विराटनगर/निर्वाचनको अघिल्लो दिनसम्म मतदाता शिक्षाको रटान लगाउने निर्वाचन आयोगले निर्वाचन सकिएपछि अर्को निर्वाचनको मुखमा मात्रै गर्ने गरेको मतदाता शिक्षाको खर्च ‘बालुवा पानी’ बन्ने गरेको छ । मोरङमा प्रत्यक्षतर्फको प्रतिनिधि र प्रदेश सभामा भन्दा सामानुपातिकमा बढी मत बदर भएको छ । प्रत्यक्षतर्फको प्रतिनिधि र प्रदेश सभा गरी २४ हजार ६ सय ४४ मत बदर भएको छ भने प्रतिनिधि सभाको सामानुपातिककमा ४१ हजार ३ सय ६९ र प्रदेशतर्फ ६५ हजार १ सय ५० मत बदर भएको क्षेत्रीय निर्वाचन कार्यालय विराटनगरले जनाएको छ । मतदाता शिक्षाको लापारबाहीले गर्दा धेरै मत बदर भएको छ । ६ निर्वाचन क्षेत्र रहेको जिल्लामा प्रत्यक्षतर्फ ४ लाख ६५ हजार ३४ मत खसेकोमा २४ हजार ६ सय ४४ मत मात्र बदर भएको हो । जुन ५ दशवलप २९ प्रतिशित मत बदर हुन आउँछ । कुल खसेको मतको ४ लाख ४० हजार ३ सय ९० मत सदर भएको थियो । सामानुपातिकमा प्रतिनिधिमा भन्दा प्रदेशसभातर्फ बढी मत बदर भएको देखिएको छ । सामानुपातिकको अन्तिम मत परिणाम सार्वजानिक हुँदा बदर मतले तेस्रो स्थान ओगटेको छ । सामानुपातिकमा काँग्रेस र एमालेले प्राप्त गरेको मत पछि तेस्रो स्थानमा बदर मतको संख्या रहेको छ । प्रत्यक्षतर्फ मोरङमा एक सिट मात्र जितेर शाख जोगाउन सफल भएका नेपाली काँग्रेसले सामानुपातिकको प्रतिनिधि सभामा १ लाख ६० हजार ५ सय ४३ मत र प्रदेशसभामा १ लाख ४५ हजार ८ सय ६ मत पाएर पहिलो स्थानमा छ । दोस्रोमा एमाले छ । एमालले प्रतिनिधि सभामा १ लाख ४४ हजार ८ सय २४ र प्रदेशसभामा १ लाख ३१ हजार १ सय ६० मत पायो । तेस्रोमा माओवादी केन्द्र छ । माओवादीले प्रतिनिधिमा ४४ हजार ९ सय ५१ र प्रदेशत सभामा ४९ हजार ८ सय ७६ मत पाएको छ । माओवादी केन्द्रले प्रदेशतर्फ पाएको मत भन्दा १५ हजार २ सय ७२ मत बढी बदर छ । सामानुपातिकको प्रदेशतर्फ ६५ हजार १ सय ५० मत र प्रतिनिधि सभामा ४१ हजार ३ सय ६९ मत बदर भएको क्षेत्रिय निर्वाचन कार्यालय विराटनगरले जनाएको छ । मत बदर हुनुमा मतदाता शिक्षा प्रभावकारी नहुनुलाई प्रमुख कारण मानिएको छ । क्षेत्रिय निर्वाचन कार्यालय विराटनगरका प्रमुख प्रेमप्रसाद सञ्जेलले प्रभावकारी सिकाइ नहुनु, र सबै सरोकारवालाले सचेतना जगाउन नसक्नुले प्रत्यक्षमा भान्दा सामानुपातिकमा बढी मत बदर भएको बताए । ‘गठबन्धले गर्दा पनि कतिपय मतदाता झुकिएर मत बदर भएको छ,’ उनले भने, ‘सामानुपातिकको प्रतिनिधि सभाको मत पत्रमा दुई वटा चुनाव चिन्हमा भोट हालेको पाइयो ।’ बदरमध्ये धेरै मत एकभन्दा धेरै चुनाव चिह्नमा संकेत गरिएको पाइएको छ । ‘एउटा मतपत्रमा ९ वटा चुनाव चिन्हमा भोट हालेको मत पत्रसमेत भेटियो,’ मत गणना गर्ने एक गणकले भने ‘स्थानिय तहको मतपत्रमा ९ ठाउँमा भोट हाल्नुपर्ने थियो । निर्वाचन आयोग र दलले तहल्लो तहसम्म मतदातालाई सचेत बनाउन नसक्दा धेरै मत बदर हुन पुगेको हो । जिल्लामा निर्धारण भएको ७ सय ५८ मतदान केन्द्रमा ६ सय ५५ जना स्वयमसेवीका मतदाता शिक्षा तालिम दिएर करिब एक महिना खटाएको थियो । प्रमुख सञ्जेलको अनुसार मतदाता शिक्षाको लागि मात्र १ करोड २५ लाख १३ रुपैयाँ खर्च भएको छ ।