काठमाडौं/अभिनेत्री वर्षा राउत आजबाट २४ वर्षमा टेकेकी छन् । सिन्धुलीमा २७ मंसिर २०५० मा जन्मिएकी वर्षा पछिल्लो समय चलचित्र क्षेत्रमा उदाएका मध्ये सफल अभिनेत्री हुन् । हँसिलो अनुहार, मिलनसार व्यवहारका कारण उनको चलचित्र क्षेत्रमा प्रायः सबैसँग राम्रो सम्बन्ध रहँदै आएको छ । सिन्धुलीको स्वर्णीम तारा बिद्याश्रमबाट २०६५ मा एसएलसी उत्रिर्ण गरेकी हुन् । वर्षाले आज जन्मदिनको केक परिवार तथा नजिकको साथीभाइसँग काट्ने बताएकी छन् ।

अभिनय यात्रा वर्षा म्युजिक भिडियो अभिनयबाट कलाकारितामा भित्रिएकी हुन् । सिर्जना कार्कीको ‘रोजेको मैले’ बोलको गीतमाथि बनेको भिडियोबाट उनले मोडलिङमा पाइला बढाएकी थिइन् । चलचित्रमा भने उनले निर्देशक विकास आचार्यको ‘नाई नभन्नू ल ४’ बाट डेब्यु गरेकी हुन् ।

यो चलचित्रको ब्यवसाय राम्रो हुन नसके पनि अभिनयबाट भने वर्षा चर्चा रहन सफल भइन् । त्यसपछि उनले ‘जात्रा’, ‘छक्का पञ्जा’, ‘छक्का पञ्जा २’ र ‘मेरो पैसा खोई’ जस्ता चलचित्रमा काम गरिन् । यी मध्य ‘मेरो पैसा खोइ ?’ भने व्यवसायिकरुपमा असफल रह्यो । उनी अभिनित अर्को चलचित्र ‘मिस्टर झोले’ प्रदर्शनको तयारीमा छ ।

प्रेम वर्षा अभिनेता संजोग कोइरालासँगको प्रेममा छिन् । संजोग व्यवसायी पनि हुन् । झण्डै पाँच बर्ष देखिको उनको प्रेम अहिले पनि जस्ताको त्यस्तै छ । प्रेमका कारणले उनी कहिलेकाहीँ मिडियासमेत छाउने गरेकी छन् ।