काठमाडौं /राजीवकुमार सिंह चिकित्साशास्त्र अध्ययन संस्थानले लिएको एमबीबीएस प्रवेश परीक्षा गज्जबको भएकोमा दंग थिए । जोरपाटीमा रहेको नामी कलेजमा उनको परीक्षा केन्द्र तोकिएको थियो ।

शनिबार बिहान ८ बजेदेखि १० बजेसम्म चलेको परीक्षा सकाएर घर फर्कंदै गरेका उनले परिवारसँग खुसी बाँड्न भने पाएनन् । उनी तीनकुनेबाट सीधै टेकुमा रहेको महानगरीय प्रहरी अपराध महाशाखाको कार्यालय पुर्याइए ।

बौद्धको अरुणिमा माध्यमिक विद्यालयमा परीक्षा केन्द्र तोकिएका शीखा झा र राहुल झाको अवस्था पनि सिंहको जस्तै भयो । परीक्षा दिएर उनीहरु घर होइन, प्रहरी कार्यालय पुगे । उनीहरुसँगै अर्का परीक्षार्थी सक्षमराज भण्डारी पनि थपिए ।

केही बेरमै ज्ञानेन्द्र ठाकुर थपिए जो अत्तरखेलमा रहेको नेपाल मेडिकल कलेजमा एमबीबीएस पढ्दै थिए ।

यी सबै पक्राउ पर्नुको कारण बडो फिल्मी छ । १४ वर्षअगाडि भारतमा डाक्टर बन्न लालायित एक गुन्डामा आधारित फिल्म बनेको थियो, मुन्नाभाइ एमबीबीएस । निर्देशक राजकुमार हिरानीले बनाएको उक्त हाँस्य फिल्म बाबुको डाक्टर बन्ने सपना पूरा गर्न आपराधिक गतिविधिमा लागेका एक व्यक्तिले अपनाएको उपायमा आधारित िथयो । उक्त चलचित्रमा मुन्नाभाइको भूमिका सञ्जय दत्तले निर्वाह गरेका छन् । सहयोगी अरशद वारसीसँग मिलेर प्रवेश परीक्षालगायत सबै परीक्षा दिन एक चिकित्सक अपहरण गरी प्रविधि प्रयोग गरेर मोबाइलमार्फत चिट चोरेर परीक्षा दिई उनी चिकित्सक बन्छन् ।

शनिबार पक्राउ परेका सबैले मुन्नाभाइ फिल्मको यही शैलीमा चिट चोर्ने–चोराउने गरेका थिए । फिल्ममा अयोग्य भए पनि चिकित्सक बन्न लालायित एकजना थिए, यहाँ चारजना निस्किए ।

चिकित्सा शास्त्र अध्ययन संस्थानले शनिबार १७ वटा परीक्षा केन्द्र तोकेको थियो । अधिकांश केन्द्रमा सेटिङमा पास गराउने गिरोह सक्रिय रहेको खुलेको हो । यही गिरोहले नाटकीय शैलीमा प्रविधि प्रयोग गरेर चिट चोराएपछि चार परीक्षार्थीसहित १४ पक्राउ परेका हुन् ।

नागरिक दैनिक