विराटनगर/ ‘म आटिलो जुनु हो’ । म जन्मिदा मेरी आमा धेरै रुनु भएको थियो रे । किनकी मेरो आमा छोरा जन्माउन चाहानुहुन्थ्यो, तर पनि म छोरा भन्दा कम छैन, म त आँटीली केटी पो त ।’ यो संवाद विराटनगरको हाटखोलामा रहेको आरोहण गुरुकुलमा शनिबारदेखि सुरु भएको ‘जूनकिरी’ नाटकको संवाद हो । नाटकको सुरुवादेखि अत्यसम्म यो संवाद सुन्न पाइन्छ ।

नानी थापाको लेखन, निर्देशन र एकल प्रस्तुती रहेको नाटक ‘जुनकीरी’ मा नेपाली समाजको बिकृति, विसङ्गति र नारी अस्मिताको बिषयलाई जोडदार रुपमा प्रस्तुत गरिएको छ । पुरुषप्रधान नेपाली समाजमा छोरा र छोरीबीच रहेको असमान ब्यबहार र त्यसका आधारमा नारीले जन्मेदेखि भोग्नु परेको कठिनाईलाई नाटक ‘जुनकीरी’मा जस्ताको त्यस्तै प्रस्तुत गएिको छ । निकै मार्भिर तरिकाले दर्शकलाई अत्यसम्म मन्चमा एक घण्टा ४० मिनेटसम्म तान्न सफल भएको छ ।

निकै मार्मिक तरिकाले प्रस्तुती रहेको नाटक ‘जुनकीरी’ मा नानी थापाको अभिनय बेजोड देखिन्छ । दर्शकलाई संगै रुवाउन, संगै हसाउन र संगै गाउँदेखि शहरसम्मको यात्रा गराउन सफल रहेकी नानी थापा ‘जुनकीरी’का माध्यमबाट नाटकभित्र गीत, नृत्य, कबितालगायत हास्य, करुणा, शृङ्गार, वीर, लगायत लगभग अभिनयका रस चखाउन पछि परेकी छैनन् । उनी पात्रको मनावैज्ञानिक विचलनलाई नटकमा प्रस्तुत गर्न सफल भएकी छिन् ।

नाटकमा एउटी आँटिली केटी ‘जुनकिरी’ले गाउँले परिवेशबाट शहरको परिवेशमा आई पुग्दासम्म सामना गर्नु परेका समस्या र आर्थिक अभावका कारण भौतिक सुबिधाबाट बिमुख हुनु परेको बाध्यतालाई उजागर गर्दै नाटक अगाडि बढेको देखिन्छ । शहरिया जीवनसंग घुलमील हुनका लागि र भौतिक चाहाना पुरा गर्नका लागि जुनकीरीले आंगालेको पेशाले हाम्रो समाजका नारीहरुको बाध्यतालाई यथार्थ रुपमा चरितार्थ गरेको छ ।

पुरुषप्रधान समाजमा पढेलेखेका र क्षमताबान नारीको समेत कदर नहुने र नारीलाई केवल भोगबिलासको रुपमा मात्र प्रयोग गर्नु पर्छ भन्ने पुरुषबादी सोचलाई नाटकमा जस्ताको त्यस्तै प्रस्तुत गरिएको छ । गाउँकी इमान्दार केटी शहर पुगेर संघर्ष गर्ने क्रममा बन्न पुगेकी हाइप्रोफाइल कर्लगर्ल ‘जुनकीरी’ले आफु बाँच्नका लागि शरिर बेचे पनि आत्मा बेचेकी छैन । किनकी ‘जुनकीरी’ बिद्रोही केटी भएर उभिएकी छे नाटकमा ।

समाजको पुरातनबादी सोचलाई परित्याग गर्दै आफ्नो प्रजनन् अधिकार प्राप्तीका लागि जस्तो सुकै कठिनाइसंग पनि जुध्न तयार भएकी ‘जुनकीरी’ एकल आमा भएर आफ्नो सन्तानलाई आफ्नो परिचय दिन पछि परेकी छैन् । यो नाटकले महिला सशक्तिकरणको एउटा दरिलो सन्देश बोकेको छ ।

‘यो मेरोे एकल नाटक पाँचौ हो,’ अभिनयगरेपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उनले भनिन, ‘पाँचौ नाटक दर्शकसम्म ल्याइसक्दा मेरो अभियन, लेखन र निर्देशन रुचाएको पाएको छु । देशको तीन ठाउँमा यो नाटक मन्चन भयो ।’ उनले भनिन, ‘जति ठाउँमा नाटक मन्चन भएको छ, त्यो सामाजिक कार्यमा खर्च गरेको छु ।’ विराटनगरमा मन्चन भएको नाटकबाट संकलन भएको रकमले सिन्धुपालचोकको गढी नगरपालिका ५६ घर भूकम्प पीडित माझी परिवारलाई लक्षित गरि स्वेताश्री फाउन्डेशनले संचालन गरिहेको एकिकृत माझी बस्ति बिकास परियोजनालाई आर्थिक सहयोग गर्ने निर्देशक थापाले बताइन् ।