काठमाडाैं (रासस)/नेकपा (एमाले)का अध्यक्ष केपीशर्मा ओलीले वाम गठबन्धन र एकतालाई सफल बनाउनुपर्ने बताएका छन् । युवा सङ्घ नेपालले मंगलबार पार्टी कार्यालय धुम्बाराहीमा आयोजना गरेको अगुवा कार्यकर्ता भेला र विशेष प्रशिक्षण कार्यक्रममा उनले भने– “मुलुकको समृद्धिका लागि वाम गठबन्धन र एकता अपरिहार्य आवश्यकता रहेको हुँदा यसलाई सबैले इमान्दार भएर सफल बनाउन सक्नुपर्दछ ।” अध्यक्ष ओलीले वाम गठबन्धनका विरुद्ध अर्को शक्ति एक भए पनि केही गर्न नसक्ने बताउँदै “वामतालमेलबाट प्रतिक्रियावादी आत्तिएका छन्, उनीहरु एक भए पनि वामपन्थी एकतामा कुनै असर पर्दैैन,” भने । आसन्न प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनपछि एमालेको नेतृत्वमा सरकार बन्ने विश्वास व्यक्त गर्दै उनले भने– “ सो निर्वाचनपछि संघ र प्रदेशमा सरकारको नेतृत्व एमालेले गर्छ ।” अध्यक्ष ओलीले एमालेले मुलुकमा शान्ति र समृद्धि चाहेको छ भन्दै सही विचार, नीति, संगठन र देशप्रेमी भावना भएकाले एमालेले जनताको विश्वास जित्न सकेको बताए । सो अवसरमा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले मुलुकको आवश्यकता र पार्टी हितका लागि माओवादीसँग चुनावी तालमेल र एकताको प्रयास गरिएको बताउँदै निर्वाचन नगर्ने षड्यन्त्रमा नेपाली काँग्रेसले नयाँ गठबन्धन बनाइरहेको आरोप लगाए । “काँग्रेसको गतिविधिले संविधान कार्यान्वयनप्रति गम्भीर देखिएको छैन, उनले भने, “निर्वाचनलाई कसरी सफल बनाउनुभन्दा पनि निर्वाचन सार्नकै लागि माओवादीका मन्त्री हटाउन दबाब दिइरहेको छ, यो हामीलाई सह्य छैन ।” नेता नेपालले प्रधानमन्त्री शेरवहादुर देउवाले निर्वाचन आचारसिंहता विपरित मन्त्रिमण्डल विस्तार गरेर लोकतन्त्रको खिल्ली उडाएको बताउँदै आगामी मंसिर १० र २१ मा हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा गठबन्धनलाई जिताउन सबैमा आग्रह गरे ।