दमक । झापाको दमक नगरपालिकालाई धिमाल जातिको उद्गम स्थल भएको भन्दै नगरपालिकाले उक्त जातिलाई दमकको पहिलो आदिवासी नागरिकको मान्यता दिएको छ। यहाँको आदिवासी धिमाल जातिको पहिचान संरक्षण गर्न भन्दै धिमाललाई पहिलो नागरिकको रूपमा घोषणा गरेको हो। नगरसभा बैठक सार्वजनिक गर्न मंगलबार दमकमा आयोजना गरिएको पत्रकार सम्मेलनमा नगर उपप्रमुख गीता अधिकारीले पहिलो नागरिकको घोषणा गर्दै आदिवासी धिमालको सरंक्षण, सम्वर्द्धन गर्न पहिलो नागरिक घोषणा गरेको बताइन्। उनले नगरका हरेक सेवा, सुविधा तथा रोजगारीका क्षेत्रमा अब धिमाल जातिलाई पहिलो प्राथमिकतामा राखिने जानकारी पनि दिइन्। दमकमा धिमालहरू करिव २५ हजार बढी भएको अनुमान छ। ‘अहिले पनि धिमाल जाति गरिबीको रेखामुनि नै छन्, धेरैजसो वैदेशिक रोजगारका लागि खाडी मुलुक गएका छन्, उनले भनिन् ‘उहाँहरूको उत्थानका निम्ति हामीले यो योजना ल्याएका हौँ।’ उनले आदिवासी धिमालको जीवनस्तर उकास्न धिमाल अगुवासँग छलफल गरेर नीति तथा कार्यक्रमहरू ल्याउने पनि बताइन्। ‘हामीले त्यसै पहिलो जाति घोषणा गरेका होइनौँ, यसमा धेरै प्रमाणहरू छन्, उनले भनिन्, ‘धेरै खोज अनुसन्धान गरेका छौँ।’ उनले झट्ट हेर्दा हतारको निर्णय जस्तो देखिए पनि धेरै खोज तथा अनुसन्धान गरेर यो निर्णय गरेको बताइन्। उनले भनिन् ‘यहाँ रहेका कुमाललगायत अन्य जातिका विषयमा पनि खोज गरेका हौँ तर धिमालको पहिलाको प्रमाण फेलाप¥यो। यो क्षेत्रलाई दुःख गरेर शहर बनाउने जातिकालाई हामीले पहिलो नागरिक घोषणा गरेका हौँ।’ उनले अब नगरका हरेक नीति तथा कार्यक्रमहरू धिमाल जातिसँग सहकार्य गरेर ल्याउने बताइन्। यता, धिमाल अगुवाहरूले पनि नगरपालिकाको यो निर्णय सकारात्मक रहेको बताएका छन्। धिमाल अगुवा मोहन धिमालले आफूहरूको लामो संघर्षलाई नगरपालिकाले बुझेको बताए। उनले भने, ‘दमक क्षेत्रलाई यतिको बनाउन धिमालहरूले धेरै ठूलो योगदान गरेका छन्, बल्ल हाम्रो योगदानलाई नगरपालिकाले बुझ्यो।’ उनले धिमाललाई प्रथम नगारिक मात्र घोषणा गरेर नहुने बताए। उनले भने, ‘नगरपालिकाले प्रथम नागरिक घोषणा गरेको छ, अब घोषणा गरेर मात्र हुँदैन, धिमालहरूलाई राजनीतिक, सामाजिक तथा नेतृत्व तहमा भूमिका पनि दिनुपर्छ।’ धिमाल जातीय विकास केन्द्रका महासचिव केदार धिमालले आफूहरूले धिमाल स्वायत्त क्षेत्र माग गरे पनि सीमा निर्धारण गर्दा धिमाल स्वायत क्षेत्र नभए पनि नगरपालिकाले सान्त्वनासम्म दिएको बताए। ‘हामीले हाम्रो जातिको लोप हुँदै गएको संस्कृति संरक्षणका लागि धिमाल स्वायत्त क्षेत्र मागेका थियौँ, संविधानमा लेखिएन’, उनले भने, ‘हामी मन खुम्च्याएर संविधान मान्न बाध्य भयौँ तर अहिले केही खुसियाली छाएको छ।’ उनले धिमाल स्वायत्त क्षेत्र घोषणा गर्न यो पहिलो कदम भएको बताए। उनले भने, ‘धिमालको बसोवास भएका झापा, मोरङ र सुनसरीलाई धिमाल स्वायत्त क्षेत्र माग गरेका हौँ, अब यो पहिलो खुट्किला भएको छ, हामी फेरि अगाडि बढ्छौँ।’ उनले सबै जातिको पहिचानको आधारमा स्वायत्त क्षेत्र हुनुपर्ने पनि बताए। यसैबीच धिमाल जातीय विकास केन्द्रले दमक नगरपालिकाले प्रथम नागरिक घोषणा गरेपछि खुसियाली मनाएको छ। मंगलबार दीप प्रज्ज्वलन गर्दै केन्द्रले खुसियाली मनाएको हो। दमक चोकमा गरिएको कार्यक्रममा धिमाल जातीय विकास केन्द्रका अध्यक्ष तेजबहादुर धिमाल, दमक नगरपालिकाकी उपप्रमुख गीता अधिकारी, कार्यकारी अधिकृत युवराज दहाललगायतले दीप प्रज्ज्वलन गरेका थिए। कात्तिक २५ गते सार्वजनिक बिदा दमक नगरपालिका मातहत रहेका सम्पूर्ण कार्यालयहरूमा प्रत्येक वर्षको कात्तिक २५ गते सार्वजनिक बिदा हुने भएको छ। २५ गतेका दिन मनाइने राष्ट्रिय विभूति किरात धर्मका महागुरु फाल्गुनन्दको जन्मजयन्तीको अवसर पारेर सार्वजनिक बिदा दने निर्णय गरेको नगरपालिकाले जनाएको छ। ‘यस दिन किरात धर्मावलम्बीको सम्मानका लागि नगर क्षेत्रमा सार्वजनिक बिदा दिनेसमेत नगरसभाले पारित गरेको छ’, नगर उपप्रमुख अधिकारी भन्छिन्, ‘निर्णय यसै वर्षदेखि लागू हुन्छ।’ यसअघि सरकारले किरात धर्मावलम्बीहरूलाई मात्र त्यस दिन बिदा दिँदै आएको थियो।