्लेख भएको भेटिएको हो ।

यस्तो भेटिए पछि जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले उत्पादक कम्पनिलाई कानुनी कारवाहिको लागि जिल्ला प्रशासन कार्यालय झापालाई पानीको नमुना सहित पत्रचार गरेको छ ।

आपुर्ति मन्त्रालयका उपसचिव नोख बहादुर बस्यालको उपस्थितिमा जिल्ला प्रशासन कार्यालय ताप्लेजुङमा शुक्रबार बसेको बैठकमा प्रमुख जिल्ला अधिकारी मोहन जिसिले उत्पादन गर्ने कम्पनी झापामा रहेकोले झापा प्रशासनलाईनै कारवाहिकालागि पत्रचार गरीएको र अनुगमनका क्रममा फेला परेको पानीको नमुना समेत पठाईएको जानकारी दिए ।

पिउने पानीको बोतलमा उल्लेख गरिएको उत्पादन मिति आउनलाई तीन महिना अझै बाँकी नै रहेको अनुगमनका क्रममा पाइएपछि पानी नियन्त्रणमा लिएर प्रशासन कार्यालयले अनुसन्धान सुरु गरेको थियो ।

ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी मोहन जिसीले सन् २०१८ को जनवरी महिना आउन तीन महिना बढी समय बाँकी छँदै उक्त मितिमा उत्पादन भएको पानीका बोतल बिक्री वितरणमा आउनु ठूलो समस्याको रुपमा रहेको बताए ।

अखाद्य वस्तुको बिक्री बितरण नियन्त्रण गरी व्यवसायलाई मादण्ड अनुसार सञ्चालित गराउने उद्देश्यसहित ताप्लेजुङका बजार तथा पसलको नियमित अनुगमन भइरहँदा जिल्ला अनुगमन समितिले यस्तो फेला पारेपछि सबै पक्ष थप सचेत हुनुपर्ने जनाएको छ ।

अनुगमन समितिका संयोजक तथा सहायक प्रमुख जिल्ला अधिकारी भगिमान मादेनले म्याद गुज्रेका अन्य अखाद्य वस्तु नियन्त्रणमा लिएर नष्ट गरिएको र मिति नै फरक पर्ने गरी बजारमा आएको पानीका बोतल जफत गरी अनुसन्धान थालिएको जानकारी दिए ।

उत्पादन मिति सन् २०१८ जनवरी महिना उल्लेख गरिएको पानीको बोतलमा प्रयोग अवधि भने ६ महिनाको उल्लेख छ । सहायक प्रजिअ मादेनले दसैं अगाडिदेखि नियमित बजार अनुगमन गर्दै आएको र यस्तो त्रुटी भएको उपभोग्य वस्तु पहिलो पटक फेला परेको बताए ।

यसैबीच बजार अनुगमनका क्रममा म्याद गुज्रेका प्रशस्तै उपभोग्य सामग्री फेला परेको पनि मादेनले जानकारी दिए । सबैभन्दा बढी कोकाकोला र फेन्टा, स्प्राइट, फ्रुुटी जस्ता पेय पदार्थहरु म्याद गुज्रेको पाइएको उहाँले बताउनुभयो । यस्तै विस्कृट, भुजिया, थुक्पा, आँटा, मैदा, लगायतका खाद्य सामग्री पनि म्याद गुज्रेको पाइएको उनले जानकारी दिए ।

यता पेय पदार्थहरुको उपयोग अवधि कम हुने भन्दै जिल्ला अनुगमन समितिले मिति हेरेर मात्र खरिद गर्न थोक तथा खुद्रा बिक्रेता र उपभोक्तालाई आव्हान गरेको छ । म्याद गुज्रेका तथा अखाद्य वस्तुहरु विक्री वितरण नगर्न स्थानीय व्यापारी/व्यवसायीलाई सुझाव दिएको पनि उनले बताए । उपभोग्य वस्तु स्वास्थ्यकर भए-नभएको र म्याद भए-नभएको हेरेर मात्र खरिद गर्न सम्बन्धित उपभोक्तालाई समितिले आग्रह पनि गरेको छ ।

ताजा अपडेट