राजविराज । सप्तरीको सदरमुकाम राजविराजको मुख्य सडक पेटीमा वर्षौँदेखि अतिक्रमण गरेर बसेका पसल हटाउने कार्य शुरु गरिएको छ ।

राजविराज नगरपालिकाले सडकपेटीमा अतिक्रमण गरी फाटफुट रुपमा पसल सञ्चालन गर्दै आएका पसल तथा मासु बिक्री वितरण गर्ने स्टोरलगायत अतिक्रमण गरेर पसल सञ्चालन गरेका पसललाई हटाउने कार्य शुरु गरेको जिल्ला प्रहरी कार्यालय राजविराजका एसपी मुकेशकुमार सिंहले बताए।

राजविराज नगरपालिका र जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीको सहयोगमा नगरपालिकाले राजविराजको मुटु मानिएका गजेन्द्र चोकदेखि उत्तरपट्टिको सडकको दायाँबाँया साइडमा रहेका पान पसल, चटपटे पसल तथा साना फाट्फुट रुपमा रहेका पसललाई समेत हटाइएको एसपी सिंहले जानकारी दिए।

त्यस्तै, राजविराजको दर्शनचोकदेखि पश्चिम सिरहा रोडसम्ममा अतिक्रमण गरेका पसललाई हटाइएको र नगरपालिकाको सडक तथा सार्वजनिक ठाउँमा अतिक्रमण गर्ने पसललाई अविलम्ब हटाउन राजविराज नगरपालिकाले आग्रह गरेको छ ।