चितवन । चितवनको भरतपुरमा रहेको मानवसेवा आश्रममा आश्रित मनोरोगी तथा असहायहरुका लागि विविदेशममा बस्ने नेपालीहरुबाट ६ लाख रुपैयाँ सहयोग प्राप्त भएको छ। गैर आवासीय नेपाली संघ (एनआरएनए) रसियाद्वारा मानवसेवा आश्रमको सेवा कार्यका लागि ६ लाख सहयोग प्राप्त भएको आश्रमकी चितवन संयोजक रुपा केसीले जानकारी दिइन्। एनआरएनएका निवर्तमान अध्यक्ष तथा रसियाका प्रमुख संरक्षक जीवा लामिछानेको सभागितामा एनआरएनए रसियाका संरक्षक टेकराज निरौला र कोषाध्यक्ष गोबिन्दप्रसाद आचार्य तथा सल्लाहकार खेमराज लामिछानेले उक्त रकम आश्रम मै पुगेर हस्तान्तरण गरेका हुन्। सडकमा रहेका असहाय तथा मनोरोगीहरुलाई उठाएर आवश्यक उपचार र मनोविमर्श सेवापछि पुन परिवारमा फर्काउने आश्रमको कार्यबाट आफूहरु प्रभावित भएको भन्दै गैर आवासीय नेपाली संघ (एनआएनए) का निवर्तमान अध्यक्ष जीवा लामिछानेले आगामी दिनमा आफ्नोतर्फबाट पनि सहयोग गर्ने प्रतिबद्धता जनाए। सहयोगी टेकराज निरौलाले आफ्नो संस्थाले आश्रमको पवित्र कार्यमा सहयोग गर्न पाउँदा खुसी लागेको भन्दै सहयोग जारी राख्ने बताए। आश्रमले अहिले चितवनमा सडकबाट कष्टकरजीवन गुजार्दै आएका तथा मनोरोगीहरु गरी ५० जनालाई उद्धार गरी पालन पोषण तथा मनोविमर्श सेवा दिएर राखेको छ। प्राप्त रकम आश्रमको भवन निर्माणमा खर्च गरिने जनाइएको छ। हाल भरतपुरको बाइपासरोडमा रहेको आश्रम भाडामा सञ्चालन हुँदै आएको छ। नारायणगढका एक व्यवसायीले जग्गा दिएकाले अब भवन निर्माणको काम सुरु हुने आश्रमले जनाएको छ। कतिपयलाई निको बनाई परिवार पत्ता लगाएर पुनर्स्थापनसमेत गरिरहेको आश्रमका अध्यक्ष रामजी अधिकारीले बताए। चितवनसहित हेटौंडा, काठमाडौं, गोरखा, लमजुङ, पर्सा, ललितपुर, बाग्लुङमा कार्यालय खोलेर आश्रमले सडकमा बेबारिसे तथा कष्टकर जीवन गुजार्दै आएकाहरुलाई उद्धार गर्दै आएको छ। यो अभियान देशव्यापी बनाउने योजना आश्रमको रहेको छ। हाल उद्धार गरिएका ३२२ जना असहायहरुले ती कार्यालयहरुमा सेवा पाइरहेका छन्। देशविदेशमा रहेका नेपालीहरुको सहयोगमा आश्रमले उनीहरुको पालनपोषण तथा उपचार गर्दै आएको छ। २०६९ सालमा सेवा सुरु गरेको आश्रमले अहिलेसम्म सडकबाट उद्धार भएका २०० जनालाई परिवारमा पुनर्स्थापित गरिसकेको छ। वि.सं. २०८२ सालसम्म नेपाललाई सडक मानवमुक्त देश बनाउने योजना आश्रमको रहेको अध्यक्ष अधिकारी बताउँछन्।