इटहरी । सुनसरी क्षेत्र नम्वर ३ मा चुनावी माहोल जति तातिएको छ उत्तीनै चर्चा र जिल्लामै चासो बढेको छ । अहिलेसम्मका निर्वाचनमा यो क्षेत्रबाट  विजयी हासिल गर्दै आएका काँग्रेस नेता एवम् उप–प्रधानमन्त्री विजयकुमार गच्छदारसँग बाम गठबन्धनबाट भगवती चौधरी प्रतिष्पर्धा गर्दैछिन् । २०७० सालमा संविधान सभा निर्वाचनमा फोरमबाट चुनाव लड्दा गच्छदारले सुनसरी एमालेमै अब्बल मानिएकी भगवतीले आच्छु आच्छु बनाए पछि भगवतीको चर्चा अहिलेसम्म सेलाएको छैन । अहिले भगवतीलाई माओवादीको साथ थपिएको छ भने विजयलाई काँग्रेस र त्यस बेला फोरमबाट आएको मत र लोकतान्त्रिक धारको मतले थप बल पुग्ने छ ।

२०४८ सालदेखिका निर्वाचनमा निरन्तर जीत हात पार्दै आएका नेपाली काँग्रेसका नेता विजयकुमार गच्छदार यसै क्षेत्रबाट छैटौं पटक मतदातामाझ पुगेका छन् । गच्छदारले काँग्रेसमा रहँदा २०४८, ०५१ सालको मध्यावधि र ०५६ सालको संसदीय निर्वाचनमा बिजयी भने २०६४ सालमा फोरम नेपालबाट  र २०७० सालको निर्वाचन विजयी प्राप्त गरेका थिए । त्यस बेला ६१ हजार आठ सय ६५ मतदाता रहेकोमा गच्छदारले १७ हजार  पाँच सय २४ मत ल्याई विजय भएका थिए । एमालेकी नेतृ भगवतीलाई उनले तीन सय ६२ मतको झीनो अन्तरले पराजित गरेका थिए । काँग्रेसबाट छुट्टीएर फोरममा रहँदा पनि चुनाव नहारेका गच्छदारसँग भगवती नै प्रतिष्र्धी देखिएको छ । २०६४ सालदेखि मधेसवादी दलमा गएका गच्छदार दस बर्षपछि फेरि पुरानै पार्टीमा फर्किएर प्रतिनिधीसभाका लागि चुनाबी मैदानमा उत्रिएका हुन् । गच्छदारले दोस्रो संविधानसभा निर्वाचनमा सुनसरी क्षेत्र नं. ३ बाट जितेपनि मोरङ क्षेत्र नं. ७ बाट पराजित भएका थिए । यता नेकपा एमाले वैकल्पिक केन्द्रीय सदस्य भगवती चौधरी भने यो पटक भगवती जसरी भएपनि गच्छदारलाईं पराजित गर्ने भन्दै चुनावी मैदानमा उत्रिएकी छिन् । उनलाई माओवादीको समेत साथले थप बल पुगेको छ । २०६४ सालमा मनोनित सभासद भएकी चौधरी पूर्व वन राज्य मन्त्री पनि हुन् । उनी फरवार्ड कम्यूनिटी वित्तिय संस्था समेत चलाउँदै आएकी छिन् । गच्छदार र चौधरी दुवै दुहवी नगर क्षेत्रका बासीन्दा हुन् ।  मुख्य प्रतिष्पर्धा भनेको गच्छदार र भगवती बीच हुने अनुमान गरिए पनि संघीय समाजवादी फोरम नेपालबाट सुनसरी ३ को प्रतिनिधी सभामा पदम अधिकारी आफूलाई दोस्रो मत प्राप्त हुने भन्दै हौसिएका छन् । राम्रै मत पाउने आशामा रहेको भन्दै उलने दोस्रो पोजिसन हुने दावी गरे । स्थानीय तहको निर्वाचनमा फेरमले दुहवी ६ र गढी तथा बर्जु गाउँपालिामा एक एक वार्डमा जित हासिल गरेको थियो । पहिचानको आन्दोनलनमा लागेका अधिकारी कम्युनिष्ट राजनीतिबाटै अहिले विभिन्न पार्टी हुँदै मधेशी जनअधिकार फोरममा छन् । काँग्रेसबाट प्रदेश ३ ‘क’ बाट कुमार थापा र ‘ख’ बाट अगमलाल चौधरी प्रतिस्पर्धामा उत्रिएका छन् । एमालेबाट प्रदेश सभामा ३ ‘क’ बाट लिलम बस्नेत र ‘ख’ बाट रामदेव यादव छन् । एमालेका बस्नेत उद्योग वाणिज्य संघ इटहरीका अध्यक्ष हुन भने यादव जिल्ला कमिटी सदस्य हन् । काँग्रेसका थापा फोरम लोकतान्त्रिकबाटै काँग्रेसमा आएका हुन् भने चौधरी पूराना स्वच्छ छवि भएका काँग्रेसी नेतामा पर्छन् । निर्वाचन क्षेत्र विभाजन अनुसार, क्षेत्र नं. ३ मा यसपटक इटहरीका दसवटा वडा समेटिएका छन् । इटहरीका दसवटा वार्ड, दुहवी नगरपालिका, गढी र बर्जु पुरै गाउँपालिका समेटिएको छ । इनरुवाको वडा नं. ७ पनि क्षेत्र नं. ३ मै पर्दछ । असार १४ गते भएको स्थानीय निकायको निर्वाचनमा दुहवी नगरपालिकामा मेयर र उपमेयर फोरम लोकतान्त्रिकका उम्मेदवार बिजयी भएका थिए । मेयरमा दोस्रो पोजिसन काँग्रेस र उपमेयरमा एमालेले मत प्राप्त गरेको थियो । लोकतान्त्रिक फोरम नेपालका तर्फबाट बर्जु गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष बिजयी भएका थिए । दोस्रो पोजिसन एमालेको थियो । गढी गाउँपालिकामा भने प्रमुख–उपप्रमुखमा काँग्रेस जितेको थियो । क्षेत्र नं. ३ मा पर्ने इटहरीका दसवटा वडामध्ये काँग्रेसले चारवटा प्यानलसहित, दुईवटा वडाअध्यक्ष र एउटा लोकतान्त्रिक फोरमले जितेको थियो । जसमा एमालेले तीनवटा वडा जितेको छ । यस्तै, इनरुवा वडा नं. ७ ले काँग्रेसले जितेको थियो । यस क्षेत्रमा बाम गठबन्धन माओवादी केन्द्रको अवस्था कमजोर रहेको स्थानीय निकायको निर्वाचनबाट हेर्न सकिन्छ । यसपटक क्षेत्र नं. ३ मा एक लाख नौ हजार ९१७ मतदाता छन् । जसमा पुरुष ५६ हजार २२३  र महिला ५३ हजार ६९४ जना मतदाता छन् ।