नेकपा एमालेका केन्द्रीय सदस्य, केन्द्रीय सङ्गठन विभागका सदस्य तथा १ नं. प्रदेशको प्रशिक्षण विभागका प्रमुख जीवन घिमिरे आगामी मङ्सिर २१ गते हुने निर्वाचनमा मोरङ–४ (ख) प्रदेशसभा उमेदवार बनेका छन् । झापाबाट राजनीतिक यात्रा शुरू गरेका उनी विद्यार्थीकालदेखि नै राजनीतिमा सक्रिय छन् । विराटनगरको पार्टी आन्दोलनमा पनि सक्रिय थिए । मोरङमा लामो समयसम्म नेतृत्वदायी कम्युनिष्ट आन्दोलनमा भूमिका निर्वाह गरेका घिमिरेले पञ्चायत ढाल्न होस् वा राजतन्त्र फाल्न, सक्रिय सहभागिता जनाइसकेका छन् । उनी स्थानीय स्तरमा भिजेका इमान्दार र सरल नेता मानिन्छन् । प्रस्तुत छ उनीसँग ब्लाष्टले गरेको कुराकानीको सम्पादित अंशः

१. चुनाव कस्तो लागिरहेको छ ? चुनाव एकखालको नशाजस्तै हो । त्यसै पनि अहिले सिङ्गो देशलाई नै चुनाव लागेको छ । हरेक पार्टीका नेता–कार्यकर्ता सबैलाई चुनाव लागेको छ । सबै जनताको घरदैलोमा जान व्यस्त छन् । म स्वयं नै उम्मेदवार छु । त्यसैले पनि चुनाव र भोटबाहेक मेरो दिमागमा अरू केही छैन ।

२. यस क्षेत्रमा तपाईको उम्मेदवारी नै किन ? अन्यभन्दा पृथक छु भन्ने कसरी लाग्छ र विजयका आधारहरू के–के देख्नुभएको छ ? मेरो विजय सुनिश्चित छ भन्ने लाग्छ । पहिलो कुरा म एमालेको केन्द्रीय सदस्य, एमाले र माओवादी केन्द्रबीच भएको वाम तालमेलले शक्ति आर्जन भएको छ । जित्छौँ भन्ने आधार दुई पार्टीबीचको आधार नै हो । दोस्रो कुरा, म यस निर्वाचन क्षेत्रअन्तर्गत ३०–३५ वर्षदेखि जनताको सेवकका रूपमा जनताका घरदैलोमा निरन्तर लागिरहेको छु । जुन कुरा यस क्षेत्रका मतदाताले देखेकै हुन् । तेस्रो कुरा, म एमालेको सूर्य चिह्नमा उम्मेदवार बनेको भए पनि चुनावी मैदानमा जाने क्रममा म एमालेको मात्र उम्मेदवार होइन भन्ने महसुस गरिरहेको छु । किनभने वाम गठबन्धनको उम्मेदवार भए पनि नेपाली काङ्ग्रेसका समर्थक, शुभचिन्तकहरूले समेत व्यक्ति हेरेर व्यक्तिगत रूपमै मतदान गर्छौैं भन्नुभएको छ, यसमा खुशी लागेको छ । अझ तपाईंको जीत मोरङबासीको आवश्यकता हो, विराटनगरबासीको गौरव हो भनेर शुभकामना दिनुभएको छ । यहाँसम्म कि राष्ट्रिय प्रजातन्त्र पार्टी, फोरमका नेता–कार्यकर्ताले, हाम्रा नेता–कार्यकर्ताले यस क्षेत्रबाट जित्दैनन्, तपाईंलाई सघाउन तयार छौँ भन्दा झनै उत्साहित छु ।

३. प्रतिद्वन्द्वीहरूको अवस्था पनि राम्रै होला नि ? चुनावमा गइसकेपछि सबैले आफु राम्रो र सक्षम छु भनेर दावी त गरेकै हुन्छन् । तर सबै गर्ने जनता नै हुन् । जनताको नजरबाट कसले जित्छ र को बलियो छ भनेर क्रमिक रूपमा देखिँदै जाने कुरा हो ।

४. के छ तपाईं र प्रतिद्वन्द्वीमा फरक ? एजेण्डा वा जित्ने आधार ? म यस क्षेत्रको सर्वपक्षीय र सर्वमान्य उम्मेदवार हुँ । मैले जनसमर्थन पाउँछु । यस्तै, राजनीतिक पृष्ठभूमिका हिसाबले देश र जनताको घरदैलोमै छु, जनताकै सरोकारका विषयमा मैले धेरै काम पनि गरेको छु । त्यसैले पनि जनताले मलाई समर्थन गर्नुहुन्छ भन्ने पूर्ण विश्वास लिन्छु ।

५. तपाईंले नै टिकट पाउनुपर्ने आधार के जस्तो लाग्छ ? पार्टी नेतृत्वले विवेक पुर्याएर जिम्मेवारी दिएको जस्तो लाग्छ । नयाँ संरचनाअनुसार प्रदेशस्तरमा पनि विभिन्न जिम्मेवारी हुन्छन् । प्रदेशस्तरको सरकारमा मुख्यमन्त्रीलगायत मन्त्रिमण्डल हुन्छन् । मलाई के विश्वास छ भने मेरो योग्यता र योगदानको कदर गर्दै पार्टीले पनि मूल्याङ्कन गर्ने छ र मैले के अपेक्षा गरेको छु भने मैले प्रमुखको भूमिका दावा गर्नु अन्यथा हुन्छ भन्ने लागेको छैन । पार्टी र जनताले पनि मूल्याङ्कन गर्नेछन् ।

६. मुख्यमन्त्री बन्ने आधार चाँहि के–के देख्नुभएको छ ? मैले केन्द्रीय कमिटीसम्मको जिम्मेवारी निर्वाह गरेको छु । यस्तै, पञ्चायतविरोधी आन्दोलन, राजतन्त्रविरुद्धको आन्दोलनमा मैले मेरो योग्यता प्रदर्शन गरिसकेको छु । तर राजकीय क्षेत्रमा गएर मैले आफ्नो योग्यता, क्षमता प्रदर्शन गर्न पाएको छैन । मसँग पनि जिम्मेवारी निर्वाचन गर्न सक्ने क्षमता छ । पार्टीका पनि विभिन्न फाँटका जिम्मेवारीहरू मैले कुशतालपूर्वक पूरा गरेको छु । जनताका सुख–दुःखमा पनि सामेल भइसकेको छु । त्यसैले जुनसुकै जिम्मेवारी आएपनि मैले निर्वाह गर्ने हैसियत ममा छ भन्ने लाग्छ ।

 ७. तपाईं विजयी हुनुभयो भने सबैभन्दा पहिलो काम के हुनेछ ? विराटनगरलाई माया गर्ने, विराटनगरको गौरव, सान उँचो बनाउने मेरो सबैभन्दा पहिलो प्राथमिकता रहनेछ । अब प्रदेश सरकारले राजधानी तोक्दा विराटनगर राजधानी हुनुपर्छ । बन्न नदिन विभिन्न प्रपञ्च रचिँदैछन् । यस्ता कुरालाई परास्त गर्दै विराटनगरलाई राजधानी कायम गराउने कुरामा मेरो पहिलो प्रयत्न र भूमिका रहनेछ ।

८. बोर्डरबाट ५० मिटर नजिकमा राजधानी बनाउन उपयुक्त हुँदैन भन्ने कुरा पनि उठेका छन् ।  नि, विराटनगर नै कसरी राजधानी होला ? यो प्रदेशसभाले बनाउने कुरा हो । अहिले सरकारले गर्ने निर्णय अस्थायी प्रकृतिको हो । मलाई के लाग्छ भने विराटनगर देशको दोस्रो ठूलो शहर, दोस्रो उपमहानगरपालिका, औद्योगिक क्षेत्र, ऐतिहासिकता, भौतिक संरचनालाई समेत ध्यानमा राख्दा विराटनगर राजधानीका लागि उपयुक्त हो । त्यो निर्णय सरकारले पनि गर्नुपर्छ र अहिले अस्थायी बनाउँदा पनि सरकारको ध्यानाकर्षण गराइरहेका छौँ । काङ्ग्रेसका विभिन्न नेताहरूसँग पनि संवाद, छलफल गरिरहेका छौँ, दवाब दिइरहेका छौँ र विराटनगरलाई राजधानी बनाउन घोषणा गर्न बाध्य गराउनेछौँ । कथंकदाचित् यो सरकारले नगरे पनि भोलि प्रदेशसभाबाट विराटनगरलाई राजधानी बनाउने म शतप्रतिशत विश्वस्त छु ।

९. अन्त्यमा, मोरङ– ४(ख) का मतदाता र विराटनगरवासीलाई के भन्नुहुन्छ ? मेरो उम्मेदवारी विराटनगरवासी र मोरङबासीका निमित्त एउटा अवसरका रूपमा यहाँका जनताले लिएका छन् । उहाँहरूले जुन सम्मान र विश्वास प्रकट गरिरहनुभएको छ, त्यो विश्वासप्रति मैले घात गर्ने छैन । जनताले आज मलाई देखाइरहेको विश्वासको म शिर निहुर्याएर सम्मान गर्नेछु । कहिल्यै पनि जनताको भावना र चाहनाविपरीत म जाने छैन । साथै विराटनगर, मोरङ साथै सिङ्गो १ नं. प्रदेश र देशकै शिर उच्च राख्ने कुरामा म दृढतापूर्वक लागिरहनेछु ।

[embed]https://www.youtube.com/watch?v=QG8_JVsaF5Q[/embed]