लस एन्जेलस (रासस/सिन्ह्वा)/क्यालिफोनियाको रन्चो तेहामा नामक एक प्राथमिक विद्यालयनजिकै मङ्गलबार भएको आत्मघाती प्रहारका कारण पाँच व्यक्तिको मृत्यु भएको छ । एक बन्दुकधारीले गरेको जथाभावी गोलाबारीमा परी ती व्यक्तिहरुको मृत्यु भएको बताइएको छ । स्थानीय एक टेलिभिजनका अनुसार विद्यालयको नजिकै अचानक ती व्यक्तिले गोली प्रहार गर्न शुरु गरेका थिए । यद्यपि यस घटनाका आक्रमणकारी प्रहरीको कारबाहीमा मारिएका छन् । स्थानीय समयानुसार मङ्गलबार बिहान ८ बजे भएको यस घटनामा पाँच व्यक्तिको मृत्यु हुनुका साथै अन्य १० घाइते भएका थिए । घाइते हुनेमा दुई जना बालबालिकासमेत रहेको जनाइएको छ । यस आक्रमणमा मारिएका व्यक्तिमा बालबालिका भने नरहेका जनाइएको छ । प्रान्तीय राजधानी सक्रामेन्टोबाट करिब १९४ किलोमिटर टाढा रहेको ग्रामीण क्षेत्रमा सो घटना भएको थियो । विद्यालयनजिकै भएको यस हत्याको आवाजको प्रहरीले सुनेपछि तत्काल त्यस स्थानमा पुगेको बताइएको छ । सक्रामेन्टो बी समाचारपत्रका अनुसार आक्रमणकारी ४३ वर्षका रहेका थिए ।