काठमाडौं । वाम एकता भन्दै मंसिरमा हुने प्रतिनिधि र प्रदेशसभामा चुनावी तालमेलको निर्णय गरेका एमाले र माओवादी केन्द्रले प्रदेश सभाका लागि ३२ जिल्लाका ७४ सिटको बाँडफाँड टुंगो लगाएका छन् । बाँडफाँडमा सहमति भए अनुसार मंसिर १० मा हुने प्रदेश र प्रतिनिधिसभाको पहिलो चरणको चुनावका लागि ३२ जिल्लाका ७४ सिटमध्ये एमालेले ४१ र माओवादीले ३३ सिट पाएका छन्।

प्रतिनिधिसभाको सिट बाँडफाँडमा सबै जिल्लामा प्रतिनिधित्व हुनेगरी गरिएको छ । वाम एकताको पहलमा जुटेका एमाले र माओवादी मंसिर १० र २१ मा हुने प्रदेश र प्रतिनिधि सभा निर्वाचनमा गठबन्धनका साथ चुनावी मैदानमा जाने चर्चा अब निश्चित भएको छ । दुई दलले बनाएको कार्यदलले मंसिर १० गते पहिलो चरणमा ३२ जिल्लामा हुने निर्वाचनका लागि प्रदेशसभाको सिट बाँडफाँड टुंगो लगाएको हो ।

एमालेले प्रदेश सभामा ताप्लेजुङ (क), पाँचथर (क), संखुवासभा (ख), भोजपुर (क र ख), सोलुखुम्बु (क र ख), ओखलढुंगा (क), खोटाङ (क), दोलखा (ख), रामेछाप (क र ख) रसुवा (क), सिन्धुपाल्चोक(१ (ख) र सिन्धुपाल्चोक(२ (ख) , नुवाकोट(२ (क), लम्जुङ (क र ख), धादिङ(१ (क), धादिङ(२ (क), मनाङ (क र ख), म्याग्दी (ख), गोरखा(१ (ख) बाग्लुङ(१ (ख), बाग्लुङ(२ (ख), डोल्पा (क), जुम्ला (ख), कालिकोट (क), जाजरकोट (क र ख) बझाङ (क), बाजुरा (क र ख), बैतडी (ख) र दार्चुला (क) पनि एमालेको भागमा परेको छ।

माओवादी केन्द्र ताप्लेजुङ (ख), पाँचथर (ख), संखुवासभा (क), ओखलढुंगा (ख), खोटाङ (ख), दोलखा (ख), रसुवा (ख), सिन्धुपाल्चोक( १ (क), २ (क), नुवाकोट(१ (क), धादिङ(१ (ख), गोरखा(१ (क), गोरखा(२ (क) र (ख), बाग्लुङ(१ (ख), बाग्लुङ( २ (ख), म्याग्दी (क) र रोल्पा (क र ख) लिएको छ । यस्तै, रुकुम पूर्व (क र ख), जुम्ला (क), कालिकोट (ख) हुम्ला (क र ख), रुकुम पश्चिम (क र ख), डोल्पा (ख), बझाङ (ख), बैतडी (क) र दार्चुला (ख) पनि माओवादी केन्द्रको भागमा परेको छ।