काठमाडौं/ निर्वाचन आयोगद्वारा मतदाता शिक्षा कार्यक्रमअन्तर्गत पहिलो चरणको निर्वाचनका लागि सञ्चालन गरिएको नाटक ‘महादान’ मञ्चनका लागि अहिले २० नाटक टोली सडकमा छन् । प्रत्येक टोलीबाट १० देखि १३ जनासम्म कलाकारका दरले दुई यस ५० स्थानीय तहका नाट्य कलाकार २७ कात्तिकदेखि गाउँसहरमा सडक नाटक महादान मञ्चनमा व्यस्त छन्।

सांस्कृतिक संस्थानको संयोजकत्व र आरोहण गुरुकुलको सहकार्यमा तयार गरिएका ३८ नाटक टोलीमध्ये पहिलो चरणका लागि २० टोली मैदानमा उत्रिएका हुन् । कलाकारहरूले यो एक सातामा एक सयभन्दा बढी स्थानमा नाटक मञ्चन गरिसकेका छन् । उनीहरू फरकफरक स्थानमा फरकफरक कथायुक्त महादान शीर्षकको नाटक मञ्चन गरिरहेका छन्।

पूर्वी नेपालको पाँचथरदेखि सुदूरपश्चिम नेपालसम्म कलाकारले नाटक गरेका छन् । प्रदेश १ को हाम्रो थिएटर पाँचथरले आइतबार पाँचथरको फिदिम नगरपालिका, फिदिम बजारमा नाटक महादान मञ्चन गर्‍यो । यस्तै सोमबार सोही समूहले पाँचथरको हिलिहाङ गाउँपालिकास्थित गोपेटार बजारमा नाटक मञ्चन गरेको छ । फिदिममा करिब तीन सय र गोपेटारमा करिब दुई सय दर्शकको सहभागिता रहेको टोली संयोजक प्रेम ओझाले बताए।

प्रदेश १ कै भोजपुरस्थित अरुण गाउँपालिकाको काउँली, पौवा मौठु गाउँपालिकाको तिवारीभञ्ज्याङ र भोजपुर नगरपालिकाको भोजपुर बजारमा सोमबार आरोहण गुरुकुलका कलाकारले निर्वाचन शिक्षासम्बन्धी नाटक महादान प्रदर्शन गरे । मञ्चनका क्रममा दर्शकले उत्साहजनक उपस्थिति जनाएको टोली निर्देशक भैरव क्षत्रीले जानकारी गराए। सांस्कृतिक संस्थानको संयोजकत्व र आरोहण गुरुकुलको सहकार्यमा तयार गरिएका ३८ नाटक टोलीमध्ये पहिलो चरणका लागि २० टोली मैदानमा उत्रिएका हुन् ।

प्रदेश ३ को दोलखामा सांस्कृतिक संस्थान राष्ट्रिय नाचघरको टोलीले सोमबार तीन ठाउँमा नाटक मञ्चन गर्‍यो । आफूहरूले जिरी नगरपालिकाको लिंकन बजार, बैलेश्वर गाउँपालिकाको मैनापोखरी र तामाकोसी गाउँपालिकाको नालुखोलामा नाटक मञ्चन गरेको टोली प्रमुख आकाश थापाले जानकारी दिए । सबै ठाउँमा तीन सयभन्दा बढी दर्शक उपस्थित भएको उनले बताए ।

प्रदेश ३ कै रामेछापमा सांस्कृतिक संस्थान राष्ट्रिय नाचघरको दोस्रो टोलीले सोमबार दुई ठाउँमा नाटक मञ्चन गर्‍यो । टोलीप्रमुख रमेश केसी मट्टारेका अनुसार रामेछापको खाडादेवी गाउँपालिकाको माकादुक गाउँ र सुनपति गाउँपालिकाको सादीडाँडामा महादान मञ्चन गरिएको हो । ती स्थानमा करिब चार सय दर्शक रहेको उनले बताए । प्रदेश ३ को सिन्धुपाल्चोकस्थित हेलम्बु गाउँपालिकाको ग्यालथुम बजार, पाँचपोखरी थाङपाल गाउँपालिकाको पिपिने बजार र मेलम्ची नगरपालिकाको मेलम्ची बजारमा सोमबार स्थानीय आवाज आर्ट क्रिएसनले नाटक मञ्चन गरेको निर्देशक कृष्णप्रसाद धितालले जानकारी गराए ।

प्रदेश ३ को रसुवाको उत्तरगया गाउँपालिका बेत्रावती, कालिका गाउँपालिकाको कालिकास्थान, नौकुण्डा नगरपालिकाको जिरेबजार, नुवाकोटको सूर्यगढी गाउँपालिकाको फलाँटे बजारमा सोमबार सप्तक कला प्रतिष्ठानले नाटक महादान मञ्चन गरेको निर्देशक दामोदर खतिवडाले जानकारी गराए । त्यहाँ पनि दर्शकको उत्साहजनक उपस्थिति रहेको उनले सुनाए ।

यस्तै प्रदेश ४ कै गोरखाको पालुङटार नगरपालिका, खोप्लाङस्थित सातदोबाटो र खाडीपोखरी गरी दुई ठाउँमा नाटक महादा मञ्चन भएको रंगकला समूहका निर्देशक रामबाबु रेग्मीले बताए । उनका अनुसार नाटकबाट मनोरञ्जन लिँदै निर्वाचन शिक्षामा दर्शकले चासो देखाएका थिए ।यस्तै प्रदेश ४ कै लमजुङस्थित मध्य नेपाल नगरपालिकाको भोर्लेटार र सुन्दरा बजार नगरपालिकाको सुन्दरा बजारमा स्थानीय हिमाली रंगमञ्चले सोमबार निर्वाचनसम्बन्धी सडक नाटक महादान मञ्चन गरेको निर्देशक हरि अधिकारीले जानकारी गराए ।

यस्तै प्रदेश ५ रोल्पाको खवाङ गाउँपालिका, टुटुबजार र रोल्पा नगरपालिकाको लेवाङमा शारदाकुमार नाट्य संस्थाले सोमबार नाटक महादान मञ्चन गर्दै स्थानीयवासीमा निर्वाचन शिक्षा प्रदान गरेको निर्देशक नरेन्द्र कुमारले जानकारी दिए ।

अन्नपुर्णपाेष्ट