राजविराज/ वैदेशिक रोजगारीका क्रममा मलेसिया गएका सप्तरी निवासी एक नेपालीको सुतेकै अवस्थामा मृत्यु भएको छ । तिलाठी कोइलाडी गाउँपालिका–१ का अन्जनीकुमार चौधरीको सोमबार राति सुतैको ठाउँमा मृत्यु भएको चौधरीका परिवारका सदस्यले बताएका छन् ।

काम सकेर राती खाना खाई सुतेका उनलाई साथीहरुले उठाउन जाँदा मृत फेला परेको सँगै काम गर्ने साथीहरूको भनाई उदृत गर्दै उनका भान्जा पर्ने बिटुकुमार मिश्रले जानकारी दिए । वैदेशिक रोजगारीका क्रममा २०७२ सालमा मलेसियाको मेनारा केकल कम्पनीमा काम गर्न गएका उनी हाल लाइनोक्राफ्ट प्रिण्टिङ्ग प्याकेजिङ्गमा कार्यरत थिए ।

योसँगै वैदेशिक रोजगारीका क्रममा जानथाले देखि सप्तरीबाट विदेशमा ज्यान गुमाएका युवाको संख्या २९ पुगेको बताइएको छ । मलेसियाबाट उनको शव चाँडो मगाउन उनका भान्जा मिश्रले मंगलबार ‘शव नेपाल झिकाई पाउँ’ भनी वैदेशिक रोजगार प्रवर्द्धन वोर्डको सचिवालय नयाँ बानेश्वर र कन्सुलर सेवा समिति त्रिपुरेश्वर काठमाडौंमा निवेदन दिएका छन् । शोकाकुल परिवारको तर्फबाट मिश्रले आफ्ना मामाको शव चाँडो ल्याउनका लागि पहल गरिदिन सम्वद्ध पक्षसँग आग्रह गरेका छन् ।

पछिल्लो समय सुतेकै अवस्थामा मृत्यु हुने नेपालीहरूको संख्या बढ्दो छ । दोस्रो गन्तव्य मुलुक रहेको मलेसियामा वर्षेनी चार सय नेपालीको मृत्यु हुने गरेको छ । करिब सात लाख नेपाली कार्यरत मलेसियामा सन् २०१४ मा ३६१, २०१५ मा ४२५, २०१६ मा ३९२ र यो वर्ष हालसम्म दुई सयभन्दा बढी नेपालीको मृत्यु भएको राजदुतावासको आँकडामा देखिन्छ ।

अन्नपुर्णपाेष्ट