धरान/सामाजिक उत्तरदायित्वका निम्ति चिकित्सक नेपाल, विद्यार्थी च्याप्टर धरान (पिएसआरएन) ले अक्टोबर महिनालाई ‘स्तन क्यान्सर चेतना महिना’ को रुपमा मनाएको छ । विश्वभर नै अक्टोवर महिनालाई स्तन क्यान्सरको महिनाको रुपमा मनाउँदै आइरहेको छ । यही अनुरुप संस्थाले साताव्यापी चेनामूलक कार्यक्रम गर्दै मनाइएको अध्यक्ष सञ्जय बरालले जानकारी दिए । गतबिहीबारदेखि सुरु भएको चेतनामूलक कार्यक्रममा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत चिकित्सक, कर्मचारी, फ्याकल्टी तथा विद्यार्थीहरु समावेश रहेका थिए । कार्यक्रमको सुरुवातमा गुलावी रिवन वितरण गरिएको थियो । उक्त रिवन कार्यक्रम अवधिभरी लगाउनु पर्ने नियम बनाइएको अध्यक्ष बरालले जानकारी दिए । स्तन क्यान्सर सम्बन्धी रेडियो कार्यक्रमसमेत सञ्चालन गरिएको थियो । प्रतिष्ठानको ओपिडी भवन अघि स्टलहरु राखेर पर्चा पम्प्लेटहरु वितरण गरिएको थियो । उक्त पर्चा पम्प्लेटहरुमा स्तन क्यान्सर सम्बन्धी जानकारी र त्यसबाट बच्ने उपाय, उपचार विधिहरुको बारेमा, लक्ष्य, रोकथामलगायत बारे जानकारी दिइएको थियो । स्तन क्यान्सर रोगीहरुले समाजमा खुलेर कुरा नर्गदा समस्याको रुपमा आइरहेको र त्यसका लागि चिकित्सकहरुसँग चाडो परामर्श लिएर उपचारमा जान सके रोग निको हुने अध्यक्ष बरालले जानकारी दिए । तर, त्यो हुन नसक्दा धेरै नेपालीहरु स्तन रोगी हुने गरेका छन् । त्यसैको लागि नै जनस्तरमा कार्यक्रम लाने उद्देश्यले साताव्यापी चैतनामूलक कार्यक्रम गरिएको बताइएको छ ।