माघ ४ गतेलाई प्रदर्शन मिति घोषणा गरिएको एक्सन स्टार निखिल उप्रेती स्टारर फिल्म ‘पिंजडा व्याक अगेन’को दोस्रो रोमान्टिक गीत रिलिज भएको छ । आइतवार राजधानीमा एक कार्यक्रमका विच फिल्ममा समावेश ‘तिमी नि आधा, म पनि आधा’ बोलको गीत सार्वजनिक गरिएको हो ।

मुक्त उदासको शब्द र संगीतकार अर्जुन पोखरेलको संगीतमा तयार भएको गीतमा संगीतकार अर्जुनलाई गायिका अञ्जु पन्तले गायनमा साथ दिएकी छिन् । फिल्मको यो गीतको भिडियोमा नायक निखिल उप्रेती र नायिका सारा सिर्पाली छमछम नाचेका छन् । रामजी लामिछानेको कोरियोग्राफी रहेको भिडियोमा निखिल र सारा आफूलाई एकअर्काविना अधुरो र अपुरो ठान्छन् । यो जोडी यसअघि फिल्म 'रुद्र'मा देखिएकोे थियो ।

निखिलको डेब्यू फिल्म 'पिंजडा'को नेम सिक्वेल हो ‘पिंजडा व्याक अगेन’ । द्वन्द्व निर्देशक हिमाल केसी निर्देशित यो फिल्मबाट निखिल आशावादी रहेको बताउँछन् । यस्तै, नायिका साराले ‘पिंजडा व्याक अगेन’ आफ्नो ड्रिम प्रोजेक्ट रहेको बताइन् । उनी भन्छिन्, ‘निखिल उप्रेतीसँग काम गर्न पाउनु नै मेरो सौभाग्य हो । हामीले राम्रो काम निकाल्ने प्रयास गरेका छौ । आशा छ ‘पिंजडा व्याक अगेन’ले दर्शकलाई मनोरञ्जन दिनेछ ।’

यो फिल्मको कथा मौनता श्रेष्ठले लेखेका हुन् । फिल्ममा निखिल र साराका अलावा सुस्मिता केसी, पुकार भट्टराई, ज्याक श्रेष्ठ लगायतका कलाकारहरुको अभिनय रहेको छ । यो फिल्मलाई ओम शाही भक्त मुभिज र ओम साइ मौलाकालिका पिक्चर्सले संयुक्त रुपमा निर्माण गरेको हो ।

सुशान्त श्रेष्ठ र बसन्त शर्मा कार्यकारी निर्माता रहेको फिल्मका प्रस्तुतकर्ता श्रीराम बराल हुन् । सौरभ लामाले खिचेको फिल्ममा रोहित पुरी, गोविन्द गैरे र चन्द्र बहादुर क्षेत्रीको लगानी छ ।

[embed]https://youtu.be/ojBftwlAxq8[/embed]