काठमाडौँ । अनशनरत प्रा.डा.गोविन्द केसी र सरकारबीचको वार्ता निर्णायक बिन्दुमा पुगेको छ । विगत तीन दिनदेखि निरन्तर वार्ता र संवादमा जुटेका दुवै पक्ष करिब–करिब सहमतिनजिक पुगेका छन् । सरकारी वार्ता टोलीका संयोजक नगेन्द्रप्रसाद उपाध्यायले सोमबार अबेरसम्म भएको वार्ता निष्कर्षमा पुग्न नसके पनि सहमतिनजिक पुगेको बताए । चिकित्सा शिक्षा सुधारको माग गर्दै केसीले अनशन थालेको सोमबार बाह्रौँ दिन बितेको छ ।

सोमबार सहमतिमा पुग्ने गरी भएको वार्ता प्राविधिक कारणले गर्दा सहमतिमा पुग्न नसकेको केसीपक्षीय वार्ता समिति सदस्य डा. अभिषेक सिंहले आफ्नो ट्विटमार्फत सार्वजनिक गरेका छन् । ‘सरकारसँग भएको वार्ता प्राविधिक कारणले निष्कर्षमा पुग्न सकेन । मंगलबार दिउँसो १ बजे पुनः बस्ने सहमति भएको छ,’ उनको ट्विटमा लेखिएको छ । केसीको स्वास्थ्य अवस्था बिगँ्रदै गएपछि सरकारले वार्ता र संवादलाई तीव्रता दिएको छ ।

सरकारी वार्ता टोलीमा सहभागी एक सदस्यका अनुसार सरकार र केसी पक्षबीचको वार्ता सामान्य विषयमा अड्किएको छ । केसीले उठाएको चिकित्सा शिक्षा विधेयक र नेपाल आयल निगमका निर्देशक गोपाल खड्काको विषयमा सहमति जुट्न सकेको छैन । सरकारी वार्ता टोलीले आफ्नो अधिकार क्षेत्रभन्दा बाहिरको विषयमा निर्णय लिन नसक्ने बताएपछि सहमतिमा पुग्न नसकेको हो । सरकारी वार्ता टोलीका संयोजक नगेन्द्रप्रसाद उपाध्यायका अनुसार आज सहमतिमा पुग्ने सम्भावना बलियो छ ।