शनिश्चरे/सामुदायिक विद्यालयहरु आर्थिक संकटमा परिरहेको अवस्थामा मोरङको पथरीशनिश्चरे–६ केचनास्थित दुर्गा आधारभुत विद्यालयलले देउसी खेलेर शिक्षकलाई तलव प्रदान गरेको छ ।

विद्यालयले २०७४ सालको तिहारमा देउसी खेलेर नगद र जिन्सी गरी १ लाख ७९ हजार ३ सय २६ रुपैयाँ संकलन गरेको विहीवार त्यहाँ आयोजित कार्यक्रममा जानकारी गराएको छ । त्यसमा खर्च कटाएर १ लाख २५ हजार ६ सय ९६ रुपैयाँ वचत भएको विवरण प्रस्तुत भयाे। यसैगरी विभिन्न अवसरमा सहयोग जुटाएर अक्षयकोष नै जम्मा गरेर विद्यालय सञ्चालनमा आर्थिक कठिनाई हटाउने विद्यालयको योजना रहेको प्रधानाध्यापक कमलबहादुर कटुवालले उल्लेख गरे । यो विद्यालय अन्त गाभिने कुरा भएपछि ०७३ असार १० गते अभिभावको विशेष भेला बोलाइयो । नर्सरीदेखि नै अंग्रेजी माध्यममा पठन पाठक गर्ने र त्यसबापत सस्तो शुल्क लिने निर्णयमा अभिभावक सहमत भए । जस अनुसार नर्सरीमा १ सय ७५ र कक्षा ६ मा ५ सय २५ रुपैयाँसम्म मासिक सुल्क लिने कुरा अघि बढ्यो । ‘भेलामा विद्यालयलाई टिकाउने हाम्रो अभियानमा सवैले साथ दिने कुरा गर्नुभयो र हामीले अंग्रेजी माध्यममा विद्यालय लाने निर्णय सहित निरन्तर लाग्यौं र विद्यार्थी बढाउन सफल भयौं ।’ – कटुवाले भने ।

विद्यार्थी संख्या कम भएका कारण अन्य विद्यालयमा गाभिनु पर्ने दवाव बढेका बेला स्थानीय अभिभावक, शिक्षक र समाजसेवीहरुको सहकार्यमा ०७४ वैशाख १ देखि अंग्रेजी माध्यमबाट पढाई सुरु भयो । अंग्रेजी पढाउन योग्य शिक्षकहरुलाई तत्काल थोरै पारिश्रमिक दिने गरी नियुक्त गरियो । त्यसपछि घरदैलोका रुपमा भर्ना अभियान चलाएपछि अभिभावकलाई विश्वस्त बनाएर आफ्ना छोराछोरी महंगो वोर्डिङबाट छुटाएर आफ्नो विद्यालयमा ल्याएको विद्यालय व्यवस्थापन समिति अध्यक्ष ज्ञानबहादुर बस्नेतले सुनाए । उनले थपे ‘अव यसमा नगरपालिकाले पनि स्थानीय सरकारको हिसावले सहयोग पुर्याउनै पर्यो ।’

कक्षा ६ सम्म सञ्चालित विद्यालयमा शिक्षकको ३ वटा मात्र सरकारी दरबन्दी रहेको अवस्थामा ७ जना स्वयम्सेवक शिक्षक थपियो । २५ जना विद्यार्थीबाट बढेर यो वर्ष २ सय ३८ जना पुगेको विद्यालयको रेकर्डमा उल्लेख छ । विद्यार्थीहरु समेत यसबेला निकै उत्साहि देखिन्छन् । अंग्रेजी माध्यमको प्रभाव ज्वलन्त देखाउँदै कार्यक्रममा कक्षा ६ का विद्यार्थी सुरज मण्डलले अंग्रेजीमा प्रभावकारी मन्तव्य राख्दै ०४५ सालमा स्थापना भएको विद्यालय यो बेलासम्म उपेक्षित बनेको इतिहासप्रति टिप्पणी गरे । ‘अव यही विद्यालयले स्थानीय वालबालिकालाई असल नागरिक बनाउन सक्छ र त्यसमा स्थानीय र नगरपालिकाको निरन्तर साथ सहयोग आवश्यक छ ।’– उनले भने । त्यहाँ पढ्न आउने विद्यार्थीमा तराइका आदिवासी विपन्न समुदायको बाहुल्यता छ ।

विद्यालयको कथाव्यथा सुनिसकेपछि कार्यक्रमका प्रमुख अतिथि पथरीशनिश्चरे नगरपालिकाका प्रमुख दिलिपकुमार राईले सो विद्यालय जिल्लाकै नमूना विद्यालय हुनुमा शिक्षक, अभिभावक र विद्यार्थीहरुसमेतको अथक मेहनत रहेको जनाए । उनले गुणस्तरीय शिक्षामा लागेको विद्यालयको आर्थिक कठिनाइमा नगरपालिकाले समेत सघाउने प्रतिबद्धता जनाए । कार्यक्रममा नगरपालिकाकी उप–प्रमुख यमुना विष्ट वास्तोला, विद्यालय निरीक्षक दुर्गा सिग्देल, देवीमाया काफ्लेलगायतले विद्यालयले आफुलाई स्थापित गरी नमूना वन्न गुणस्तरीय शिक्षामा फड्को मारेकोप्रति प्रसंसा व्यक्त गरे ।