झापा । झापाको कनकाई नगरपालिका(२, सुकेडाँगीमा लगाइएको धान खेती फौजी किराले सखाव पारेपछि कृषक चिन्तित बनेका छन् ।

करिब एक सातादेखि धान बालीमा फौजी किरा लागेर धानको बाला नष्ट गर्न थालेपछि उनीहरु चिन्तित भएका हुन् ।

‘धेरै किरा एकैपटक धानको टुप्पोमा बस्ने गरेका छन्’, कृषक लक्ष्मी राई भन्छन्, ‘बालाको पनि केस्रा(केस्रा चुडाइदिएर सबै धान भुइँमा झार्ने गर्छ ।’

उनका अनुसार फौजी किरा बेलुकीको समयमा लाग्ने गरेको छ ।

‘दिउँसो धानको फेदमा बसेको हुन्छ’, उनले भने, ‘राति चाहिँ टुप्पोमा बसेर धान चुडाइदिन्छ ।’

अर्की कृषक निर्मला कोइरालाको ४ कठ्ठा धान खेती फौजी किराले नष्ट गरेको छ । ‘पहिले त थाहै पाइएन’, उनले भनिन्, ‘काट्ने वेलामा हेर्दा पो सबै धान भुइँमा छन् ।’

सुकेडाँगी सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष गंगाराम ढुंगेल यसअघि २०३८ सालमा यस्तै किरा लागेर धान बाली नष्ट गरेको सुनाउँछन् ।

‘यहाँका ज्येष्ठ नागरिकहरुले त्यस बारे हामीलाई सुनाउनु भएको थियो’, उनले भने, ‘अहिले आफैंले यो किरा देखियो ।’

कनकाई नगरपालिकाका मेयर राजेन्द्र पोखरेलले जिल्ला कृषि विकास कार्यालयसँग समन्वय गरेर फौजी किराबिरुद्ध विषादी हाल्ने काम सुरु गरिएको बताए ।

‘किराले धानको सानो(सानो केस्रा चुडाइदिएर उठाउन पनि नमिल्ने गरी भुइँमा झारिदिएको छ’, उनले भने, ‘विषादी हालेको ठाउँमा केही नियन्त्रण भएको छ ।’

फौजी किराले यस क्षेत्रको १५ बिगा धान बालीमा सङ्क्रमण गरेको छ । यो किराको प्रकोपले यस वर्ष धान उत्पादन घट्ने अनुमान गरिएको छ ।