काठमाडौं/नेपाली चलचित्र क्षेत्रका ‘महानायक’ राजेश हमाल उर्जा मन्त्री बनेका छन् । यस्तै नेपाल वायुसेवा निगमका वरिष्ट क्याप्टेन बिजय लामा नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक बनेका छन् ।

तर यो वास्तविक नभइ एक चलचित्रको कथा हो । देशलाई लोडसेडिङमुक्त बनाउने अभियानको कथावस्तुमा केन्द्रित रहेर निर्माण गरिएको चलचित्रमा राजेश हमालले उर्जामन्त्री जनार्दन शर्माको भूमिका निर्वाह गरेका छन् क्याप्टेन विजय लामाले विद्युत प्राधिकरणका प्रमुख कुलमान घिसिङको भूमिका निभाएका छन् ।

उर्जामन्त्री भएपछि जर्नादन शर्माले लिएको अठोट र विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङ नियुक्त गरिएपछिको परिर्वतनलाई चलचित्रमा देखाइएको छ । उनीहरुको इच्छाशक्तिका कारण उर्जा क्षेत्रमा आएको नाटकीय परिर्वतन र सकारात्मक प्रभावलाई चलचित्रमा चित्रित गरिएको छ । चलचित्रले विद्युत उत्पादन बढाएर देश उज्यालो बनाउने मन्त्री शर्माको अठोट र विद्युतको उचित व्यवस्थापनमा कुलमान घिसिङले देखाएको कुशलतालाई प्रस्ट गरेको छ ।

चलचित्रमा विद्युत विकासमा देखिएका समस्या र चालिएका कदमहरुलाई पनि देखाउन खोजीएको छ । शुभ मिडिया होम प्रा.लिले निर्माण गरेको यस चलचित्रमा अभिमन्यु निरवीको कथा रहेको छ । सरोज ओलीको निर्देशन रहेको चलचित्रमा राजेश हमाल, विजय लामासँगै गौरी मल्ल, अर्जुन श्रेष्ठ, नम्रता सापकोटा, निर्मल शर्मा, केशव भट्टराई, रबि शर्मा, विनोद राई, विष्णु बुढाथोकीलगायतका कलाकारको अभिनय छ ।