काठमाडौं । नेपाललाई ट्रान्जिट बनाई अफ्रिकी मुलुक नाइजेरियाबाट नेपालमा चिम्पाञ्जीको तस्करीमा संलग्न अन्तर्रा्ष्ट्रिय गिरोह पक्राउ परेको छ। दुईवटा चिम्पाञ्जीसहित नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले ६ जनालाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा दुई नेपाली, तीन भारतीय र एक पाकिस्तानी नागरिक छन्। नेपाली नागरिक सञ्जीव भारती र राजकुमार तिवारी, भारतीय नागरिक मोहम्मद उस्मान, मोहम्मद फएन र शरिफ सहिन तथा पाकिस्तानी नागरिक आवेद अस्लामा खान पक्राउ परेका हुन्। गिरोहका नाइके पाकिस्तानी नागरिक खान हुन्। नेपाल ट्रान्जिट, भारतमा तस्करी सो समूहले चिम्पाञ्जी तस्करीमा नेपाललाई ट्रान्जिटका रूपमा प्रयोग गरेको प्रहरीले जनाएको छ। ‘भारतमा लैजान चिम्पाञ्जी नेपाल ल्याइएको देखिन्छ,’ सिआइबीका प्रवक्ता एसपी जीवनकुमार श्रेष्ठले भने, ‘त्यसमा केही नेपालीले पनि सहयोग गरेका थिए।’ पक्राउ परेका तीनजना भारतीय चिम्पाञ्जी लिन नेपाल आएका थिए। पाकिस्तानी नागरिक पैसा लिनका लागि मंगलबार मात्र दुबईबाट नेपाल आएका थिए। हालसम्मको अनुसन्धानअनुसार पाकिस्तानी नागरिक नै नाइके भएको प्रहरी अधिकारीहरू बताउँछन्। नाइजेरियादेखि भारतसम्म चिम्पाञ्जी तस्करीको सबै प्रबन्ध उनले नै मिलाएका थिए। अनुसन्धानमा संलग्न प्रहरी अधिकारीका अनुसार सो चिम्पाञ्जी नाइजेरियामा रहेका भारतीयहरूले पठाएका हुन्। समूहका दुईजना भारतीय नाइजेरियामा पक्राउ परिसकेका छन्। पाकिस्तानी नागरिक खानले नै भारतीयलाई नाइजेरियामा सम्पर्क गरी तस्करीमा सघाएका हुन्। दुबईमा बस्ने खान विभिन्न किमिसका अवैध गतिविधिमा संलग्न व्यक्ति भएको हुन सक्ने प्रहरी आशंका छ।