धरान/पूर्वाञ्चल सिङ्गिङ स्टार पाचौं सस्करणको पहिलो चरणको अडिसन पूरा भएको छ । १४ जिल्लालाई लक्षित गर्दै हरेक वर्ष गरिदै आएको पहिलो चरणको अडिसनबाट २३२ जना दोस्रो चरणमा प्रवेश गरेका छन् । दोस्रो चरणको अडिसन धरानको रत्नइन होटलमा कात्तिक ११ गते हुने आयोजक बगिना कला केन्द्र धरानका अध्यक्ष एवम् कार्यक्रम संयोजक भक्तिराज राईले जानकारी दिए । उनका अनुसार अन्तिम अडिसन मंगलबार धरानको रत्नइन होटलमा गरिएको थियो । अडिसनबाट धरानमा मात्रै ७३ जना छनौट भएका छन् । पूर्वको ताप्लेजुङ, इलाम, पाँचथर, तेह्रथुम, झापा, मोरङ, सुनसरी, उदयपुर, भोजपुर, खोटाङ, सोलुखुम्बू, ओखलढुङ्गा, धनकुटामा अडिसन सम्पन्न गरिएको छ । अडिसनबाट छानिएकाहरुले अव भने आफूले मन पराएको ट्रयाक म्युजिकमा गीत गाउन सक्ने संयोजक राईले बताए । फाइनल अघिको सम्पूर्ण राउण्ड मंसिरसम्म पूरा गर्ने लक्ष्य लिइएको छ । धरानको अडिसनमा निर्णायकको रुपमा गायकसमेत रहेका संयोजक राई एवम् गायक दीपेन राई रहेका थिए । फाइलन विजेताले नगदसहित ट्रफी, छात्रवृति, गिटारलगायतका सामग्रीहरु प्राप्त गर्ने छन् । त्यस्तै एल्बममा गाउने, र म्युजिक भिडियोसमेतको अवसर प्राप्त गर्ने संयोजक राईले जानकारी दिए ।