शनिश्चरे/मोरङको पथरीशनिश्चरेस्थित वीरेन्द्रनगरमा सम्पन्न पूर्वाञ्चल स्तरीय सातौ वीरेन्द्रनगर च्यालेन्ज कप क्रिकेट प्रतियोगिताको उपाधी रत्न यूथ क्लब पथरीशनिश्चरेले हात पारेको छ ।

प्रतियोगिताको मंगलबारको फाईनल खेलमा पथरीशनिश्चरे ११ लाई ६४ रनको फराकिलो अन्तरले पराजित गर्दै रत्नले उपाधी उचालेको हो । उपाधि सँगै रत्न यूथ क्लबले नगद ५१ हजार रूपैयाँ सगै ट्रफी मेडल र प्रमाण पत्र तथा उपविजेतामा चित्त बुझाएको पथरी शनिश्चरे ११ ले नगद ३१ हजार रूपैयाँ सँगै ट्रफी मेडल र प्रमाण पत्र प्राप्त गरेको छ । रत्नले दिएको १ सय २१ रनको लक्ष्य पछ्याएर ब्याटिङ गरेको पथरीशनिश्चरे १३ दशमलब ४ ओभरमा मात्र ५६ रनमा समेटियो । पथरीशनिश्चरेक ११ का लागि राकेश दाहालले १६ र राजु राईले १३ रन बनाउन बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकको स्कोर गर्न सकेनन । पथरी शनिश्चरे ११ लाई सहजै समेट्नका लागि मेहबुब आलम, विजेन्द्र झा, अमृत सिंह र प्रवेश कामतीले २-२ विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको रत्न युथ क्लबले १९ दशमलब १ ओभरमा अल आउट हुँदै १ सय २० रनको योगफल तयार पारेको थियो । रत्नका लागि रोनित सिंहले २७ र अमृत सिंहले २२ रन बनाए । पथरी शनिश्चरे ११ का सुमन इजम लिम्बु र संकर भुजेलले समान ३-३ विकेट लिए । फाईनल खेलको म्यान अफ द म्याच रत्न युथका अमृत सिंह घोषित भए । त्यस्तै म्यान अफ द सिरिज घोषित तथा वेष्ट व्याट्सम्यान भएका रत्नकै निरितिया खडोलियाले १० हजार रूपैयाँ बरारको मोबाईल प्राप्त गरे । प्रतियोगिताको वेष्ट वलर पथरीशनिश्चरे ११ का सुमन इजम लिम्बु र वेष्ट फिल्डर आयोजक वीरेन्द्रनगर क्रिकेट क्लबका विवेक कोइराला घोषित भए । असोज १९ गतेबाट संचालन भएको प्रतियोगितामा पूर्वाञ्चलका १९ टिमको सहभागिता रहेको थियो ।