३२ जिल्लाका ३७ निर्वाचन क्षेत्रमा हुँदैछ उम्मेदवारी दर्ता

ब्लाष्ट खबर


काठमाडौं । आगामी मंसिर १० गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि कात्तिक ५ गते आइतबार उम्मेदवारी मनोनयन पत्र दर्ता गर्ने कार्यक्रम हुँदैछ छ। पहिलो चरणमा ३२ जिल्लामा प्रतिनिधि सभा सदस्यतर्फ ३७ निर्वाचन क्षेत्र र प्रदेश सभातर्फ ७४ वटा निर्वाचन क्षेत्रमा हुने निर्वाचनका लागि कात्तिक ५ गते उम्मेदवारको मनोनयन दर्ता गर्ने कार्यक्रम हुँदैरहेको निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिए। पहिलो चरणमा निर्वाचन हुने सोलुखुम्बु, संखुवासभा, भोजपुर, ओलखढुङगा, ताप्लेजुङ, पाँचथर, खोटाङ, नुवाकोट, रसुवा, धादिङ, सिन्धुपाल्चोक, दोलखा, रामेछाप, मुस्ताङ, म्याग्दी, बाग्लुङ, मनाङ, लमजुङ, गोरखा, पूर्वी रुकुम, रोल्पा, पश्चिम रुकुम, जाजरकोट, हुम्ला, मुगु, जुम्ला, कालिकोट, डोल्पा, दार्चुला, बझाङ, बाजुरा र वैतडी जिल्लामा उम्मेदवारी मनोनयन हुँदैछ। उक्त मनोनयन दर्ता कार्यक्रम बिहान १० देखि अपराह्न ५ बजेम्म चल्नेछ। उम्मेदवार हुन चाहनेले जिल्ला सदरमुकाममा खोलिएका मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतको कार्यालयमा गई मनोनयनपत्र दर्ता गराउनु पर्नेछ। प्रतिनिधि सभातर्फ पहिलो हुने निर्वाचन हुने प्रणालीतर्फ मनोनयन दर्ता गर्दा वा गराउँदा एक जनाले प्रस्ताव र अर्को एक जनाले समर्थन गरी सहीछाप गरेको हुनुपर्ने तथा त्यस्तो प्रस्तावक र समर्थक सोही निर्वाचन क्षेत्रअन्तर्गतको गाउँपालिका वा नगरपालिकाको वडा सदस्यको मतदाता नामावलीमा नाम समावेश भएको निस्सा समेत मनोनयन पत्रमा संलग्न गराउन पर्ने कानुनी व्यवस्था रहेको छ। समानुपातिक निर्वाचन प्रणालीको बन्दसूचीमा नाम समावेश भएका व्यक्तिले प्रत्यक्ष निर्वाचनतर्फ उम्मेदवारी दिन पाउने छैनन्। त्यस्तै, प्रदेश सभा सदस्यतर्फ पहिलो हुने निर्वा्चित हुने निर्वाचन प्रणालीतर्फका उम्मेदवारले भने मनोनयनपत्रका साथ नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, धरौटी जम्मा गरेको रसिद र प्रदेशभित्रको गाउँपालिका वा नगरपालिकाको मतदाता नामावलीमा नाम समावेश भएको निस्सा तथा दलको उम्मेदवारको हकमा दलको औपचारिकपत्रसमेत समावेश गर्नुपर्ने व्यवस्था छ। पहिलो चरणको निर्वाचनमा ३२ लाख २८ हजार ८७९ मतदाताले मताधिकारको प्रयोग गर्नेछन्। पहिलो चरणका लागि आवश्यक पर्ने मतदाता नामावली छपाइ गरी सम्बन्धित जिल्लामा पठाइसकिएको निर्वाचन आयोगले जनाएको छ। पहिलो चरणको निर्वाचनको लागि चार हजार ४६५ मतदान स्थल र दुई हजार ९४६ मतदान केन्द्र कायम गरिएको छ। नेपालको राजनीतिक इतिहासमा प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि दुईवटा निर्वाचन एकै पटक हुन लागेको यो पहिलोपटक हो।