धरान/सडक सञ्जालको नमुना धरानमा अझै पनि २ घण्टा पैदल हिडेर स्कुल धाउँछन् भन्दा पत्यार नलाग्ला ? तर, धरान–४ शिवजट्टाका सौगात राई त्यसका ज्वलन्त उदाहरण हुन् । [caption id="attachment_60414" align="alignnone" width="939"]School-shibajatta-dharan स्कुल विदा भएर घरतर्फ लाग्दै शिवजट्टा, भर्लेनी तथा गैरीगाउँका विद्यार्थीहरु । तस्बिरः ब्लाष्ट/भोजराज श्रेष्ठ[/caption] धरान–१३ को पब्लिक मावि फुस्रे आइपुग्न उनलाई दुईघण्टा लाग्छ । शिवजट्टामा करिव २५ घरधुरी छ । भर्लेनीमा २२ घरधुरी र गैरीगाउँमा ३२ घरधुरी । हरेक घरबाट एकदेखि तीनजनासम्म स्कुल पढ्ने छन् । छेउछाउ स्कुल छैन् । दैनिक दुईघण्टा हिड्नु सौगात जस्तै अन्य विद्यार्थीहरुको बाध्यता हो । ‘नगई सुखै छैन ।’ फुस्रे पब्लिकबाटै एसएलसी सिध्याएका गंगाप्रसाद राई भन्छन्, ‘एउटा घरबाट एकजनादेखि तीनजनासम्म पढ्छन् ।’ भर्लेनीबाट ढेड घण्टा र गैरीगाउँबाट एकघण्टा फुस्रे आउन लाग्छ । अन्यत्र भन्दा शिवजट्टाका विद्यार्थीहरुलाई बर्खायाममा सबैभन्दा जोखिमपूर्ण हुने गरेको छ । अस्थायी काठे पुल छ । त्यसको भर छैन । ‘हिउँदमा त ठिकै छ । बर्खामा दुःख हुन्छ । खोला बाढी पहिरोहरु जान्छ । पुलहरु छैन ।’ शिवजट्टाका अभिभावक अमर राई भन्छन्, ‘यहाँदेखि आठबजे हिड्नुपर्छ । छोटो दिन छ । बेलुका अवेला आउँछ ।’ सौगात बिहान ८ बजे हिड्दा स्कुलको घण्टी लाग्दा नलाग्दा कक्षा प्रवेश गर्छन् । ९ कक्षा पढ्दै गरेका सौगात भन्छन्, ‘दुइघण्टा लाग्छ । आठ बजे नै जान्छु । बेलुका कहिलेकाही साढे ५ कहिलेकाही ६ बजे आइपुग्छु ।’ त्यो आसपास गैरीगाउँ (त्यहाँबाट एकघण्टा तल) प्राथमिक स्कुल छ । त्यो पनि भरपर्दो छैन् । गैरीगाउँबासी मिलेर निर्माण गरेका । कक्षाकोठा धेरै छैनन् । त्यसैले धेरै विद्यार्थीहरुको रोजाई फुस्रे पब्लिक हुन्छ । ३ कक्षामा पढ्ने गैरीगाउका मनोज राई पनि एकघण्टा पैदल हिडेर फुस्रे स्कुल पुग्छन् । बालकक्षादेखि नै फुस्रे स्कुल गएकाले उनी गैरीगाउँको प्राथमिक स्कुलमा पढ्दैनन । आउँदा–जाँदा दुईघण्टा खर्चिन्छन् । शिवजट्टा, गैरीगाउँलाई धरानको सुगमताले छुदैन । चिल्ला पिचहरु छैनन् । छ त, केवल साघुँरो सडक सञ्जाल छ । साघुँरो सडकमा दुःखले टेम्पोहरु पुग्छन् । ‘जोखिम मोलेर ल्याउनुपर्छ । साघुँरो त छदै छ, उवडखावड पनि उत्तिकै छ ।’ पाँचौ पल्ट शिवजट्टा नजिक पुगेका ट्याम्पू चालक रोमश बस्नेतको अनुभव छ । त्यहाँ स्कुल बसहरु कल्पना बाहिर छन् । अझ सामुदायिक स्कुल पढ्ने विद्यार्थीहरुलाई त्यो सुविधा उसै पनि मिल्दैन । पब्लिक मावि फुस्रेमा प्लस टुसम्म त्यस क्षेत्रका ६० विद्यार्थीहरु पढ्छन् । नगरले हालै जननिर्वाचित सरकार पाएको छ । तर, अहिलेसम्म ‘शिवजट्टाको भुगोल’ मा निर्वाचित प्रतिनिधिहरु पुगेका छैनन् । नमुना सडक, विकासको मूल फुटाउने घोषणा पत्र कोरेका जनप्रतिनिधिहरुलाई शिवजट्टाको साघुँरो सडकले सदैव ‘कुरी–कुरी’ गरिरहेको छ । धुलो छिचोल्दै दुईघण्टा पैदल हिडेर पढ्न आउने सौगात र मनोजजस्ता विद्यार्थीहरुका कलेटी परेका खुट्टाहरुले झनै चूनौति दिइरहेको छ । शिक्षा, स्वास्थ्य, विकास, सहरिकरण सबैसवैमा हेपिएको छ शिवजट्टा र गैरीगाउँ । धरान उपमहानगरको ‘ट्याग’ लागेर पनि सहर हुनबाट अझै बन्चित छ । ‘पहिला पाँचकन्या थियो । धरान–२२ बनायो । त्यहाँदेखि अहिले ४ बनायो । सुविधा त केही छैन् ।’ शिवलक्ष्मी राई बताउँछिन्, ‘कर चाही बढी लिन्छ ।’ धरान प्रथम नगर सभाले कुल बजेटको करिव ९० प्रतिशत बजेट विकास निर्माणमा (पूँजीगत खर्च) मा विनियोजन गरेको छ अर्थात् १ अर्व ३९ करोड ६५ लाख ७५ हजार ५ सय पूँजीगत खर्च गर्ने भनेर छुट्याएको छ । यो रकम मध्ये कति प्रतिशत शिवजट्टाको त्यो साघुँरो सडकले प्राप्त गर्ला त्यो अहिल्यै भन्न सकिने अवस्था छैन । के सौगात र मनोज जस्ता भावी पीढिहरुले शिक्षा, स्वास्थ्य, विकास र सहरिकरणको यही कालमा अनुभव गर्न पाउलान ? हाम्रो प्रश्न छ जनप्रतिनिधिहरुलाई ।