काकडभिट्टा । निर्माण सम्पन्न भएको तीनवर्षपछि मेचीनगर—६ काँकडभिट्टास्थित देवकोटा पार्कमा रहेको महाकवि लक्ष्मीप्रसाद देवकोटाको पुर्णकदको सालिक अनावरण भएको छ । देवकोटा पार्क व्यवस्थापन समितिले विहीवार आयोजना गरेको महाकवि देवकोटाको १०९ औँ जन्मजयन्ती तथा सालिक अनावरण कार्यक्रमका प्रमुख अतिथी नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले सालिक वरिपरी राखिएको १ सय ९ वटा माटाको दियोमा बत्ती बालेर सालिक अनावरण गरेका हुन् ।

व्यवस्थापन समितिका अध्यक्ष रविन कोइरालाको सभापतित्व तथा कुलपति उप्रेतीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ सदस्य यज्ञराज प्रसाईले देवकोटाको व्यक्तित्व र कृतित्वका बारेमा प्रकाश पारेका थिए । बरिष्ठ साहित्यकार चुडामणि रेग्मी, मेचीनगर नगरपालिका प्रमुख विमल आचार्य, उपप्रमुख मिना पोखरेल उप्रेती, नेपाली काँग्रेसका केन्द्रीय सदस्य विश्वप्रकाश शर्मा, एमालेका झापा जिल्ला सचिवालय सदस्य गोपालचन्द्र बुडाथोकी, माओवादी केन्द्रका बोधराज दाहाललगायतले आ – आफ्नो विचार राखेका थिए । देवकोटाको १०४ औँ जन्मजयन्तीको अवसरमा साहित्यकार मोदनाथ प्रश्रितले सालिक निर्माणको शिलान्यास गरेका थिए । महाकवि देवकोटा चिल्ड्रेन पार्क निर्माण तथा उपभोक्ता समितिका अध्यक्ष साहित्यकार पुण्यप्रसाद खरेलले सञ्चालन गरेको कार्यक्रममा व्यवस्थापन समितिका उपाध्यक्ष भवानी केरुङले स्वागत गरेका थिए । कार्यक्रममा विभिन्न स्रष्टाहरुले रचना समेत सुनाएका थिए । कार्यक्रममा झापा, मोरङ, सुनसरी, इलाम तथा छिमेकी भारतको सिलिगुडी, दार्जिलिङ, खर्साङ, सिक्किमलगायतका स्रष्टाको समेत उपस्थिती रहेको थियो ।