एजेन्सी/ हलिउडकी चर्चित गायिका सेलेना गोमेज मिर्गौला प्रत्यारोपणपछि आराम गरिरहेकी छन् । पछिल्लो समय गायनको दुनियाँबाट पर रहेकी उनले प्रत्यारोपणपछि पहिलो पटक अन्तर्वार्ता दिएकी छन्। अन्तर्वार्ताका क्रममा उनले प्रत्यारोपण गरिएको मिर्गौलाले राम्रो काम गरिरहेको र आफू एकदम स्वस्थ रहेको बताएकी छन्। सेलेनाले यसै वर्षको गर्मीयाममा मिर्गौला प्रत्यारोपण गराएकी थिइन् । उनलाई फ्रान्सिया राइसा नाम गरेकी उनकै साथीले मिर्गौला दिएकी थिइन् । शल्यक्रियापछि सेलेनाले मिर्गौलादाता साथीसँग हात समातेर खिचाएको फोटो सेप्टेम्बर १४ मा इन्स्टाग्राममा पोस्ट गरेकी थिइन्। ती साथीबारे कुरा गर्दै उनले आफ्नो जीवन बचाउने श्रेय साथीलाई दिएकी छन् । २५ वर्षीया सेलेना सन् २०१५ देखि 'लुपस' नामक रोगका कारण थलिएकी थिइन्। आफ्नो रोगबारे कुरा गर्दै उनले भनेकी छन्, 'यो जीवन मृत्यु जस्तै थियो।'