तिहारलाई विभिन्न फूलको पर्व पनि मानिन्छ । यस अवसरमा फुल्ने फूलले वातावरणलाई सुरम्य बनाउने मात्र होइन । वातावरणमा एक प्रकारको सुगन्ध नै प्रवाह हुन्छ भने त्यसका कारण वातावरणमा भएका कीटाणु पनि नियन्त्रण हुने हुँदा दीपावलीलाई वातावरणीय, जैविक तथा आयुर्वेदिक दृष्टिले समेत ज्यादै उपयोगी पर्वका रूपमा लिन सकिन्छ

हिन्दूहरूको महान् पर्व दीपावलीलाई तिहार, त्यौहार आदि नामले पनि चिनिन्छ । यस पर्वलाई प्रकृति र मानवबीचको घनिष्ठताको महान् पर्वका रूपमा लिन सकिन्छ । हामीलाई थाहा नै छ, नेपाली संस्कृतिमा विभिन्न जीव तथा वृक्षपूजन परम्पराको लामो इतिहास छ । नेपाली समाजमा मनाइने विभिन्न चाडपर्वसँग वृक्षपूजन तथा जीवपूजनको अन्योन्याश्रित सम्बन्ध रहेको प्रतीत हुन्छ । जीवपूजनको एउटा महत्वपूर्ण तथा महान् पर्र्वका रूपमा दीपावलीलाई लिन सकिन्छ ।

दीपावली एक मात्र यस्तो पर्व हो, जसमा विभिन्न जीवजन्तुको पूजा हुन्छ । यस पर्वमा पूजिने जीवका आफ्ना विशेषता रहेका छन् । त्यसो त हाम्रा चाडपर्वका वैज्ञानिक महत्व पनि नभएका होइनन् । दीपावलीलाई आयुर्वेद तथा वातावरणीय र जैविक दृष्टिले समेत उत्कृष्ट चाडका रूपमा लिइन्छ । दीपावली पाँच दिनसम्म मनाइन्छ । पहिलो दिन कागको पूजा गरिन्छ । कागपूजन परम्परालाई वातावरणीय पक्षसँग जोडेर हेर्दा यसले वातावरण सरसफाइ गर्ने कार्यमा सहयोग पुर्याएको पाइन्छ । त्यस्तै कागलाई खबर आदानप्रदान गर्ने पन्छीका रूपमा पनि लिइन्छ । त्यसैले काग पूजाको दिन कागलाई मिठा खानेकुरा दिएर पूजा गर्ने चलन छ ।

काग पूजाको भोलिपल्ट कुकुर तिहार मनाइन्छ । कुकुरलाई भैरवको वाहनका रूपमा लिइन्छ । यसले हाम्रो घरको सुरक्षा गर्ने काम मात्र गर्दैन, घरवरपरको वातावरणको रक्षा गर्ने कार्य गर्ने भएकाले नै पनि कुकुरको महत्व अधिक रहेको पाइन्छ । विभिन्न आपराधिक कार्यमा संलग्न व्यक्तिहरू पत्ता लगाउने कार्यमा समेत कुकुरको प्रयोग हुने गरेबाट पनि यसको ज्यादै महत्व रहेको प्रस्ट हुन्छ । स्वामीभक्त वा आज्ञाकारी पात्रका रूपमा कुकुरलाई लिइन्छ । कुकुरमा हुने घ्राण शक्तिका कारण उसले सहजै मानिसलाई पहिचान गर्न सक्छ । दीपावलीको तेस्रो दिनलाई गाईतिहार वा लक्ष्मी पूजा पनि भनिन्छ । गाईलाई हिन्दू संस्कृतिमा आमा समान श्रद्धा गरिन्छ, पूजा गरिन्छ । गाईको दूध, दही, घिउ गहुँत, गोबरलाई उपयोगी वस्तुका रूपमा लिइन्छ । कुनैपनि पूजापाठमा पञ्चामृत आवश्यक पर्छ ।

पञ्चामृतबाहेक पञ्चगव्य तयार पार्न पनि गाईको महत्व रहेको छ । गाईको दूधलाई अमृतसमान लिइन्छ । त्यसैले परापूर्वकालदेखि नै गाईलाई पुज्न थालिएको हो । हाम्रोजस्तो कृषिप्रधान देशमा खेतीका लागि गोबर वा कम्पोस्ट मलको आवश्यकता पर्ने हुँदा गाईको महत्व हुनु स्वाभाविकै हो । तिहारको चौथो दिनलाई गोरु तिहारका रूपमा मनाइन्छ । यस पर्वको पनि आफ्नै महत्व रहेको छ । नेपालजस्तो कृषिप्रधान देशमा गोरुलाई पशुधनका रूपमा लिइन्छ । कृषिकर्मको एउटा उपयोगी साधनका रूपमा यसलाई लिनुमा कुनै अतिशयोक्ति नहोला । गाईझैं गोरुको गोबर पनि कृषि कार्यमा उर्वरायुक्त मलखादका रूपमा लिइन्छ । अझै सवारीसाधनको सुगमता नभएको ठाउँमा गोरुगाढालाई सवारीका विकल्पका रूपमा प्रयोग गरिएको पाइन्छ । तिहारको अन्तिम दिनलाई भाइटीकाका रूपमा मनाइन्छ । यस पर्वमा दाजुभाइलाई दिदीबहिनीले टीका लगाएर मिठाइ फलफूल दिने गर्छन् । यस पर्वमा खाइने कैयन् मसलालाई आयुर्वेदका दृष्टिले महत्वपूर्ण मानिन्छ । यस अवसरमा खाइने विभिन्न मसलाका कारण शरीरमा शक्ति पैदा हुन्छ र शरीर निरोगी पनि बन्न पुग्ने भएका कारण यस पर्वको आफ्नै महत्व रहेको छभन्दा अत्युक्ति नहोला ।

तिहारलाई विभिन्न फूलको पर्व पनि मानिन्छ । यस अवसरमा फुल्ने फूलले वातावरणलाई सुरम्य बनाउने मात्र होइन । वातावरणमा एक प्रकारको सुगन्ध नै प्रवाह हुन्छ भने त्यसका कारण वातावरणमा भएका कीटाणु पनि नियन्त्रण हुने हुँदा दीपावलीलाई वातावरणीय, जैविक तथा आयुर्वेदिक दृष्टिले समेत ज्यादै उपयोगी पर्वका रूपमा लिन सकिन्छ । अझ गौर गरेर यस पर्वलाई मनन् गर्ने हो भने यो पर्व एउटा उत्कृष्ट पर्व हो । सांस्कृतिक, धार्मिक, पौराणिक महत्वको यस पर्वलाई जैविक तथा वातावरणीय दृष्टिले समेत उपयोगी चाडका रूपमा लिन सकिन्छ ।