ताप्लेजुङ/ताप्लेजुङमा यस वर्ष धान उत्पादनमा पाँच प्रतिशतले बृद्धि हुने भएको छ । धान रोप्ने समयमा पर्याप्त बर्षा भएको र रोग किराको प्रकोप नदेखिएकाले गत वर्ष भन्दा पाँच प्रतिशतले बद्धि हुने जिल्ला कृषि विकास कार्यालय ताप्लेजुङले जनाएको छ ।

धान लगाउन असार साउनको समयमा पर्याप्त पानी परेकोले जिल्लाका कृषकहरुले धेरै स्थानमा धान खेती गरेकाले यस वर्ष जिल्लामा २२ हजार ४ सय २४ मेट्रिक्टन धान उत्पादन हुने सम्भावना रहेको जिल्ला कृषि विकास कार्यालय ताप्लेजुङका प्रमुख नरेश चन्द्र घिमिरेले बताए । यो वर्ष ताप्लेजुङमा ८ हजार ७ सय ३७ हेक्टर क्षेत्रफलमा धान खेती गरीएको उनको भनाई छ ।

अघिल्लो वर्षहरुमा धान रोप्ने समयमा पानी नपर्दा थोरै क्षेत्रफलमा मात्र धान खेती हुँदै आएको थियो भने असिना र रोग किराको संक्रमण पनि बढि हुने हुँदा धान उत्पादनमा कमि आउने गरेकोमा यो वर्ष यस्तो समस्या नभएको घिमिरेको भनाई छ ।

यस वर्ष धान उत्पादनमा बद्धि भए पनि जिल्लामानै उत्पादित धानले जिल्लाको मागलाई भने धान्न नसक्ने कार्यालयको भनाई रहेको छ । ताप्लेजुङ हिमाली जिल्ला भएको र सबै क्षेत्रमा धान खेति नहुँने हुँदा यस वर्ष पनि करीव पाँच मेट्रिक्टन धान आयत गर्नुपर्ने सम्भावना रहेको प्रमुखको भनाई छ ।

ताप्लेजुङको नगरपालीका सहित नाङ्खोल्याङ, थेचम्बु, हाङ्पाङ, चाँगे, खोक्लिङ, फुलबारी, सिनाम, हाङ्देवा, फुरुम्बु लगायत स्थान लाई धान उत्पादनका लागि पकेट क्षेत्र मानिदै आएको छ ।

यी क्षेत्रमा उत्पादित धानले जिल्लाको साठि प्रतिसत माग धान्दै आएको छ । अन्य स्थानमा पनि केहि प्रतिशत धान उत्पादन हुने भए पनि पछिल्लो समय अलैचि खेतिबाट राम्रो आम्दानि हुने देखेका कृषकले धान खेती मासेर अलैचि खेति गर्दै आएका छन् ।