नेपाली कांग्रेस मोरङ ३ का उम्मेदवार सुनील शर्मा न्यौपाने लगायतले लगाताररुपमा विभिन्न प्रलोभनमार्फत भोट मागेर ठाडो रुपमा निर्वाचन आचार संहिता उल्लंघन गरेको भन्दै जिल्लाको कानेपोखरी क्षेत्रका स्थानीयले निर्वाचन कार्यालयमा उजुरी गरेका छन् ।

कानेपोखरी क्षेत्रका वाम गठवन्धन पक्षका ताराबहादुर काफ्ले, सूर्यबहादुर धिमाल, मनोज राजवंशी, भोलाप्रसाद अधिकारी, टेकबहादुर तामाङ, राजकुमारी इङ्नाम, चरण गुरुङ, गोविन्द अधिकारी, गोविन्द न्यौपाने, दानबहादुर वस्नेत सहितले हस्ताक्षर गरी मंगलबार क्षेत्रीय निर्वाचन कार्यालय विराटनगरमा उजुरी गरेका हुन् ।

वाम गठवन्धन निर्वाचन परिचालन कानेपोखरी संयोजक काफ्लेको अगुवाईमा निर्वाचन कार्यालय र जिल्ला प्रशासन कार्यालयमा उजुरी दिई निर्वाचन आचारसंहिता विरुद्ध गतिविधि गर्नेहरुलाई कडा कारवाही गर्न माग गरिएको छ । उजुरीमा मोरङ ३ का कांग्रेसका प्रतिनिधिसभा उम्मेदवार नोवेल अस्पताल सञ्चालक शर्माका साथै प्रदेश क का उम्मेदवार सूयर्माराज राईले निर्वाचन आचारसंहिता विपरित कार्य गरेको उल्लेख गरिएको छ ।

निर्वाचन आचारसंहिता उल्लंघन गर्ने क्रममा कांग्रेस उम्मेदवारहरुबाट गएराती कानेपोखरी गाउँपालिका ६ रमाइलोस्थित नर्सरीडाँडा र गुरुङडाँडामा विजुलीका २४ वटा पोल झार्ने काम भएको छ । त्यस्तै, नोवेल अस्पतालको नाम लिएर उम्मेदवार शर्माले निशुल्क स्वास्थ्य शिविर सञ्चालन गरी रुख चुनाव चिन्हलाई भोट मागी आचारसंहिता उल्लंघन गरेको उजुरीमा उल्लेख छ । त्यसैगरी, उम्मेदवार शर्माले मठ मन्दिर, युवा क्लबलाई रकम प्रदान गर्दै ह्यूमपाइप लगायतका सामग्री वितरण गर्दै आएको कुरा जनाइएको छ ।

कांग्रेसमा आवद्ध स्थानीय डिल्लीराम निरौलाले भनें उम्मेदवार सुनील शर्माको पहलमा गाउँमा विजुलीको पोल झरेको कुरा पुष्टि गर्दै गाउँको विकासमा सघाउ पुगेको भनेर खुसी व्यक्त गरेका छन् ।

सोमबार बेलुका ४ बजेदेखि ७ बजेसम्म ना. ३ ख ९६१३ नम्बरको ट्कबाट पोल झारिएको थियो । ७ बजेको समयमा १० वटा पोल झार्न वाँकी रहेको स्थानीयले एकाएक पोल झारेको कुरा थाहापाई कहाँबाट पोल राती ल्याएको भनेर सोध्दा सुनील शर्माले पठाएको भन्दै कांग्रेस पक्षका नगेन्द्र पौडेल, मणिराज लिम्बू सहितका युवाहरु कड्किएका थिए ।

स्थानीयले प्रहरीलाई सो कार्य रोक्न खबर गरेपनि इलाका प्रहरी कार्यालय पथरीले भनें सोधीखोजी गर्ने मानिसहरु हिँडेपछि पोल झार्न लगाएको बुझिएको छ । युवा संघ मोरङका सचिव नविन पौडेलले निर्वाचन आचारसंहिता विरुद्ध महिनौंदेखि हालसम्म आफ्नो निर्वाचन क्षेत्रमा निशुल्क स्वास्थ्य शिविर सञ्चालनका साथै विभिन्न सामग्री प्रदान गरेर भोट तान्ने काम भएको जनाउँदै शर्मामाथि कडा कारबाही हुनुपर्ने माग गरे ।

उनले कानेपोखरी ६ को प्रणामी मन्दिरमा २ दिन अघि रड दिइएको जनाए । ‘निशुल्क स्वास्थ्य शिविर गर्दै विभिन्न क्लव, समूहहरुमा रकम समेत प्रदान गरेर ठाडो रुपमा आचारसंहिता उल्लंघन गरिरहेको भएपनि निर्वाचन कार्यालय र सरकार मौन रहनु रहस्यमय कुरा हो ।’– उनले टिप्पणी गरे ।

वाम गठवन्धन निर्वाचन परिचालन समितिका कानेपोखरी सहसंयोजक सूर्यबहादुर धिमालले जस्ले आचारसंहिता विरुद्ध गतिविधि गर्छ उसलाई कारवाही गर्न निर्वाचन आयोग चुक्नु नहुने जनाए । ‘नत्र त यहाँ पैसा हुनेले सवै किनेरै, बुथ कब्जा गरेरै निर्वाचन आफ्नो पक्षमा पारिहाल्छन् नि ।’– उनले भने ‘लोकतन्त्रको धज्जी उडाउने काम रोकिनु पर्छ ।’

वाम गठवन्धनको निर्वाचन परिचालन समिति मोरङ ३ का संयोजक चण्डीप्रसाद राईले आफुहरुले पथरीशनिश्चरेमा संचालन भएको कांग्रेसको निशुल्क स्वास्थ्य शिविर रोक्न पटक पटक सरकारी पक्षको ध्यानाकर्षण गराउँदा समेत नरोकि आचारसंहिता उल्लंघन गर्न सरकारी पक्षले सघाएको टिप्पणी गरे ।

मोरङ ३ को पथरीशनिश्चरे, कानेपोखरी लगायतका क्षेत्रमा कांग्रेसबाट निशुल्क स्वास्थ्य शिविरका नाममा भोट माग्ने काम भइरहेको भन्दै नेकपा एमालेका पोलिटव्यूरो सदस्य एवम् वाम गठवन्धनका उम्मेदवार भानुभक्त ढकालले समेत यसअघि निर्वाचन कार्यालय र जिल्ला प्रशासन कार्यालयको ध्यानाकर्षण गराएका थिए । तर पनि सो कार्य लगातार संचालन भइरहेको छ ।