लहान । सिरहाको माडर खैरटोकास्थित जिल्ला भन्सार कार्यालयबाट खटिएको टोलीले चोरी पैठारीमा संलग्न चार जनासहित भन्सार छलेर ल्याएको करिब २२ लाख रुपैयाँ बराबरको लत्ता कपडाका सामानहरु बरामद गरेको छ। सिरहा बजारदेखि दक्षिण पूर्वी कुनामा पर्ने छोटकी टोलबाट भन्सार छलेर नेपाल भित्र्याइएको करिब २० लाख रुपैयाँको लत्ताकपडासहित पिकअप भ्यान मङ्गलबार बिहान पक्राउ गरिएको जिल्ला भन्सार प्रमुख राजेन्द्रकुमार हमालले जानकारी दिए। टोलीले अवैध रुपले लत्ताकपडा नेपाल भित्र्याउन संलग्न रामपुकार साह र महेन्द्र साह समेतलाई समेत नियन्त्रणमा लिएको छ। त्यसअघि सोमबार साँझ टोलीले सिरहाको भोटियाटोलबाट दुई जनासहित करिब दुई लाख रुपैयाँ बराबरको कपडा पक्राउ गरिएको प्रमुख हमालले बताए। भन्सार प्रमुख हमालका अनुसार चाडवाडको समयमा राज्यले निर्धारण गरेको राजश्व असुलीमा पचास प्रतिशतसम्म गिराबट आएपछि चोरी निकासी नियन्त्रण गर्न टोली परिचालन गरिएको हो। खुल्ला सीमा नाका तथा प्रहरीको उदासिनताको कारण पछिल्लो केही समयदेखि भारततर्फबाट भन्सार छलेर व्यापक रुपमा चोरी पैठारी भइरहेको राजस्व असुलीले पनि पुष्टी गरेको छ। चोरी पैठारी बढेपछि पछिल्लो साउनदेखि नै राजश्व असुलीमा ५० प्रतिशतले गिरावट आएपछि लक्ष्य अनुसारको राजश्व असुली गर्न नसकिने कार्यालयले जनाएको छ। सीमित जनशक्तिको कारण आवश्यकता अनुसार गस्ती नहुँदा दैनिक रुपमा लाखौं मूल्य बराबरको सामानहरु भन्सार छलेर भित्रिरहेको हुन सक्ने प्रमुख हमालले उल्लेख गरे। कार्यालयले चालु आर्थिक वर्षको साउनमा ५६, भदौमा ६२ र असोजमा ४० प्रतिशत मात्र राजश्व असुली गरेको जनाएको छ। सिरहा भन्सार कार्यालयले चालु आर्थिक वर्षमा १५ करोड ७८ लाख रुपैयाँ राजश्व असुली गर्ने लक्ष्य राखेको छ।