पाँचथर/ गीतकार विष्णु इङ्नामको गीति एल्बम ‘यो जीवन’ मा संग्रहित गीतहरु अब श्रब्य दृष्यमा आउँने भएका छन् । जसका लागि म्यूजिक भिडियो छायाङकनको काम अन्तिम चरणमा पुगेको भिडियो छायाङ्कनकै शिलशिलामा पाँचथर पुगेका विष्णुले बताए ।

एल्बमका ६ गीतमध्ये तीन वटा गीतको भिडियो तयार भइसकेको छ । धनु ज्ञाङमीको संगीत र मनोजराज शिवाको स्वर रहेको ‘नाता तोड्यौ ...’ अनि मबिन्द्र राईको संगीत, स्वर रहेको ‘यो माया हो ...’ र ‘यहीं हो मेरो तेह्रथुम जिल्ला ...’ बोलका गीतको भिडियो बनिसकेको हो । भिडियोलाई कमल राई, ब्याक पिक हङ्कङ, युगल पोमु र रवि शेर्माले निर्देशन गरेका छन् । मोडलिङ भने विष्णु आफैं र बबिता फोम्बो, याङजोम शेर्पा, सिर्जना सुब्बा, सुल्तान इधिङगो, मबिन्द्र राईले गरेका छन् ।

बाँकि तीन वटा भिडियोको रवि शेर्माले निर्देशन गरिरहेका छन् । जसमध्ये दुई वटा गीतको छायाङ्कन सकिएको छ । मबिन्द्र राईको संगीतमा मबिन्द्र आफैं र मिलन अमात्यको स्वर रहेको ‘पहाडकी रानी ...’ र सञ्जय तुम्रोकको संगीत, सञ्जय र सुनिता थेगिमको स्वर रहेको ‘पहिलो भेटमा ...’ बोलको गीतको छायाङकन सकिएको हो । जसमा गीतकार तथा निर्माता विष्णु, रेखा फागो, टिआर सेनेहाङ र मिना मादेनले मोडलिङ गरेका छन् ।

मबिन्द्र राईको संगीतमा दीपक लिम्बू र मिलन अमात्यको स्वर रहेको संग्रहको शीर्ष ‘यो जीवन ...’ बोलको गीतको भने सुनसरीको कोशीटप्पु आसपासमा छायाङकन गर्ने तयारी गरिएको छ । उक्त भिडियोमा पनि बिष्णु आफैं र रेखा फागोले अभियन गर्नेछन् । धनकुटा, तेह्रथुम, पाँचथर, इलाम, झापा, लगायतका स्थानहरुमा छायाङकन गरिएको उक्त भिडियोहरुको किसोर सम्बाहाम्फेले छायाङकन गरेका छन् ।

१६ लाख अनुमानित लागतमा तयार हुँदै गरेको उक्त भिडियोहरुमा पूर्वी नेपालमा बसोबास गर्ने लिम्बू पहिरन र संस्कृति देखाउँन खोजिएको निर्देशक शेर्माले बताए । व्यवसायिक रुपले भन्दा पनि आफ्नो समुदायको सँस्कृति, पहिरन र गरगहनाहरु देश–विदेशका दर्शक–स्रोतालाई देखाउँन भिडियो संग्रह बनाउँन लागेको बिष्णुले बताए । झापाको गौरादह स्थाइ घर भएका उनी १३ वर्षदेखि हङकङ बस्दै आएका छन् ।