काठमाडौं । पूर्व राजा ज्ञानेन्द्र शाहले अब आफूले नेतृत्व लिने समय आएजस्तो लागेको बताएका छन्। शनिबार कमलादीस्थित दिदी शोभा शाहीको हातबाट भाइटीका लगाएपछि पत्रकारहरुसँग संक्षिप्त कुरा गर्दै उनले सबै जनताको इच्छा भएमा आफू नेतृत्व लिन तयार रहेको बताएका हुन्। ’नेतृत्व नभएको जस्तो देखिएको छ। त्यसैले अब समय आएजस्तो लाग्छ मलाई, जिम्मेवारी लिन र नेतृत्व दिन म तयार छु तर सबै जनताको इच्छा हुनुपर्छ’ उनले भने ’यो कुरा गर्दा फेरि सक्रिय भए भन्ने लाग्ला तर सक्रिय र नसक्रिय भन्ने कुरा होइन देशको परिस्थितिले मागेको समय मलाइ आएकोजस्तो लाग्छ।’ संविधानलाई कसरी लिनुभएको छ भन्ने सञ्चारकर्मीको प्रश्नमा, ’मैले बुझेको सबैलाई मान्य भएको छैन त्यसैले त्यो दस्तावेजलाई कसरी सबैले मान्ने’ भन्दै उनी बाहिरिएका थिए। पूर्वराजा ज्ञानेन्द्रको भनाइ जस्ताको त्यस्तै एउटा जिम्मेवार नागरिकको हैसियतले मलाइ चिन्ता र चासो हुनु स्वभाविक हो। ऐले परिस्थिति कस्तो छ भने दुबोको मालाको, गोदावारी फूलको मालाको, मखमली फूलको मालाको महत्व नबुझ्ने तर कागजको फूलको सुवास खोज्ने। त्यो परिस्थितिमा हामी हिँडिराखेको जस्तो लाग्छ। नेतृत्व नभएको जस्तो देखिएको छ। त्यसैले अब समय आएजस्तो लाग्छ मलाइ जिम्मेवारी लिनु र नेतृत्व दिन म तयार छु तर सबै जनताको इच्छा हुनुपर्छ। यो कुरा गर्दा फेरि सक्रिय भए भन्ने लाग्ला तर सक्रिय र नसक्रिय भन्ने कुरा होइन देशको परिस्थितिले मागेको समय मलाई आएको जस्तो लाग्छ। फेरि म दोहोर्‍याउन चाहन्छु सबैले त्यो चाहेमा गर्नुपर्छ। आजको दिनमा परिवारसँग बस्ने दिन हो, परिवारसँग रमाएर बस्ने दिन हो, सुरक्षितसाथ बस्नुस, जिम्मेवार सबै दाजुभाइले मैले भनेको कुरामा पनि ध्यान दिनोस् भन्ने कुरामा म आग्रह गर्छु।