यतिबेला नायक प्रदीप खड्का आफ्नो नयाँ फिल्म 'लिलिबिली'को छायांकनका लागि स्कटल्यान्डमा छन् । सर्वाधिक महंगा नायकमध्येका एक प्रदीपले यो फिल्म २२ लाख पारिश्रमिकमा साइन गरेको चर्चा छ । मिलन चाम्सले निर्देशन गरिरहेको फिल्ममा प्रदीप अहिले आफ्नो भागको सिन दिइरहेका छन् ।

यसअघि प्रदीपको जोडीको रुपमा जसिता गुरुङ र रेविका गुरुङ हुने कन्फर्म भएको थियो । तर, रेविकालाई बेलायतले भिषा नदिएपछि उनको ठाउँमा प्रियंका कार्कीलाई अनुवन्धित गर्दै 'लिलिबिली'को छायांकन सुरु भएको हो । २० प्रतिशतभन्दा बढी छायांकन सम्पन्न भैसकेको फिल्मको सुटिङ सेटबाट प्रदीप र जसिताका केही तश्वीर बाहिर आएका छन् ।

फिल्मीखबर डटकमलाई प्राप्त तश्वीरमा प्रदीप र जसिता स्कटल्यान्डको सडकमा मस्किँदै हिँडिरहेका छन् । यी दुईको हँसिलो अनुहार भन्छन्, 'यो जोडी आफ्नो प्रेम अभिव्यक्त गर्न चाहिरहेका छन् ।' तश्वीरमा यो जोडीलाई निकै 'क्यूट' देखिएको छ । 'प्रेमगीत'मा पूजा शर्मा र 'प्रेमगीत २' मा अश्लेषा ठकुरीसँग जोडी नसुहाएको चर्चा चलिरहँदा 'लिलिबिली'मा भने प्रदीप र जसिताको जोडीलाई दर्शकले कति रुचाउने हुन् त्यो भने हेर्न बाँकी छ ।

फिल्मका निर्माता मध्येका एक गोविन्द शाहीले फिल्मीखबर डटकमसँग कुराकानी गर्दै भने, 'लगभग फिल्मको ३० प्रतिशत छायांकन सम्पन्न भैसकेको छ । हाम्रो तयारी फिल्मलाई चैत ३० र यदी पोष्ट प्रोडक्शनको काम सकिएन भने बैशाख १४ गते प्रदर्शनमा ल्याउन लागिरहेका छौ ।' उनी फिल्म 'लिलिबिली' राम्रो बन्नेमा देखिएका ढुक्क छन् ।