नायक नाजीर हुसैन र नायिका केकी अधिकारी अभिनीत रोमान्टिक ड्रामा फिल्म ‘राज्जा रानी’को प्रदर्शन मिति फेरबदल भएको छ । पूर्वनिर्धारित मितिबाट एक साता अगाडि अर्थात्, पुष २१ गतेबाट अब फिल्म देशव्यापी प्रदर्शन हुनेछ । आर्यन फिल्म प्रोडक्सनको ब्यानरमा निर्मित तथा याम थापा निर्देशित यो फिल्मको नयाँ प्रदर्शन मितिसँगै रोमान्टिक गीत पनि सार्वजनिक गरिएको छ ।

दीपक शर्माद्वारा संगीतबद्ध ‘चिपक चिपक’ बोलको गीतमा केकी र नाजीर फिचर छन् । नेपालगञ्जको पठारमा छायांकन गरिएको यो रोमान्टिक नम्बरमा नरहरि प्रेमी र सुमिना लोको स्वर समावेश छ । राजेन्द्र थापाले गीत लेखेका हुन् । विक्रम स्वाँरको कोरियोग्राफीमा केकी र नाजीरको केमेष्ट्री गज्जबको लाग्छ ।

प्रेमकथामा आधारित फिल्मलाई रमेश एमके पौडेलले निर्माण गरेका हुन् । फिल्ममा केकी र नाजीरका अलावा कामेश्वर चौरासिया, लक्ष्मी बर्देवा, संगीता नापित, अरुण रेग्मी, दीपक क्षेत्री, विनोद निरौला, अनोज पाण्डे, अशोक आचार्य, अनुज थापा लगायतका कलाकारहरुको पनि अभिनय छ ।

निर्देशक एवं पटकथा लेखक थापाले पहिलोपटक मधेशी कन्टेन्टमा फिल्म निर्देशन गरेका छन् । नेपालगञ्ज जन्मथलो भएकाले पनि उनलाई फिल्मको चरित्र चित्रणमा सजिलो हुने आशा छ । फिल्ममा ताराप्रकाश लिम्बु र दीपक शर्माको संगीत, पुरुषोत्तम प्रधानको छायांकन, कविराज गहतराजको नृत्य निर्देशन रहेको छ ।

[embed]https://youtu.be/5jo8NdvKdeI[/embed]