सुनसरी : सुनसरी ३ बाट निर्वाचित भएपछि प्रमाण पत्र लिन पुगेका कांग्रेस नेता तथा उपप्रधानमन्त्री विजयकुमार गच्छदारलाई रोक्न पुगेका एमाले कार्यकर्तासँग प्रहरीको झडप भएको छ।
धाँधली गरेर एमाले उम्मेदवार भगवती चौधरीलाई हराएको भन्दै एमाले कार्यकर्ताले गच्छदारलाई रोक्न खोज्दा झडप भएको हो। आक्रोशित एमाले कार्यकर्ताहरुको भीड निर्वाचन अधिकृतको कार्यालय तर्फ बढ्न खोजेपछि प्रहरीले उनीहरुलाई शान्तिचौकमै रोकेको छ। बाक्लो सुरक्षा तैनाथीका बाबजुद एमाले कार्यकर्ताहरुले पटक पटक प्रहरीको घेरा तोड्न खोजे पनि भीड नियन्त्रणबाहिर रहेन।
उपप्रधानमन्त्री गच्छदारले निर्वाचन अधिकृतको कार्यालयबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएको प्रमाणपत्र बुझेर फर्किन लागेको थाहा पाएपछि प्रहरीको घेरा तोडि अघि बढेको जुलुसलाई प्रहरीले रोकेको थियो।
सुरक्षाकर्मीले आक्रोशित भीडलाई नियन्त्रण गरी गच्छदारको सवारीलाई सुरक्षित रुपमा गन्तव्यतर्फ पुर्‍याएको थियो। आक्रोशित भिडले सुनसरीका प्रहरी उपरीक्षक चढेको गाडीमाथि आक्रमणको प्रयास समेत गरेका थिए। तनाव र सामान्य घम्साघम्सी भए पनि अवस्था भने बिग्रन पाएन। नाराजुलुससहित निर्वाचन अधिकृतको कार्यालय पुगेका एमाले कार्यकर्ताहरुले कोणसभा गरी गच्छदार शक्तिको आडमा धाँधली गरेर चुनाव जितेकाले कानुनी न्याय खोजिने बताए।
सुरुवातदेखिको अग्रताका बाबजुद एमाले उम्मेदवार भगवती चौधरी कांग्रेसका उम्मेदवार गच्छदारसँग ३ सय २१ मतान्तरले पराजित भएकी थिइन्।