झापा । निर्वाचन क्षेत्रमा भएको हेरफेर र दलहरूबीच बन्दै गरेको गठबन्धनले धेरै नेतालाई आउँदो चुनावमा टिकटविहीन बनाइदिएको छ । केही क्षेत्रमा त विगतमा टिकट लिनका लागि दौडमा सामेल हुने नेताहरू यसपटक त्याग्नका लागि प्रतिस्पर्धा गरेको अनौठो दृश्य पनि देखापरेको छ । झापामा कांग्रेस र एमालेबाट उम्मेदवार बनेर विगतका हरेक निर्वाचनमा जित्दै आएकाहरू नै यसटक चुनावी दौडबाट बाहिरिएका छन् । यही अवस्था माओवादी केन्द्रमा पनि छ । २०६४ को पहिलो संविधानसभा चुनाव जितेका धेरै अनुहारले यसपटक टिकट नपाउने निश्चित भएको छ । वाम गठन्धनका क्रममा माओवादी केन्द्रले झापामा दुई सिट दाबी गरिरहेको छ । तर, एमाले एक सिटमात्रै दिने दाउमा छ । यस्तोमा झापा ४ र २ मध्ये एउटा लिने माओवादी योजना छ । यदि २ नम्बर क्षेत्र पाए राम कार्की र ५ नम्बर पाए केन्द्रीय सदस्य झलकसिंह दर्लामीलाई उम्मेदवार बनाउने माओवादी योजना छ । यसपटकको चुनावमा कांग्रेस नेता कृष्णप्रसाद सिटौलाले प्रत्यक्ष भिडन्त नगर्नुपर्ने भएको छ । कांग्रेस राजनीतिमा प्रभावशाली मानिने सिटौलाले आफ्नो पुरानो निर्वाचन क्षेत्र झापा–३ राप्रपालाई छाड्ने निश्चितप्रायः भएको छ । कांग्रेस र राप्रपाबीच बनेको चुनावी गठबन्धनका क्रममा सिटौलाको पुरानो क्षेत्र राप्रपालाई दिने सहमति भएको ती दुवै दलका उच्च स्रोतको भनाइ छ । यो क्षेत्रबाट यसपटक कांग्रेसले राप्रपा महामन्त्री राजेन्द्र लिङदेनलाई समर्थन गर्दैछ । ‘प्रत्यक्षमा हामी लड्ने र सिटौला समानुपातिकतर्फ जाने सहमति भएको छ’, राप्रपा स्रोतले भन्यो । सिटौला निकट कांग्रेस सांसद सुधीर शिवाकोटीले भने सिटौला प्रत्यक्ष चुनाव लड्न तयार रहेको तर, ‘गठबन्धनका क्रममा हुने सहमति पालना’ हुने भन्दै घुमाउरो रूपमा सहमति भइसकेको संकेत गरेका छन् । २०४८ को आम निर्वाचनमा हारेर २०५० को उपनिर्वाचन जितेका सिटौलाले २०५१ को मध्यावधि निर्वाचनमा पराजय बेहोरेका थिए । त्यसपछि २०५६ मा जितेका उनी २०६४ को पहिलो संविधानसभा चुनावमा माओवादीसँग फेरि पराजित भए । २०७० को दोस्रो संविधानसभा चुनाव जितेका सिटौलालाई त्यसबेला राप्रपाका राजेन्द्र लिङदेनले कडा टक्कर दिएका थिए । यसपटकको स्थानीय चुनावमा सिटौलाको पकड क्षेत्रमा कांग्रेस नराम्ररी पराजित भएको छ । उनको आधार क्षेत्र भद्रपुरमा एमाले, केचनाकवल र हल्दिबारीमा राप्रपा विजेता बनेको थियो । अन्यत्र हारमात्रै हात परेका बेला वामपन्थी र कांग्रेस बाहुल्य झापाका तीन ठाउँमा पार्टीलाई स्थानीय चुनाव जिताएर प्रशंसित राप्रपा नेता लिङदेनका लागि राप्रपाले कांग्रेससँग उनकै क्षेत्रलाई गठबन्धनको बटमलाइन बनाएको थियो । ‘स्थानीय चुनावमा भएको हार, वाम गठबन्धन तथा विगतदेखि नै आफ्नो क्षेत्रमा केही नगरेको आरोपका बीच सिटौलाले समानुपातिकतर्फको सुरक्षित बाटो रोजेका हुन्,’ भद्रपुर कांग्रेसका एक नेताले भने । विगतका सबै चुनाव जित्दै आएका एमालेका तीनजना नेताहरू पनि यसपटक चुनावी दौडबाट बाहिरिएका छन् । पञ्चायतकालमै जनपक्षीय उम्मेदवार बनेर गौरादहको अध्यक्ष बनेका, २०४९ र ५४ को स्थानीय चुनाव जितेका र २०६४ मा जिल्लाभरिमा एकमात्र सिट एमालेले जित्दाका विजेता दीपक कार्की २०७० को संविधानसभा चुनावका पनि विजेता हुन् । तर, उनी यसपटक टिकटविहीन बनेका छन् । निर्वाचन क्षेत्रमा भएको अदलबदलले उनले चुनाव लड्दै आएको क्षेत्र पार्टी अध्यक्ष केपी ओलीकै क्षेत्रमा प¥यो । सात क्षेत्र भएको झापा पाँच क्षेत्रमा समेटिँदा कार्कीको झापा ६ ‘गायब’ भयो । ‘अध्यक्ष स्वयंले चुनाव लड्ने भएपछि उहाँ स्वाभाविक रूपमा दौडबाहिर रहनुभयो,’ एमाले कार्यकर्ता गोपाल सुवेदीले भने, ‘त्यसैले प्रतिनिधिसभा उम्मेदवारका लागि उहाँको नाम नै सिफारिस भएन ।’ २०५४ मा मेचीनगरको मेयर र २०७० मा कांग्रेस युवा नेता विश्वप्रकाश शर्मालाई हराएर संविधानसभामा विजेता बनेका झापा १ का रविन कोइराला पनि चुनावी दौडभन्दा बाहिरै रहे । उनको क्षेत्रबाट एमालेले गोपाल बुढाथोकीको नाम सिफारिस गरेको छ । स्थानीय चुनावमा मेचीनगरको प्रमुखमा एमालेका विष्णु प्रसाई हारेपछि कोइरालालाई ओली समूहले अन्तरघात गरेको आरोप लगाउँदै आएको छ । माधव नेपाल पक्षका कोइराला उम्मेदवार बने हराइदिने खुला घोषणा ओली पक्षका केही नेताले गरेकै कारण उनी पछि हटेको एमाले स्रोतले जनाएको छ । पहिला खुदुनाबारी गाविसको अध्यक्ष जितेर २०७० मा कांग्रेसका झापा सभापति उद्धव थापालाई फराकिलो अन्तरले हराएका एमालेकै प्रेम गिरीले पनि यसपटक टिकट नपाउने भएका छन् । हाल झापा २ मा परेको उनको क्षेत्रबाट पवित्रा खरेलको मात्रै नाम सिफारिस भएको छ । २०६४ को पहिलो संविधानसभा चुनावमा जिल्लामा कांग्रेसले एकमात्र क्षेत्रमा जित्दाका विजेता केशवकुमार बुढाथोकी पनि चुनाव नलड्ने निश्चितजस्तै छ । यसपटक साबिकको क्षेत्रभन्दा बाहिरबाट उनको नाम सिफारिस भएको छ । उनले चुनाव जित्दै आएको क्षेत्र ९हाल झापा ४० बाट कांग्रेसले देउकुमार थेवेको नाम सिफारिस गरेको छ । एमाले अध्यक्ष ओलीको क्षेत्रबाट नाम सिफारिस भएका उनी चुनाव नलड्ने बताइरहेका छन् । त्यस्तै झापा २ बाट पछिल्लो चुनाव जितेका सुधीर शिवाकोटीले पनि चुनाव लड्ने–नलड्ने टुंगो छैन । झापा २ वामपन्थीको बलियो किल्ला मानिँदै आएको छ । यसले सिफारिसमा परेका कांग्रेस उम्मेदवारहरू आफूभन्दा अर्कोलाई उठ्न आग्रह गरिरहेको पार्टी स्रोतले बताएको छ । शिवाकोटीले पनि आत्मविश्वासपूर्वक आफू उम्मेद्वार बन्ने बताएनन् । ‘हामीमध्ये जो बने पनि सघाएर जाने हो,’ उनले भने । तर, कांग्रेसभित्रैको बुझाइ भने बेग्लै छ । ‘पहिला टिकट लिन मरिहत्ते हुन्थ्यो, अहिले झापा २ मा कांग्रेसमा टिकट त्याग्न मरिहत्ते छ,’ कांग्रेस झापाका एक पदाधिकारीले भने । यहाँबाट शिवाकोटीसहित जिल्ला सभापति उद्धव थापा, हाल कृषिराज्यमन्त्री रहेकी सरिता प्रसाई र शिक्षाकर्मी राजेश खड्काको नाम सिफारिस भएको छ ।