‘भोलीको दिनमा यो क्षेत्र कस्तो हुने, कुन ठाउँमा के विस्तार गर्ने र कुन ठाउँलाई संरक्षित गर्ने ?’ भन्नेसम्मको सामान्य खाका उम्मेदवारहरुसँग छैन् । धरान/प्रतिनिधि र प्रदेश सभाका उम्मेदवारहरु मतदाता सामू अहिले पनि ‘टालटुले विकासे कार्यक्रम’ लिएर चुनाव जित्ने होडमा छन् । प्रत्यक्षतर्फ सुनसरी–१ बाट उठेका प्रदेश र प्रतिनिधि सभाका कुनै पनि उम्मेदवारहरुसँग आफ्नो क्षेत्र निर्माण गर्ने स्पष्ट खाकासहितको ‘गुरुयोजना’ छैन् । अझै पनि मतदातालाई स्थानीय तहका उम्मेदवारहरुले पेश गरेको विकासे कार्यक्रम अघि सार्दै जित्ने ध्याउन्नमा छन् । र, मतदाताहरुले पनि हालसम्म आफ्नो क्षेत्र विकासको भरपर्दो ‘गुरुयोजना’ को खाका खोज्ने प्रयत्नसमेत गरेको देखिदैन । सुनसरी–१ सँग जोडिएको धरान उपमहानगर, बराह नगरपालिका र रामधुनीको केही वडा ‘भोलीको दिनमा कस्तो हुने, कुन ठाउँमा के विस्तार गर्ने र कुन ठाउँलाई संरक्षित गर्ने ?’ भन्नेसम्मको सामान्य खाका उम्मेदवारहरुसँग छैन् । जवकी यही उम्मेदवारहरु नै भोलीको प्रदेश तथा प्रतिनिधिका मन्त्री तथा सांसद हुन् । र, त्यति मात्रै नभई मूख्यमन्त्री, सभामुख पनि हुन् । अहिले पनि परम्पारगतशैलीमा भोट माग्दै घरदैलो गरिरहेका छन् । त्यसमा मतदाताहरु पनि मख्ख छन् । प्रा.डा. राजेन्द्र शर्माको भनाइमा ‘ठूला पार्टी र तीनका नेताहरुसँग नै कार्यक्रम छैन्’ । जसको कारण अहिले उठेका उम्मेदवारहरुसँग त झन हुने कुरै भएन् । भन्छन्, ‘कसैसँग कार्यक्रम नै छैन् । मूल पार्टीकै गुरुयोजना छैन् । कार्यकर्ता उम्मेदवारसँग कसरी हुन्छ ?’ एउटा सहर बन्नको लागि पूर्वाधार सबैभन्दा महत्वपूर्ण कुरा हो । त्यसका लागि गुरुयोजना आवश्यक पर्छ । भौगोलिक बनावटको आधारमा गुरुयोजनाको खाका निर्माण हुन्छ । र, त्यसले अर्धसताब्दी वा सताब्दीसम्म काम गर्छ । तर, अहिले पनि बामगठबन्ध भनौं या लोकतान्त्रिक वा अन्य दल नै । सबैले एयरपोर्ट, बसपार्क, अव्यवस्थित सुकुम्बासी बस्तीलाई धनिपूर्जा, पर्यटनको विकास यस्तै यस्तै नारा लिएर जनतामाझ पुगिरहेका छन् । राजनीतिक विश्लेषक डम्बर खतिवडा भन्छन्, ‘यी त परिमाणात्मक कुरा हुन् । अलिकति बाटो खन्छु, दुईचारवटा कल्र्भट बनाउछुु, एउटा पुल हाल्छु त्यो नचाहिने होइन । यी त सामान्य वडाअध्यक्षले वा अन्यहरुले भन्ने कुराहरु हुन् ।’ जव प्रदेश र संघको चुनाव हुन्छ भने देशको डेमोक्रेसी, सुशासन, विकास नीतिमा, करनीतिमा के प्रोब्लाम छ ती चिजहरुलाई म यसरी हल गर्छु भनेर भन्न सक्नुपर्छ ।’ यी ‘टालटुले बिकासे कार्यक्रम’ स्थानीय तहको निर्वाचनमा मेयर तथा उपमेयरहरुले मात्रै हैन, सबै पार्टीले आ–आफ्नो प्रतिवद्धता पत्रमासमेत सार्वजनिक गरेकैँ थिए । जुन् पूरा हुने चरणमा हालसम्म अघि बढेको पाइदैन । धरानका बुद्धिजिवी विएकृष्ण श्रेष्ठका अनुसार ‘के भन्दा चुनाव जितिन्छ भन्ने कुरामा मात्रै’ उम्मेदवारहरु सिमित छन् । ‘जनता केबाट आर्कषित हुन्छन् त्यही गरिरहेका छन् ।’ उनी भन्छन् । लोकतान्त्रिक गठबन्धनबाट प्रतिनिधि सभाका उम्मेदवार संघीय समाजवादी फोरमका बरिष्ठ नेता अशोक राई हुन् या बाम गठबन्धनका जयकुमार राई । संघीय लिम्बुवानका कृष्णमान थेवे हुन् या अन्य पार्टीका उम्मेदवार कसैले पनि अहिलेसम्म आफ्नो क्षेत्रको स्पष्ट खाकासहितको गुरुयोजना ल्याएका छैनन् । ‘यो हुनुमा हाम्रो पार्टीहरुले मार्गदर्शन गर्न नसकेको पनि हो । मतदाताहरुको सोच कमजोर भएर पनि हो । एक त हाम्रो देशमा लोकतन्त्रको अभ्यास पनि ढिला गरी भएको छ ।’ विश्लेषक खतिवडा तर्क गर्छन् । यर्थात त के भने लोकतान्त्रिकका उम्मेदवार अशोक राई केन्द्रीय पहुँच राख्ने नेता मात्रै हैनन्, यातायात मन्त्रीसमेत बनिसकेका राजनीतिमा खारिएका नेता मानिन्छन् । उनीसँग पनि यो क्षेत्रको स्पष्ट भिजनसहितको ‘गुरुयोजना’ छैन् । उनी पहुँचका हिसावमा, राजनीति हिसावमा बामगठबन्धनका जयकुमार राई भन्दा अब्बल छन् । विएकृष्ण थप्छन्, ‘केन्द्रीय नेताहरुको नेतृत्व हेर्दाखेरी पनि हिजैका प्रवृति हावी छ । उनीहरुको भनाइ हवाई गफमा परिणत भएँ ।’ उनका अनुसार भोट पाएर जित्नको लागि मात्रै विकासे नारा फाल्छन् भन्ने कुरा मतदाताले पनि बुझ्न थालिसकेका छन् । प्रदेश सभाको पनि उस्तै प्रतिनिधि सभाको जस्तो हालत छ त्यो भन्दा फरक छैन् प्रदेश सभाको । प्रदेश सभामा स्थानीय स्तरलाई बुझेका नेताहरु छन् । तर, उनीहरुसँग स्पष्ट भिजन देखिदैन । जनतालाई आर्कषित गर्ने त्यस्ता खाका उनीहरुसँग पनि छैन् । हिजो गरेको विकासलाई अघि सारेर प्रदेशमा सुनसरी क्षेत्र नम्बर १ (ख) मा भीम आचार्यले मत मागिरहेका छन् । जो पर्यटनमन्त्री तथा सांसद मात्रै हैन, एमालेका सचिवसमेत हुन् । नेता आचार्यसँग पनि त्यस्तो गतिलो भिजन देखिएन् । रोचक त के भने उनलाई प्रदेशको मूख्यमन्त्रीको रुपमा हेरिदैछ । उनका अघि अन्य त फिक्का झै लाग्छन् । प्रदेशमा भिडन्त गरिरहेका बामगठबन्धनका हुन् या लोकतान्त्रिक वा अन्य दलका नेताहरु नै सबैको हालत उस्तै छ । यसका पछाडी स्पष्ट भिजन भएका नेताहरुको अभाव हुनुलाई नै कारक मान्छन् प्रा.डा. शर्मा । ‘राजनीति नै गुरुयोजना विहीन छ ।’ उनी थप्छन् । नेपालको राजनीति ‘तदर्थवाद’ अहिले पनि कायम रहेको तर्क डा. शर्माको छ । हिजो बहुदल आउँदा होस्, या गणतन्त्र आउँदा होस्, राजनीतिक दलहरुले त्यति चाडो बहुदल र गणतन्त्र आउँछ भन्ने सोचेकै थिएनन् । आइदियो । भिजन बनाउनु अघि नै सबैथोक पाउँदै गएका कारण राजनीतिक दलहरु ‘तदर्थवाद’ मा चलेको डा. शर्माको आरोप छ । त्यसो हो, भने अवको क्षेत्र नम्बर १ कस्तो हुने भन्ने विषयमा उम्मेदवारहरुले कहिले सोच्ने हो ? हाम्रो प्रश्न छ उनीहरुसँग ।