भद्रपुर । आपुर्ति मन्त्री शिव कुमार मण्डलले हालै भएको बाम एकतालाइ विफल बनाउन अन्य शक्ति केन्द्र लागि परेकोमा आफुलाइ दुःख लागेको बताए । झापाको भद्रपुरनगरपालिका ८ मा पहिलो पाईला कृषि सहकारी संस्थाले सञ्चालन गरेको सहकारी पसलको शुक्रवार साँझ अवलोकन पश्चात प्रेस क्लब भद्रपुरमा आयोजित मन्त्री मण्डलले पत्रकार भेटघाटमा यस्तो बताएका हुन् । माओवादी, एमाले र नयाँ शक्ति बिचको चुनावी तालमेल र एकता नेपाली जनताले चाहे अनुसारको स्थिर सरकारका लागि भएको जिकिर गर्दै आपूर्ति मन्त्री मण्डलले यसलाई तोड्न शक्ति केन्द्रहरु सक्रिय रुपमा लागि परेकोमा चिन्ता समेत व्यक्त गरेका थिए । यो राजनिति परिघटना भएकोले  अन्य पार्टी शसंकित हुनु पर्ने कुनै कारण नभएको प्रष्ट पारे । आरोप प्रत्यारोप गरेर राजनैतिक उथलपुथल पार्ने काम राम्रो नभएको मण्डलले उल्लेख गरे । बर्तमान सरकार काँग्रेस र माओवादीको भएपनि चुनावी तालमेल अन्य पार्टीसग भएकोमा कुनै आश्चर्य मान्नु नपर्ने उनले बताए  ।  सरकारलाइ दिएको समर्थन र चुनावको समयमा गरिने तालमेल फरक भएको बताए । हालै सम्पन्न भएको स्थानीय तहको निर्वाचनमा पनि स्थान अनुसार पार्टीमा तालमेल भएको प्रष्ट रुपमा देखिएको उनले उल्लेख गरे । धेरै परिवर्तन भएपनि राज्यसंयन्त्र स्थिर भएका कारण आर्थिक क्षेत्र समृद्धि हुननसकेको धारणा राखेका छन् । परिर्वतनका लागि आन्दोलन ,वलिदान भएपनि देश पुरानै ठाउँमा फर्किने अवस्था आएको प्रति दुःख प्रकट गरेका थिए । अव हुने प्रदेश र प्रतिनिधि सभाको निर्वाचन पछि वन्ने नयाँ सरकारले देशलाइ परिवर्तन तर्फ उन्मुख बनाउने आशा राखेको उल्लेख गरे । जनताको अपेक्षा विपरित कामकार्वाही भएकोले पनि समस्या उत्पन्न भएको धारणा  राखेका थिए ।