विवादित फिल्म पद्मावती रिलिज भएमा त्यसकी अभिनेत्री दीपिका पादुकोणको नाक काटिदिने भनी करणी सेनाले धम्की दिएको छ । उता पद्मावती फिल्मको विरोध भइरहेको देखेर उत्तर प्रदेशको गृह मन्त्रालयले इन्फर्मेसन एन्ड ब्रोडकास्टिङ मन्त्रालयलाई पत्र पठाएको छ । राज्यमा नगर चुनाव भइरहेकाले फिल्म रिलिज गर्दा अव्यवस्था फैलिने सम्भावना उसले औंल्याएको छ । मुम्बईमा निर्देशक सञ्जय लीला भन्सालीको कार्यालय र र घरमा प्रहरीले सुरक्षा दिइरहेको छ । भन्सालीका लागि सशस्त्र गार्डको पनि व्यवस्था गरिएको छ । करणी सेनाका महिपाल मकरानाले भने, ‘हामी राजपूतहरू कहिले पनि महिलामाथि हात उठाउँदैनौं तर आवश्यकता आइलाग्यो भने लक्ष्मणले शूर्पणखालाई जे गरेका थिए हामी पनि दीपिकालाई त्यही गरिदिन्छौं ।’ रामायणमा लक्ष्मणले शूर्पणखाको नाक काटिदिएका थिए । यसैबीच करणी सेनाले फिल्मको विरोधमा डिसेम्बर १ मा भारत बन्दको घोषणा गरेको छ । राजस्थानमा करणी सेना, भाजपा नेताहरू तथा हिन्दूवादी संगठनहरूले फिल्मले इतिहासलाई गलत ढंगले प्रस्तुत गरेको आरोप लगाएका छन् । करणी सेनाका अनुसार, फिल्ममा पद्मिनी र खिलजीका बीचको इन्टिमेट दृश्यहरू छायांकन गरेर उनीहरूको भावनामा ठेस पु–याइएको छ । फिल्म रिलिज गर्नुपूर्व आफूहरूलाई देखाइनुपर्ने उनीहरूको माग छ । तनाव घटाउनका लागि यसो गर्नु ठीक हुने उनीहरू बताउँछन् ।राजस्थानका राजघराना पनि फिल्मको विरोध गर्न थालेका छन् । एजेन्सी