भद्रपुर । झापाको सदरमुकाम भद्रपुरमा सवारी साधन पार्किङ्को उचित व्यवस्थापन नहुँदा सरकारी कार्यालय परिसर अस्तब्यस्त भएको पाइएको छ । भद्रपुर नगरपालिका क्षेत्रभित्र रहेका दर्जन भन्दा बढी सरकारी कार्यालयमा आउने सेवाग्राहीले सवारी पार्किङ् गर्ने स्थान अभावले गर्दा जथाभावी सवारी साधन राखेपछि कार्यालय परिसर तथा सडक अस्तब्यस्त बनेको हो । कार्यालयमा आउने सेवाग्राही लगायत अन्यलाइ जिल्ला समन्वय समिति, जिल्ला शिक्षा ,सिंचाइको गेट खुल्ला भएकोले कार्यालय परिसर भित्रनै राखिने गरेको छ भने मालपोत, वन, प्रशासन,आन्तरिक राजस्व, अदालत,भुमीसुधार, निर्वाचन लगायतका कार्यालयले गेट बन्द गरेका कारण सो कार्यालयमा आउने सेवाग्राहीले कार्यालय अगाडी सडकको दुवै किनारामा पार्किङ् गरेपछि सडक समेत अस्तब्यस्त भएको पाइएको छ । मालपोत र राजस्वमा आउने ठुला व्यवसायी र गेटमा बसेका पालेसग चिनजान भएका सेवाग्राहीलाइ मात्र सवारी साधन प्रवेश दिइने गरेको पाइएको छ । असोज महिना सुरु भएपछि राजस्व कार्यालयमा भिड हुने गरेको छ । सोमवार दिउँसो राजस्व कार्यालयका पालेले मोटर साइकललाइ प्रवेशमा रोक लगाए भने कारमा चढेर आएका ठुला व्यवसायीलाइ गेट खोलिदिएका थिए । ‘साना सेवाग्राहीलाइ रोक लगाउने ठुलालाइ गेट खोल्ने’ जस्ता गुनासाहरु राजस्व कार्यालयमा आएका सेवाग्राहीले गरिरहेका थिए । करिब एक वर्ष अघि सवारी साधन व्यवस्थित गर्न जिल्ला ट्राफिक प्रहरी कार्यालयले सो क्षेत्रमा रहेर व्यवस्थापन गर्दै आइरहेता पनि पछिल्लो समय उपस्थिती नभएपछि झन समस्या बढेर आएको छ । नगरपालिकाले जिल्ला हुलाक कार्यालय जाने सडकको छेउमा पार्किङ्को व्यवस्थापन गरेपनि स्थान अभावले गर्दा सेवाग्राहीले जताततै सवारी राख्ने गरेका छन् । नगरपालिकाले पार्किङ्को ठेक्का समेत लगाएको छ । ठेकदारका कर्मचारीले भने जताततै राखिएका सवारीवाट रकम असुल्दै आइरहेका छन् । त्यसैगरि चन्द्रगढी बजार , भद्रपुर वजारमा आउने सेवाग्राहीले पनि सवारी पार्किङ् अभावका कारण वजार अस्तब्यस्त भएको छ । सवारी पार्किङ् स्थान अभावका कारण सरकारी कार्यालय क्षेत्र अस्तब्यस्त भएको झापाका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले बताए । नगरपालिका मेयरसँग समन्वय गरेर उचित निकास निकाल्ने प्रजिअ तिवारीको भनाइ छ ।