जनकपुर / प्रहरीले साथीको हत्या गरी त्यसलाई दुर्घटनाको बयान दिन खोजेको अभियोगमा दुई जनालाई पक्राउ गरेको छ । मिथिलानगर नगरपालिका–३, लालभित्तीस्थित शनिबार यात्रु प्रतिक्षालय नजिकै सडक छेउ एक युवाको शव फेला परेको थियो ।

उक्त शव मिथिलानगर–२ का प्रदीपकुमार ठाकुरको रहेको खुलेपछि प्रहरीले थप अनुसन्धान अघि बढाएको जनाएको छ ।  ३२ वर्षीय वीरेन्द्र ठाकुर, २२ वर्षीय मनोजकुमार महरा र सुनील ठाकुरले घाँटी थिचेर उनको हत्या गरी दुर्घटनाको बयान दिन खोजेको असइ किस्मत भण्डारीले जानकारी दिए । अभियुक्त वीरेन्द्र र मनोजलाई प्रहरीले नियन्त्रणमा लिएको छ  भने सुनिल फरार छन् । हत्याका अभियुक्तमध्ये वीरेन्द्र वैदेशिक रोजगारीका लागि एजेन्ट रहेको खुलासा भएको छ । मृतक प्रदीप सिन्धुलीमा एक सैलुनमा काम गर्ने गरेको खुलेको छ । वीरेन्द्रले एक व्यक्तिलाई विदेश पठाउन ‘अन्तरवार्ताको शुल्क’ भन्दै १० हजार रुपैयाँ लिएका थिए ।

तर, उनले ती व्यक्तिलाई विदेश पठाउन नसकेको बताइएको छ । प्रदीपले रकम फर्काउन दबाब दिन थालेपछि अन्य साथीसँग मिलेर वीरेन्द्रले उनको हत्या गरेको बयान अभियुक्तले दिएका छन् ।