शनिश्चरे/एकीकृत पूजीँ सहितको बृहत सहभागिताको सहकार्यले मात्र सहकारी संस्था तथा त्यसका शेयर सदस्यको उन्नती हुने ठहर गर्दै मोरङमा पनि सहकारी एकीकरण कार्यले केही गति लिएको छ ।

मोरङमा रहेका १ हजार १ सय १२ वटा सहकारीमध्ये हालसम्म ३६ वटा एकीकरण भएका छन् । ३६ बाट ८ वटा कामय हुँदा कुल सहकारी संख्या १ हजार ८९ मा झरेको जिल्ला सहकारी संघका अध्यक्ष डिल्ली पोखरेलले जनाए । ‘संघले एकीकरणका लागि तालिम, उत्प्रेरणा सहितको सहजिकरण गरिरहेको छ । पछिल्लो वर्ष एकीकरणको आवश्यकता वोध भएर एकीकृतको पहल बढेको छ । थप ५० वटा सहकारी एकीकरणको प्रक्रियामा अघि बढेका छन् ।’– उनले प्रष्ट्याए । उनले पछिल्लो २ वर्षयता एकीकरणको क्रम बढेको सुनाए । पछिल्लो वर्षमा भनें स्वतस्फूर्त एकीकरणको छलफल अगाडि बढ्ने थालेको उल्लेख गरे ।

एकीकरणको आवश्यकतालाई मनन् गर्दै पछिल्लो पटक सोमबार जिल्लाको पथरीशनिश्चरेस्थित एशियास्तरको गुणस्तरचिन्ह एक्सेस व्रोन्जप्राप्त मनकामना वचत तथा ऋण सहकारीले नगरका सहकारीबीच एकीकरणका सन्दर्भमा छलफल चलाएको छ । नगरमा ३० वटा हाराहारीमा सहकारी संस्था रहेकोमा वचत तथा ऋण सहकारीतर्फका १३ वटा सहकारीका अगुवा कार्यक्रममा सहभागी भई एकीकरणका पक्षमा सकारात्मक धारणा राखेका छन् । कार्यक्रममा शनिश्चरे सहकारीका एकराज निरौला भन्छन् ‘ हरेक कुराको सेवा सुविधाको प्रतिष्पर्धात्मक बजारमा सानो पूँजी र थोरै सदस्य भएको सहकारीको अस्तित्व बचाउन एकीकरण अति आवश्यक हो ।’ उनले अव आउने साधारणसभामा एकीकरणका सन्दर्भमा छलफल गरिने उनले आफ्नो संस्थाको योजना सुनाए । कार्यक्रममा सहभागिहरुले आफ्ना संस्थामा सहकारी एकीकरणको आवश्यकताका बारेमा छलफल गराएर एकीकरणको पहल थाल्ने कुरा व्यक्त हुनु यस क्षेत्रका सहकारी बलियो बनेर दर्विलो काम गर्न सक्ने संकेत भएको मनकामना अध्यक्ष युवराज भट्टराईले महसुस गरे ।

कार्यक्रममा, राष्ट्यि सहकारी वैंकका अध्यक्ष रमेशप्रसाद पोखरेलले शेयर सदस्य तथा समग्र मुलुककै अर्थतन्त्रको समृद्धिका लागि सहकारी संस्थाहरुबीच एकीकरण गर्नु आवश्यक रहेको धारणा राख्दै एकीकरणका लागि उत्प्रेरित गराए । छलफलमा एकीकरण सम्बन्धीको अवधारणापत्र प्रस्तुत गर्दै पोखरेलले सहकारीमा प्रगति गरिरहेका विभिन्न देशमा समेत सहकारीको एकीकरण गरी ठूलो हिस्सामा आर्थिक प्रगति गरी देशकै अर्थतन्त्र उकास्ने काम भएको पनि उदाहरण प्रस्तुत गरे । ‘अव थोरै पैसा जम्मा गर्ने अनि त्यही पैसा महंगो व्याजमा ऋण लिने अनि ऋण तिर्न अर्कातर्फ पुनः ऋणै लिने परिपाटी अन्त्य हुनु पर्छ ।’ उनले थपे ‘ अव त सहकारीमार्फत लगानी गरेर ठूला उद्योग खोल्दै सदस्यको साथै देशकै आर्थिक उन्नती गर्नु सहकारीको अवको आवश्यकता हो । त्यसो गर्न एकीकरण झनै टड्कारो आवश्यकता बनेको छ ।’

विश्व अर्थतन्त्र अन्गर्तत हालसम्म सहकारी पद्धतीको व्यवसायले कृषिमा ३८ प्रतिशत, विमा व्यवसायमा २५ प्रतिशत, थोक तथा खुद्रा पसलको १८ प्रतिशत, बैंक तथा वित्तको ६ प्रतिशत, स्वास्थ्यको ३ प्रतिशत र सेवाको १ प्रतिशत अंश ओगटेको स्मरण गराए । भर्खरै लालमोहोर लागेको नयाँ सहकारी ऐनले समेत सहकारीलाई वचत र ऋणको कारोवारमा मात्र सिमित नरही सदस्यहरुको आर्थिक उन्नतीका लागि व्यवसायिक समृद्धिमा लाग्न अभिप्रेरित गरेको मर्म दर्शाए । मुलुकको ३ खम्बे अर्थनीतिमा एक खम्बा सहकारी रहेको कुरा संविधानमै आत्मसाथ भएको छ । ०७० मै सहकारी संघ संस्था एकीकरण सम्बन्धी कार्यविधि बनेको छ । एक प्रकारको सहकारीका सदस्य सोही विषयत सहकारीको अर्काे संस्थाको सदस्य वन्न नपाउने प्रावधान छ । सहकारीमार्फत १७ वटा लक्ष्य निर्धारण गरेर संयुक्त राष्ट्संघले विश्वलाई समृद्ध बनाउन सक्ने अवधारणा बनाएको समेत कार्यक्रममा उनले चर्चा गरे । अन्तरराष्ट्यि मापदण्डले १ हजार सदस्य, १ करोड शेयर पूँजी, न्यूनतम ५ करोड कारोवार, २ जना स्थायी कर्मचारी अनिवार्य हुनुपर्ने तोकेको छ ।

तर त्यो भन्दा पनि अगाडि बढेर सानासँग मिल्दा आफुले केही गुमाएको महसुस नगरी फराकिलो मनले एकीकरण गर्नु आवश्यक बनेको कुराको समेत उनले बेलिविस्तार लगाए । नेपालमा करिव २ सय वटा सहकारी एकीकरणमा गइसकेका छन् । जापानमा ४४ हजार सहकारीबाट एकीकरण भई ५ सयको हाराहारीमा आएको पनि वताए । विश्वका ३ सय ठूला सहकारीको कारोवार वार्षिक ४ हजार ३ सय ५२ अर्ब अमेरिकी डलर भन्दा माथि रहेको छ । संयुक्त राष्ट्संघपछि सहकारी नै अन्तरराष्ट्यिस्तरको दोस्रो ठूलो संगठनका रुपमा स्थापित बनेको छ । विश्वको ७ अर्व २५ करोड जनसंख्यामध्ये १ अर्व ४० करोड सहकारी शेयर सदस्य संख्या छ । ‘अर्थसँग सम्बन्धित भएको यति प्रभावकारी संगठन तथा सञ्जालले विश्व निर्माण गर्न कत्तिपनि बेर लाग्दैन ।’– उनले निकै प्रभावपूर्ण अभिव्यक्तिका साथ तथ्यपूर्ण तर्क प्रस्तुत गरे ।

कार्यक्रमका सन्दर्भमा, पथरीशनिश्चरे नगरपालिकाका प्रमुख दिलिपकुमार राई, जिल्ला वचत तथा ऋण सहकारी संघका अध्यक्ष हरिप्रसाद सुवेदी, संघका जिल्ला कोषाध्यक्ष राकेश दहाल सहितले सहकारी एकीकरण आजको आवश्यकता रहेको जनाउँदै चुनौतीहरुलाई सामना गर्दै एकीकरण अभियानमा लाग्न सवैलाई अनुरोधै गरे । ३ वर्ष अघि पथरीशनिश्चरेको मनकामना र साविक जाँतेस्थित खोलीटार सहकारी एक भएको थियो । उर्लाबारीमा, सगरमाथा र श्री सहकारी मिलेर श्री सगरमाथा, शुभलक्ष्मी र चन्द्रसूर्य मिलेर शुभचन्द्रसूर्य सहकारी बनेका छन् । पथरीशनिश्चरेस्थित महिलाहरु मात्र सम्मिलित दिदीवहिनी सहकारीको कार्तिक १३ मा हुने ११ औं वार्षिक साधारणसभामा एकीकरणको प्रसंगमा समेत छलफल गर्ने योजना बनाएको अध्यक्ष कविता पराजुलीले जनाइन् । नगरमा महिलाहरु मात्र सदस्य रहेको दिदीवहिनीका साथै अष्टलक्ष्मी गरी २ वटा सहकारी छन् । जिल्लामा विभिन्न क्षेत्रमा काम गर्ने ७ प्रकारका वस्तुगत सहकारी रहेका छन् ।