[caption id="attachment_61300" align="alignleft" width="181"] ज्ञानेन्द्रबहादुर कार्की प्रतिनिधिसभा सदस्य उम्मेदवार, नेपाली काँग्रेस सुनसरी क्षेत्र नम्बर ४[/caption]

सुनसरी क्षेत्र नम्वर ४ बाट वहालवाला अर्थमन्त्री एवम् नेपाली काँग्रेसका नेता ज्ञानेन्द्र कार्की आगामी मसिर २१ गते हुने निर्वाचनमा नेपाली काँग्रेसको तर्फबाट प्रतिनिधी सभा सदस्यमा उमेद्वार बनेका छन् । जन्मस्थलो भोजपुरबाट यस अघि चुनाव लड्दै आएका कार्की सुनसरी महेन्द्रनगरका समेत वासिन्दा हुन् । विगतमा बिपि कोइराला र गिरिजाप्रसाद कोइरालाले राजनीति गरेको यस क्षेत्रमा सङ्घीय समाजवादी फोरमले नेपाली काङ्ग्रेसका हेभिवेट उम्मेदवार ज्ञानेन्द्र कार्कीलाई समर्थन गरेको छ । २०३९ सालमा नेवि सङ्घको केन्द्रीय अध्यक्ष भएका कार्की २०३३ सालमै राजनीतिक गतिविधीमा सक्रिय भएका कारण १८ महिना जेल बसेका थिए । २०६२–०६३ सालको जनआन्दोलनलाई सफल बनाउन महत्वपूर्ण योगदान पु¥याएका कार्की त्यसपछि गठित गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारमा जलस्रोत मन्त्री बने । अहिले उनी पार्टीको संसदीय समिति सदस्य र अर्थमन्त्रीका रूपमा सक्रिय छन् । नेपालको राष्ट्रिय राजनीतिमा पहँुच राख्ने कार्कीले सुनसरी क्षेत्र नम्वर ४ मा उमेद्वारी दिइरहँदा उनका एजेण्डा के के छन् ? यहाँको विकास र राष्ट्रिय राजनीतिको बारेमा ब्लाष्ट टाइम्स दैनिकका लागि बाबुराम सुवेदीले गरेको कुराकानीको सम्पादित अंशः–

निर्वाचन प्रतिबद्धता 

– औद्योगिक सम्भाव्यता अध्ययन गरी कोसी औद्योगिक क्षेत्र स्थापना ।

– बराहक्षेत्र–रामधुनी–कोसीटप्पु एकीकृत पर्यटन पदमार्ग र पूर्वाधार विकास ।

– बाँकी कोसी–पीडितलाई राहत र सट्टाभर्ना ।

– कोसीटप्पु क्षेत्रलाई विश्वस्तरीय भ्रमण गन्तव्यका रूपमा पूर्वाधार विकास ।

– मधेशी, मुस्लिम तथा पिछडिएको वर्गलाई अधिकार सम्पन्न बनाउने ।

– रोजगारी र आयमूलक विशेष योजना तत्काल सञ्चालन ।

यस पटकको चुनावमा सुनसरी क्षेत्र नम्वर ४ नै छनौट गर्नु भयो नि किन ?

– म लामो समयदेखि राष्ट्रिय राजनीतिमा सक्रिय छु । भोजपुर र सुनसरीका जनताको लामो सम्वन्ध छ । म आफैं पनि सुनसरी प्रकाशपुरको वासिन्दा हो । मलाई भोजपुरबाट सुनसरी आएको भनिरहँदा म सुनसरी वासी हुँ भन्ने कुरा पनि बुझ्न जरुरी छ । नेपाली काँग्रेसले स्थापनाकाल देखिनै यहाँका जनता माझ काम गरिरहेको अवस्था छ । महामानव वीपी कोइराला, युगपुरुष गिरिजाप्रसाद कोइरालाले राजनीति मार्फत जनतासँग जोडेको नाता र सपना पुरा गर्नु पनि हाम्रो दायित्व होे । यहाँका जनतालाई शिक्षा, स्वास्थ्य, रोजगारका लागि काँग्रेससँग जुन अपेक्षा गरेका छन् त्यो पुरा गराउने पनि मेरो उदेश्य हो । यस क्षेत्रलाई अव औद्योगिक क्षेत्र बनाउने र रोजगारको सिर्जना गर्ने उदेश्य छ ।

यस क्षेत्रको समस्या र सम्भावना के के देख्नु भएको छ ?

– यहाँको मुख्य कुरा आयआर्जनको समस्या छ । पर्यटन र औद्योगिक क्षेत्रको सम्भावना भएर पनि यहाँका जनताले त्यो उपयोग गर्न पाएका छैनन् । शिक्षा, स्वास्थ्य, रोजगारका समस्या हरु छन् । सडक, विजुली वत्तीदेखि गाउँमा स्वास्थ्यको पहुँच पु¥याउन सकिरहेको छैन । यहाँका जनता लामो समयदेखि कोशीको समस्या छ । कोशी पिडितहरुको समस्या अहिलेसम्म पनि सम्वोधन हुन सकेको छैन । धेरै आयोगहरु बनेका छन् तर, प्रभावकारी काम भएको छैन । यस क्षेत्रलाई अन्तराष्ट्रिय दातृ निकायको पनि सहयोग जुटाएर सम्वृद्ध बनाउन जरुरी छ । त्यसका लागि म मुखले बोलेर होइन । काम गरेर देखाउँछु । पाँच वर्ष भित्रमा यस क्षेत्रलाई म सुनसरीकै नमुना क्षेत्र बनाउने छु । यहाँ औद्योगिक क्षेत्र बनाउने योजना पनि छ । अन्य विकास निर्माणका कुराहरुमा काम गरिनै रहेको छु । त्यसलाई निरन्रता दिदै थप योजना अघि सारेको छु । त्यो सम्भव छ र म पाँच वर्ष भित्रमा सुनसरी क्षेत्र नम्वर ४ लाई नमुना क्षेत्र बनाउन चाहन्छु । साथै सुनसरी प्रदेश नम्वर १ को प्रमुख स्थान पनि हो । यस क्षेत्रका विकासको लागि काँग्रेसले उल्लेख्य काम गर्नेछ ।

तपाई सुनसरी क्षेत्र नम्वर ४ बाट उमेद्वार भइरहँदा चुनावी एजेण्डा के के छन् ?

– समग्र सुनसरी ४ नम्वर क्षेत्रको विकासको लागि मैले काम गर्दै आएको छु । शिक्षा, स्वास्थ्य, रोजगारमा जनताको पहुँच हुने योजना ल्याउने छु । त्यसो त यहाँ लामो समयदेखि कोशीको समस्या छ । कोशी पिडितहरुको समस्या अहिलेसम्म पनि हुन सकेको छैन । उनीहरुलाई स्थायी समाधान गर्नु कर्तव्यको रुपमा लिएको छु । धेरै आयोगहरु बनेका छन् तर, प्रभावकारी काम भएको छैन । वन्यजन्तु आरक्ष क्षेत्रको संरक्षणमा पनि म सँग योजना छन् । यस क्षेत्रलाई औद्योगिक र पर्यटकीय क्षेत्रका रुपमा विकास गर्ने योजनाका साथ अघि बढेको छु । अन्तराष्ट्रिय दातृ निकायको पनि सहयोग जरुरी छ । त्यो पनि पहल भइरहेको छ । यी योजनाहरु सम्पन्न गर्न निकै ठूलो रकम खर्च हुन्छ । त्यसको लागि मैले व्यवस्थापन गर्न सक्छु । यहाँ सडकको कुरा छ, नदी नियनन्त्रणको कुरा छ । कति पय कामहरु मैले शूरु गरिसकेको छु । अहिले लौकहीमा ५० करोडको टाउनको सर्भे भएर गएको छ । दुई वटा हुलाकी राजमार्गको काम पनि प्रारम्भ भइरहेको छ । महेन्द्रनगर, मानपुर क्षेत्रका पनि बाटो निर्माणको काम भइरहेको छ । महेन्द्रनगरमा एम्बुलेन्स प्रदान गरिसकिएको छ । सप्तकोशी क्याम्पसको निर्माण गर्नेदेखि थुप्रै योजना छन् र कतिपय काम पनि भइरहेका छन् । कति पयलाई अन्तराष्ट्रिय सहयोग पनि जुटाउनु पर्ने हुन्छ । मैले त्यस विषयमा कुरा पनि गरिरहेको छु । जसरी हुन्छ म यो औद्योगिक र पर्यटकीय क्षेत्र बनाउने छु । त्यसो त मैले सप्तकोसी बहुमुखी क्याम्पसको जग्गा व्यवस्थापनमा पहल गरेको छु । सप्तकोसी बाढीपीडितका समस्याका बारेमा विशेष समय लिएर संसद्मा कुरा उठाएको छु । सांसद विकास कोषबाट बहुमुखी क्याम्पसमा विद्युतीय उपकरण उपलब्ध गराउनेदेखि लिएर कोसीटप्पु वन्यजन्तु आरक्ष क्षेत्रमा नेपाल टेलिकमको टावर बनाउन पहल गरी रामधुनी क्षेत्रमा सञ्चारको पहुँच बढाएको र सिङ्गिया मानपुरदेखि चक्रघट्टीसम्मको बाटो कालोपत्रे पारेको जस्ता कुरालाई यहाँका जनताले पक्कै विर्सिनु भएको छैन ।

प्रदेश तथा प्रतिनिधी सभाको निर्वाचनको मुखमा बाम गठबन्धन भएको छ । यसलाई कसरी हेर्नु भएको छ ?

– राज्यको श्रोतलाई पार्टीमा उपयोग गर्न चाहनु राम्रो कुरा होइन । चुनावमा एक पार्टीले जित्नु, एक पार्टीले हार्नु ठूलो कुरा होइन । अहिले कम्युनिष्टहरु आत्तिएका छन् । उनीहरु मुलुकलाई फरक धारमा लैजान खोजी रहेका छन् । तर, हाम्रो उदेश्य भनेको संविधानलाई कार्यान्वयन गरेर मुलुकमा लोकतन्त्रको जगर्ने गर्नु हो । साथै मुलुक अव आर्थिक विकासमा लैजान जरुरी छ । तर, कम्युनिष्ट साथीहरु कम्युनिष्ट शासन लाद्ने उदेश्यका साथ गठबन्धन गरिरहेका छन् । तर, नेपालमा त्यो सम्भव छैन । चुनावबाट जनताले लोकतन्त्रको रक्षा र विकासको लागि पनि उनीहरुलाई पराजित गर्नेछन् ।

नेपाली काँग्रेसको यस पटकको चुनावी रिजल्ट कस्तो आउला ?

– लोकतन्त्रको रक्षा र मुलुकको विकासको लागि नेपाली काँग्रेस पहिलो पाटी हुने छ । बाम गठबन्धनले मुलुकलाई धुर्वीकरण गर्ने छ । यो कुरा जनताले बुझेका छन् । यति बाम गठबन्धन अघि बढ्यो भने मुलुक नयाँ किसिमको विवाद र द्वन्द्वमा फस्ने सम्भावना छ । मुलुकमा आर्थिक विकास गर्न र लोकतन्त्रको महसुस गराउन पनि नेपाली काँग्रेसले जनतालाई साथ दिने छन् ।

यो चुनावमा काँग्रेसको मुलभुत मुद्धा चै के हो ?

– प्रजातन्त्रको स्थापनादेखि हामी गणतन्त्रसम्म आइपुगेका छौं । यो अवधिलाई नियाल्ने हो भने नेपाली काँग्रेस स्पष्ट लोकतन्त्रवादी शक्ती हो । आम जनभावनालाई कदर गर्दै मुलुकमा स्थायी शान्ति र संविधानलाई आवश्यक्ता अनुसार परिवर्तन गर्दै देशलाई सम्वृद्धी तर्फ लैजान हामी चाही रहेका छौं । अव मुलुक संघीय संरचनामा गएको छ । तर, यहाँ मधेशी, जनजाती, मुस्लिम लगायत पिछडिएको वर्गका आवाजलाई समेट्न खोज्दा अवरोध भएको कुरा जनताले बुझेका छन् । तर, नेपाली काँग्रेसले त्यस्ता जनतालाई सम्वोधन गरेर अघि बढ्न चाहन्छ । साथै मुलुकलाई अव आर्थिक विकासमा अघि बढाउन काँग्रेसले जुन भूमिका खेलीरहेको छ । त्यो निरन्तर रहने छ र मुुुुलुकमा लोकतन्त्रको रक्षा गर्दै आर्थिक सम्वृद्धी तर्फ अघि बढाउने छ ।

यहाँका मतदातासँगको अपेक्षा के छ ?

– लामो समय मुलुक द्वन्द्वमा फस्यो । नेपाली काँग्रेसको प्रयासमा त्यसलाई अन्त्य गरिएको छ । अझै पनि कम्युनिष्ट साथीहरु मुलुकमा द्वन्द्व गराउने र कम्युनिष्ट शासन लाग्दे सपना देखिरहनु भएको छ । तर नेपालमा अव विकास चाहिएको छ । यस क्षेत्रका जनताका माग भनेको पनि विकास नै हो । जस्तै बराहक्षेत्र–रामधुनी–कोसीटप्पु एकीकृत पर्यटन पदमार्ग र पूर्वाधार विकास, बाँकी कोसी–पीडितलाई राहत र सट्टाभर्ना, कोसीटप्पु क्षेत्रलाई विश्वस्तरीय भ्रमण गन्तव्यका रूपमा पूर्वाधार विकास, औद्योगिक सम्भाव्यता अध्ययन गरी कोसी औद्योगिक क्षेत्र स्थापना, रोजगारी र आयमूलक विशेष योजना तत्काल सञ्चालन गरी यस क्षेत्रलाई सुनसरीकै नमुना क्षेत्र बनाउने योजना छ । त्यस कारण यहाँका जनताले नेपाली काँग्रेसलाई साथ दिनु हुने छ । र त्यो अहिले देखिसकेको पनि छ । पाँच वर्ष भित्र यस क्षेत्रमा राष्ट्रिय तथा अन्तराष्ट्रियबाट आएको अनुदानबाट यस क्षेत्रमा विकास गर्ने हो । यस क्षेत्रलाई सम्वृद्ध बनाउने कुरामा विस्वस्त हुन म मतदातालाई आग्रह गर्दछु । मतादाताहरु शान्ति, विकास र सम्वृद्धीको पक्षमा हुनुहुन्छ । यस क्षेत्रका जनताले नेपाली काँग्रेसलाई भोट हालेर विजयी गराउनु हुनेछ ।

तपाई सरकारमा पनि हुनुहन्छ । चुनावी कार्यक्रम अवरोध पनि भइरहका छन् । यसलाई कसरी लिनु भएको छ ?

– हो, केही उमेद्वारलाई लक्षित गरी बम पड्काउने र तर्साउने काम भएको पाइएको छ । यस विषयमा सरकार गम्भीर छ । सरकारले यसको नियन्त्रण गर्नेछ । स्वच्छ र धाँदलीरहित निर्वाचनको लागि सरकार प्रतिवद्ध छ र त्यो गराउँछ । आम मतदाताहरु ढुक्क भए हुन्छ । यस्ता गतिविधी रोकिन्छन् । सरकारले सुरक्षासँग सम्वन्धीत संयन्त्रलाई परिचालन गरिसकेको छ ।